लेवी
२ “‘यदि कसैले यहोवा परमेश्वरको निम्ति अन्नभेटी ल्याउन चाहन्छ भने+ त्यो मसिनो पीठोको होस्। उसले त्यसमा तेल खन्याओस् र त्यसमाथि सेतो धूप* छर्कोस्।+ २ उसले त्यसलाई हारुनको सन्तान अर्थात् पुजारीहरूकहाँ ल्याओस्। पुजारीले एक मुठी मसिनो पीठो, त्यसमा मिसाइएको तेल र सबै सेतो धूप लिएर सम्पूर्ण भेटीको प्रतीकस्वरूप* वेदीमा जलाऊन्।*+ यो आगोमा जलाएर चढाइने भेटी हो, जसको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ। ३ अन्नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ।+ यो महापवित्र छ+ र यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीकै भाग हो।
४ “‘तन्दुरमा* पकाइएको अन्नभेटी चढाउने हो भने त्यो रोटी तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी वा तेल दलेको अखमिरा पापडी होस्।+
५ “‘तावामा पकाइएको अन्नभेटी चढाउने हो भने+ त्यो रोटी तेलमा मुछेर बनाइएको मसिनो पीठोको अखमिरा रोटी होस्। ६ त्यसलाई टुक्राटुक्रा पारेर त्यसमाथि तेल खन्याउनू।+ यो अन्नभेटी हो।
७ “‘ताप्केमा पकाइएको अन्नभेटी चढाउने हो भने त्यो रोटी तेलमा मुछेर बनाइएको मसिनो पीठोको रोटी होस्। ८ यी चिजहरूद्वारा तयार पारिएको अन्नभेटी यहोवा परमेश्वरसामु ल्याएर पुजारीलाई दिनू अनि तिनले त्यसलाई वेदीको नजिक लैजानेछन्। ९ अनि पुजारीले अलिकति अन्नभेटी लिएर त्यसलाई सम्पूर्ण भेटीको प्रतीकस्वरूप+ वेदीमा जलाउनेछन्। यस अन्नभेटीबाट निस्केको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना हुनेछ।+ १० अन्नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ। यो महापवित्र छ र यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाउने भेटीकै भाग हो।+
११ “‘यहोवा परमेश्वरलाई खमिर* भएको अन्नभेटी नचढाउनू+ किनकि यहोवा परमेश्वरको निम्ति आगोमा चढाउने भेटीमा खमिरा पीठो* अथवा मह* हुनु हुँदैन।
१२ “‘तिमीहरूले खमिरा पीठो र मह पहिलो फलको रूपमा यहोवा परमेश्वरलाई चढाउन सक्छौ+ तर त्यसलाई मीठो बास्ना आउने भेटीको रूपमा वेदीमा नजलाउनू।
१३ “‘तिमीहरूका सबै अन्नभेटीमा नुन हाल्नू; अन्नभेटी चढाउँदा नुन हाल्न नबिर्सनू किनकि नुनले तिमीहरूलाई परमेश्वरको करारको सम्झना गराउनेछ। तिमीहरूको सबै भेटीमा नुन मिसाउनू।+
१४ “‘आफ्नो उब्जनीको पहिलो फल यहोवा परमेश्वरलाई अन्नभेटीको रूपमा चढाउने हो भने नयाँ अन्न* आगोमा भुट्नू अनि त्यसलाई खस्रो हुनेगरि कुटेर चढाउनू। यो तिमीहरूको पहिलो फलबाट चढाइएको अन्नभेटी हुनेछ।+ १५ त्यसमा तेल खन्याउनू र सेतो धूप छर्कनू। यो अन्नभेटी हो। १६ पुजारीले खस्रो हुनेगरि कुटिएको अलिकति अन्न, त्यसमा मिसाइएको तेल र सबै सेतो धूप लिएर त्यसलाई सम्पूर्ण भेटीको प्रतीकस्वरूप वेदीमा जलाऊन्।+ यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटी हो।