ओबदियाह
ब्रह्माण्डका मालिक यहोवा एदोमबारे यसो भन्नुहुन्छ:+
“हामीले यहोवाबाट एउटा खबर सुनेका छौँ,
एक जना दूतलाई राष्ट्रहरूकहाँ यसो भन्न पठाइएको छ:
‘आओ, हामी त्यससित लडाइँ गर्न तयार होऔँ।’”+
२ “हेर्! मैले तँलाई राष्ट्रहरूमाझ सानो बनाइदिएको छु।
तँ अत्यन्तै तुच्छ भएको छस्।+
३ तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ,+
तँ, जो डाँडाका ओडारहरूमा बस्छस्
र अग्ला ठाउँहरूमा बसेर मनमनै यसो भन्छस्,
‘कसले मलाई जमिनमा खसाल्न सक्छ र?’
४ तैँले आफ्नो गुँड चीलले जस्तै अग्लो ठाउँमा बनाए पनि,*
तैँले ताराहरूमा आफ्नो गुँड लगाए पनि
म तँलाई त्यहाँबाट तल खसाल्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।
५ “यदि रातमा तँकहाँ चोरहरू पसेका भए, डाँकुहरू आएका भए,
(तेरो सर्वनाश हुनेछ!)*
तिनीहरूले आफूलाई चाहिएको कुरा मात्रै चोरेर लग्ने थिएनन् र?
यदि अङ्गुर टिप्नेहरू तँकहाँ आएका भए
तिनीहरूले सिलाबाला बटुल्नेहरूको लागि केही छोडिदिने थिएनन् र?+
६ एसावको गर्नुसम्म खोजतलास गरिएको छ!
त्यसले लुकाएर राखेका खजानाहरू खोतलिएका छन्!
७ तिनीहरूले तँलाई खेदेर सिमानाबाहिर पुऱ्याए।
तँसित सन्धि गर्नेहरूले* तँलाई धोका दिएका छन्।
तँसित शान्तिमा रहनेहरू तँमाथि विजयी भएका छन्।
तँसितै बसेर रोटी खानेहरूले तेरो खुट्टामुनि जाल बिछ्याउनेछन्
तर तँलाई त्यसको पत्तै हुनेछैन।”
८ यहोवा घोषणा गर्नुहुन्छ,
“त्यो दिन म एदोमका बुद्धिमान् मानिसहरूलाई नाश गर्नेछैनँ र?+
अनि एसावको पहाडी इलाकाका समझदार मानिसहरूलाई सखाप पार्नेछैनँ र?
९ अनि ए तेमान, तेरा योद्धाहरू डरले काँप्नेछन्+
किनकि एसावको पहाडी इलाकामा भएका सबैलाई मारिनेछ।+
१० तेरो भाइ याकुबमाथि तैँले गरेको अत्याचारको कारण+
तँ लाजमा पर्नेछस्+
अनि तँ सदाको लागि नाश हुनेछस्।+
११ उसको सेनालाई विदेशीहरूले कैदी बनाएर लैजाँदा+
तँचाहिँ एकातिर उभिएर हेरिरहेको थिइस्।
विदेशीहरू उसको मूलढोकाबाट पसेर यरुसलेममाथि गोला हाल्दा+
तैँले पनि त्यसै गरिस्।
१२ तैँले यो ठीक गरिनस्, तेरो भाइमाथि विपत्ति आइपर्दा तँ रमाइस्।+
यहुदाका मानिसहरू नाश भएको दिन तँ खुसी भइस्।+
तिनीहरूमाथि दुःख आइपरेको दिन तैँले घमन्डी कुरा गरिस्।
१३ मेरा मानिसहरूमाथि विनाश आइपरेको दिन तँ तिनीहरूको मूलढोकाबाट भित्र पसिस्।+
तिनीहरूको विपत्तिको दिनमा तैँले हर्ष मनाइस्
अनि तिनीहरूको धनसम्पत्ति लिनलाई तैँले आफ्नो हात पसारिस्।+
१४ उसका उम्केका मानिसहरूलाई मार्न तँ चौबाटोहरूमा उभिइस्।+
अनि उसको दुःखको दिनमा तैँले उसका बाँकी रहेका मानिसहरूलाई शत्रुको जिम्मा लगाइस्।+
१५ सबै राष्ट्रमाथि यहोवाको दिन नजिकै आइपुगेको छ।+
तैँले जसो गरिस्, तँलाई पनि त्यसै गरिनेछ।+
तैँले अरूसित गरेको व्यवहार तेरै थाप्लोमाथि आइपर्नेछ।
१६ जसरी तिमीहरूले मेरो पवित्र डाँडामा रक्सी पियौ,
त्यसैगरि राष्ट्रहरूले मेरो क्रोधको प्यालाबाट निरन्तर पिउनेछन्।+
तिनीहरूले त्यो स्वाट्टै पार्नेछन्
अनि तिनीहरू यसरी नाश हुनेछन्, मानौँ तिनीहरूको अस्तित्व छँदै थिएन।
१७ तर उम्केका मानिसहरू सियोन डाँडामा हुनेछन्+
अनि त्यो पवित्र ठहरिनेछ+
अनि याकुबको घरानाले आफ्नो सम्पत्तिमाथि अधिकार गर्नेछ।+
१८ याकुबको घराना आगोजस्तै हुनेछ,
युसुफको घराना आगोको ज्वालाजस्तै हुनेछ
अनि एसावको घरानाचाहिँ ठोसोजस्तै हुनेछ।
उनीहरूले त्यसलाई जलाएर भस्म गरिदिनेछन्
अनि एसावको घरानाको कोही पनि बाँकी रहनेछैन+
किनकि यहोवा स्वयम्ले यो कुरा भन्नुभएको हो।
१९ तिनीहरूले नेगेबमाथि अनि एसावको पहाडी इलाकामाथि अधिकार गर्नेछन्।+
तिनीहरूले सेफेलाहमाथि अनि पलिस्तियालीहरूको देशमाथि अधिकार गर्नेछन्।+
तिनीहरूले एप्रैमको जमिन र सामरियाको जमिनमाथि अधिकार गर्नेछन्+
अनि बिन्यामिनले गिलादमाथि अधिकार गर्नेछ।
२० बलियो पर्खाल भित्रबाट+ निर्वासनमा लगिएका मानिसहरूले,
हो, इस्राएलका मानिसहरूले सारपतसम्मै कनानीहरूको देश कब्जा गर्नेछन्।+
अनि यरुसलेमबाट सेफरादमा निर्वासित भएर गएका मानिसहरूले नेगेबका सहरहरूमाथि अधिकार जमाउनेछन्।+
२१ उद्धार गर्नेहरू सियोन डाँडामा उक्लिनेछन्
र एसावको पहाडी इलाकाको न्याय गर्नेछन्।+
अनि शासन गर्ने अधिकार यहोवाको हातमा हुनेछ।”+