बिहीबार, अक्टोबर ३०
हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहौँ।—फिलि. ३:१६.
तपाईँले गाह्रो लक्ष्य राख्नुभएकोले त्यो हासिल गर्न सक्नुभएन भने यहोवाले तपाईँलाई असफल व्यक्तिको रूपमा हेर्नुहुन्न। (२ कोरि. ८:१२) लक्ष्यमा आइपर्ने बाधाबाट पाठ सिक्नुहोस्। आफूले हासिल गरेका लक्ष्यहरू नबिर्सनुहोस्। बाइबल भन्छ: ‘तिमीहरूको कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्न।’ (हिब्रू ६:१०) त्यसैले तपाईँले पनि आफूले हासिल गरेका लक्ष्यहरू बिर्सनु हुँदैन। बरु ती लक्ष्यहरूमा मनन गर्नुहोस्, जस्तै: यहोवासित मित्रता विकास गरेको, उहाँबारे अरूसित कुरा गरेको वा बप्तिस्मा गरेको। विगतमा जस्तै अहिलेको लक्ष्य हासिल गर्न पनि निरन्तर प्रगति गर्नुहोस्। यहोवाको मदतले तपाईँ आफ्नो लक्ष्यसम्म पुग्न सक्नुहुन्छ। तपाईँले आफ्नो आध्यात्मिक लक्ष्य हासिल गर्न निरन्तर प्रयास गर्दा यहोवाले तपाईँलाई कसरी मदत गर्नुहुन्छ र आशिष् दिनुहुन्छ भन्ने कुरा नबिर्सनुहोस्। (२ कोरि. ४:७) तपाईँले हरेस खानुभएन भने अझ ठूला आशिष्हरू पाउनुहुनेछ।—गला. ६:९. w२३.०५ पृ. ३१ अनु. १६-१८
शुक्रबार, अक्टोबर ३१
बुबा आफैले तिमीहरूलाई माया गर्नुहुन्छ किनकि तिमीहरूले मलाई माया गरेका छौ अनि म परमेश्वरको प्रतिनिधिको रूपमा आएको हुँ भनेर विश्वास गरेका छौ।—युह. १६:२७.
यहोवाले आफ्ना सेवकहरूप्रतिको माया थुप्रै तरिकामा व्यक्त गर्नुभएको छ। बाइबलमा यहोवाले येसुलाई प्यारो छोरा भनेर सम्बोधन गर्नुभएको दुई वटा घटना उल्लेख गरिएको छ। (मत्ति ३:१७; १७:५) यहोवाले उहाँ तपाईँदेखि खुसी हुनुहुन्छ भनेर बताउनुभयो भने तपाईँलाई कस्तो लाग्छ? हुनत यहोवा हामीसित सीधै कुरा गर्नुहुन्न तर आफ्नो वचनद्वारा हामीलाई माया गरेको कुरा व्यक्त गर्नुहुन्छ। हामीले सुसमाचारका पुस्तकहरूमा येसुले भन्नुभएका कुराहरू पढ्यौँ भने एक अर्थमा यहोवाको कुरा सुनिरहेका हुन्छौँ। येसुले दुरुस्त आफ्नो बुबाको व्यक्तित्व झल्काउनुभयो। त्यसैले उहाँले आफ्ना त्रुटिपूर्ण तर वफादार अनुयायीहरूलाई माया व्यक्त गर्नुभएको विवरण पढ्दा यहोवाले नै ती शब्दहरू हामीलाई भनिरहनुभएको कल्पना गर्न सक्छौँ। (युह. १५:९, १५) तर हामीमाथि परीक्षा आइपर्नुको मतलब हामीले यहोवाको अनुमोदन गुमायौँ भन्ने त होइन। बरु त्यसलाई यहोवाप्रतिको प्रेम र उहाँमाथिको भरोसा देखाउने मौकाको रूपमा लिनुपर्छ।—याकु. १:१२. w२४.०३ पृ. २८ अनु. १०-११
शनिबार, नोभेम्बर १
तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट आफ्नो प्रशंसा गर्न लगाउनुभयो।—मत्ति २१:१६.
हामी सभामा थप कुन तरिकामा अरूलाई प्रोत्साहन दिन सक्छौँ? तपाईँ आमाबुबा हुनुहुन्छ भने साना छोराछोरीलाई तिनीहरूको उमेरलाई सुहाउने टिप्पणी तयार पार्न मदत गर्नुहोस्। कुनै-कुनै लेख वैवाहिक समस्या, अवैध यौनसम्बन्ध वा नैतिक स्वच्छताजस्ता गम्भीर विषयहरूमा हुन सक्छन्। यस्तो लेखमा पनि तपाईँको छोराछोरीले टिप्पणी दिन सक्ने एउटा वा दुइटा अनुच्छेद हुन सक्छन्। साथै छोराछोरीलाई तिनीहरूले हात उठाएपिच्छे मौका नपाउन सक्छन् भनेर बुझाउनुहोस्। यसो गर्दा तिनीहरूको सट्टा अरूले मौका पाउँदा तिनीहरू निराश हुनेछैनन्। (१ तिमो. ६:१८) हामीले यहोवाको महिमा हुने र दाजुभाइ दिदीबहिनीको उत्थान हुने टिप्पणीहरू तयार पार्न सक्छौँ। (हितो. २५:११) कहिलेकाहीँ हामी आफ्नो अनुभव छोटकरीमा बताउन सक्छौँ तर आफूतर्फ बढ्तै ध्यान खिच्नदेखि होसियार हुनुपर्छ। (हितो. २७:२; २ कोरि. १०:१८) बरु हामीले यहोवा, उहाँको वचन र उहाँका जनहरूतर्फ ध्यान खिच्ने प्रयास गर्नुपर्छ।—प्रका. ४:११. w२३.०४ पृ. २४-२५ अनु. १७-१८