उपदेशक
१० जसरी मरेका झिँगाहरूले सुगन्धित तेललाई दुर्गन्धित पार्छ र त्यसलाई बिगार्छ, त्यसरी नै एउटा सानो मूर्खताले मानसम्मान पाएको बुद्धिमान् मानिसको बदनाम गर्छ।+
२ बुद्धिमान् मानिसको हृदयले उसलाई सही बाटोमा डोऱ्याउँछ* तर मूर्खको हृदयले भने उसलाई गलत बाटोमा डोऱ्याउँछ।*+ ३ मूर्ख चाहे जुनसुकै बाटोमा लागोस्, त्यससित बुद्धिको कमी हुन्छ।+ आफू मूर्ख भएको कुरा त्यसले सबैलाई थाह दिन्छ।+
४ यदि शासकको रिस तिमीमाथि दन्कियो भने आफ्नो ठाउँ नछोड।+ किनकि शान्त स्वभावले मानिसलाई ठूलठूला पाप गर्नदेखि रोक्छ।+
५ संसारमा* मैले एउटा साह्रै दुःखलाग्दो कुरा देखेँ। अख्तियार पाएकाहरूले यस्ता गल्ती गर्दा रहेछन्:+ ६ मूर्खहरू उच्च ओहदामा नियुक्त हुन्छन् तर सक्षम* मानिसहरू भने तल्लो ओहदामै रहन्छन्।
७ नोकरहरू घोडामा सवार भएको तर भारदारहरूचाहिँ नोकरझैँ पैदल हिँडेको मैले देखेको छु।+
८ जसले खाडल खन्छ, ऊ आफै त्यसमा पर्न सक्छ।+ जसले पर्खाल भत्काउँछ, उसैलाई सर्पले डस्न सक्छ।
९ ढुङ्गा फोर्नेलाई उसले फोरेको ढुङ्गाले नै घाइते बनाउन सक्छ, दाउरा चिर्नेलाई उसले चिरेको दाउराले नै चोट पुऱ्याउन सक्छ।*
१० जसले आफ्नो बन्चरो बोधो हुँदाहुँदै पनि उध्याउँदैन, उसले आफ्नो बल खेर फाल्छ। तर जससित बुद्धि छ, ऊ आफ्नो काममा सफल हुन्छ।
११ सपेरा जतिसुकै सिपालु भए पनि सर्पलाई नचाउनुअघि नै त्यसले उसलाई डस्यो भने के फाइदा भयो र?
१२ बुद्धिमान् मानिसको मुखबाट मीठो बोली निस्कन्छ।+ तर मूर्खको बोलीले त्यसैको हानि गर्छ।+ १३ सुरुमा त्यसले मूर्खताले भरिएको कुरा गर्छ+ अनि हुँदाहुँदा यति पागल कुरा गर्छ कि त्यसले विपत्ति निम्त्याउँछ। १४ तैपनि मूर्ख चुप लाग्दैन।+
भविष्यमा के हुन्छ, मानिसलाई थाह हुँदैन। ऊ मरेपछि के हुन्छ भनेर उसलाई कसले पो बताउन सक्छ?+
१५ मूर्खको मेहनतले त्यसैलाई थकाउँछ किनकि त्यसलाई सहर जाने बाटोसमेत थाह हुँदैन।
१६ जुन देशको राजा ठिटै छ र जहाँका भारदारहरू बिहानैदेखि भोजभतेरमा मस्त हुन्छन्, त्यस देशको अवस्था कत्ति नाजुक होला!+ १७ तर जुन देशका राजा असल घरानाका हुन्छन् र जहाँका भारदारहरू लट्ठ हुनलाई नभई बल पाउनलाई उचित समयमा खानपिन गर्छन्, त्यस देशको अवस्था कत्ति राम्रो हुन्छ!+
१८ अल्छी मानिसको घरको धुरी भत्कन्छ र हात बाँधेर बस्नेको घर चुहिन्छ।+
१९ भोजनले मानिसलाई आनन्दित तुल्याउँछ र मद्यले जीवनमा खुसीयाली ल्याउँछ।+ तर हरेक आवश्यकता पूरा गर्न पैसा चाहिन्छ।+
२० राजालाई आफ्नो मनमा* समेत नसराप।+ आफ्नो सुत्ने कोठामा धनी मानिसको निन्दा नगर। नत्र त एउटा चराले तिम्रो कुरा तिनीहरूकहाँ लैजाला अथवा कुनै पन्छीले तिम्रो कुरा तिनीहरूसामु दोहोऱ्याइदेला।