न्यायकर्ता
१२ तब एप्रैमका मानिसहरू एक ठाउँमा भेला भए र तिनीहरू नदी तरेर जाफोन गए।* तिनीहरूले यिप्तहलाई भने: “अम्मोनीहरूसित लडाइँ गर्न जाँदा हामीलाई किन बोलाएनौ?+ अब तिमीलाई तिम्रो घरभित्र थुनेर घरसहित जलाइदिनेछौँ।” २ तर यिप्तहले भने: “म र मेरा मानिसहरूको अम्मोनीहरूसँग ठूलो युद्ध भएको थियो। त्यतिबेला मैले तपाईँहरूसँग मदत मागेको थिएँ तर तपाईँहरू मलाई तिनीहरूको हातबाट बचाउन आउनुभएन। ३ जब मैले तपाईँहरू मलाई मदत गर्न आउनुहुनेछैन भनेर थाह पाएँ, तब म आफ्नो ज्यानको खतरा मोलेर अम्मोनीहरूसँग लडाइँ गर्न गएँ।+ अनि यहोवा परमेश्वरले नै तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो। अब आज तपाईँहरू किन मलाई आक्रमण गर्न आउँदै हुनुहुन्छ?”
४ त्यसपछि यिप्तहले गिलादका+ सबै पुरुषलाई भेला गरे र तिनीहरूले एप्रैमविरुद्ध लडाइँ गरे; गिलादका पुरुषहरूले एप्रैमीहरूलाई हराए, जसले यसो भनेका थिए: “हे गिलादीहरू, तिमीहरू एप्रैम र मनस्सेका मानिसहरूबीच बसोबास गर्छौ तर वास्तवमा तिमीहरू एप्रैमबाट भागेका भगुवाहरू मात्र हौ।” ५ गिलादीहरूले एप्रैमको अगाडि पर्ने यर्दन नदीका जँघारहरू* कब्जा गरे।+ अनि भागेर जान खोजिरहेका एप्रैमका मानिसहरूले “मलाई पारि जान दिनुहोस्” भनेर बिन्ती गर्दा गिलादका मानिसहरूले तिनीहरू प्रत्येकलाई सोध्थे, “तिमी एप्रैमी हौ?” यदि उसले “होइनँ!” भन्यो भने ६ तिनीहरू उसलाई भन्थे, “त्यसोभए शिब्बोलेथ भन त।” तर ठीकसित उच्चारण गर्न नसकेर उसले “सिब्बोलेथ” भन्थ्यो। तब तिनीहरूले उसलाई पक्रेर यर्दन नदीको जँघारमा मारिदिन्थे। यसरी त्यतिबेला ४२ हजार एप्रैमी मारिए।
७ यिप्तह छ वर्षसम्म इस्राएलीहरूका न्यायकर्ता भए। त्यसपछि गिलादी यिप्तह मरे र तिनलाई गिलादमा तिनकै सहरमा गाडियो।
८ यिप्तहपछि बेतलेहेमका इब्सान इस्राएलीहरूका न्यायकर्ता भए।+ ९ तिनका ३० वटा छोरा र ३० वटी छोरी थिए। तिनले आफ्ना छोरीहरूको बिहे आफ्नो खलकबाहिरका केटाहरूसित गराइदिए र आफ्ना छोराहरूको लागि पनि अर्कै खलकबाट ३० वटी केटी ल्याए। तिनी सात वर्षसम्म इस्राएलीहरूका न्यायकर्ता भए। १० त्यसपछि इब्सान मरे र तिनलाई बेतलेहेममा गाडियो।
११ इब्सानपछि जबुलुनको कुलका एलोन इस्राएलीहरूका न्यायकर्ता भए। तिनी १० वर्षसम्म इस्राएलीहरूका न्यायकर्ता भए। १२ त्यसपछि जबुलुनको कुलका एलोन मरे र तिनलाई जबुलुनको इलाकामा पर्ने ऐय्यालोनमा गाडियो।
१३ एलोनपछि पिराथोनी हिल्लेलका छोरा अब्दोन इस्राएलीहरूका न्यायकर्ता भए। १४ तिनका ४० जना छोरा र ३० जना नाति थिए। घुमफिर गर्नको लागि तिनीहरूका ७० वटा गधा थिए। अब्दोन आठ वर्षसम्म इस्राएलीहरूका न्यायकर्ता भए। १५ त्यसपछि पिराथोनी हिल्लेलका छोरा अब्दोन मरे र तिनलाई पिराथोनमा गाडियो; पिराथोन एप्रैमको इलाकामा भएको अमालेकीहरूको+ पहाडमा पर्छ।