मङ्गलबार, सेप्टेम्बर ९
मूर्ख आइमाई बकबक गर्छे, ऊ अज्ञानी हुन्छे।—हितो. ९:१३.
“मूर्ख आइमाई”-को कुरा सुन्नेहरूले एउटा छनौट गर्नुपर्छ: उसको निम्तो स्विकार्ने कि नस्विकार्ने? हामीसित अवैध यौनसम्बन्धदेखि अलग रहनुपर्ने ठोस कारणहरू छन्। “मूर्ख आइमाई” यसो भन्छे: “चोरेको पानी मीठो हुन्छ।” (हितो. ९:१७) “चोरेको पानी” के हो? बाइबलमा विवाहित दम्पतीबीच हुने यौनसम्बन्धलाई मुहानको स्वच्छ पानीसँग तुलना गरिएको छ। (हितो. ५:१५-१८) कानुनी रूपमा विवाह गरेको पतिपत्नीले यौनसम्बन्धको आनन्द उठाउन सक्छन्। तर “चोरेको पानी”-को सन्दर्भमा भने कुरा फरक छ। त्यस्तो पानीले अवैध यौनसम्बन्धलाई बुझाउन सक्छ। चोरले कसैले नदेख्नेगरि चोरेजस्तै यस्तो सम्बन्ध राख्नेहरूले आफ्नो कुकर्म अरूबाट लुकाउन खोज्छन्। आफ्नो कुर्कम कसैले थाह पाउन सक्दैन जस्तो लागेकोले तिनीहरूलाई “चोरेको पानी” मीठो लाग्न सक्छ। तर वास्तवमा तिनीहरूले आफैलाई झुक्क्याइरहेका हुन्छन् किनकि यहोवा सबै कुरा देख्नुहुन्छ। उहाँको अनुमोदन गुमाउनुजस्तो तीतो अनुभव अरू कुनै हुन सक्दैन। यो कुनै हालतमा “मीठो” अनुभव हुन सक्दैन।—१ कोरि. ६:९, १०. w२३.०६ पृ. २२ अनु. ७-९
बुधबार, सेप्टेम्बर १०
नचाहँदा-नचाहँदै मैले यो काम गरेँ भने पनि मैले आफूलाई सुम्पिइएको भण्डारेको काम गरिरहेको हुन्छु।—१ कोरि. ९:१७.
तपाईँलाई आफ्नो प्रार्थना अनि साक्षीकार्य अर्थपूर्ण भइरहेको छैन जस्तो लाग्छ भने नि? यहोवाले तपाईँलाई पवित्र शक्ति दिन छोड्नुभयो भन्ने निष्कर्षमा नपुग्नुहोस्। तपाईँ त्रुटिपूर्ण हुनुहुन्छ। त्यसैले तपाईँको भावनामा उतारचढाव आउँछ। यदि तपाईँको जोस सेलाउन थालेको छ भने प्रेषित पावलको उदाहरणमा मनन गर्नुहोस्। तिनले येसुको अनुकरण गर्न सक्दो कोसिस गरे तैपनि कहिलेकाहीँ त्यसो गर्ने इच्छा कम हुन सक्छ भनेर तिनलाई थाह थियो। पावल आफ्नो भावनामा जस्तोसुकै उतारचढाव आए पनि तिनी सेवाको काम पूरा गर्न कटिबद्ध थिए। तपाईँ पनि आफ्नो भावनामा जस्तोसुकै उतारचढाव आए पनि सही कुरा गरिरहन दृढ हुनुहोस्, भावनामा बहेर निर्णय नगर्नुहोस्। जे सही छ, त्यो गर्ने कोसिस गरिरहनुभयो भने समयको दौडान यहोवाको सेवामा लागिरहने तपाईँको इच्छा बढ्नेछ।—१ कोरि. ९:१६. w२४.०३ पृ. ११-१२ अनु. १२-१३
बिहीबार, सेप्टेम्बर ११
तिनीहरूलाई आफ्नो प्रेमको प्रमाण देओ।—२ कोरि. ८:२४.
हामी भाइबहिनीलाई आफ्ना साथीहरूको समूहमा स्वागत गरेर प्रेम गरेको देखाउन सक्छौँ। (२ कोरि. ६:११-१३) हामीमध्ये थुप्रैको मण्डलीमा फरक-फरक पृष्ठभूमि र व्यक्तित्वका भाइबहिनी छन्। हामी तिनीहरूको असल गुणहरूमा ध्यान दिएर आपसी प्रेमलाई बलियो बनाउन सक्छौँ। हामीले भाइबहिनीलाई यहोवाको नजरबाट हेर्न सिक्यौँ भने हामी तिनीहरूलाई प्रेम गर्छौँ भन्ने प्रमाण दिइरहेका हुन्छौँ। महासङ्कष्टको बेला हामीलाई नभई नहुने गुण प्रेम हो। महासङ्कष्ट सुरु हुँदा हामीले कहाँ सुरक्षा पाउनेछौँ? प्राचीन बेबिलोनमाथि आक्रमण भएपछि के गर्ने भनेर यहोवाले आफ्ना मानिसहरूलाई निर्देशन दिनुभयो। उहाँले यसो भन्नुभयो: “हे मेरा मानिसहरू हो, जाओ! आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर। मेरो क्रोध शान्त नहोउन्जेल केहीबेर लुकेर बस।” (यसै. २६:२०) यो निर्देशन महासङ्कष्टको बेला हामीलाई पनि लागू हुन्छ जस्तो देखिन्छ। w२३.०७ पृ. ६-७ अनु. १४-१६