एस्तर
८ त्यस दिन राजा आहासुरसले यहुदीहरूका शत्रु+ हामानको सबै थोक+ रानी एस्तरलाई दिए। अनि मोर्दकै राजासामु आए किनकि एस्तरले आफू र मोर्दकैबीच कस्तो सम्बन्ध छ भनेर राजालाई बताएकी थिइन्।+ २ त्यसपछि राजाले आफ्नो छापऔँठी फुकाले,+ जुन तिनले हामानबाट फिर्ता लिएका थिए र त्यो औँठी मोर्दकैलाई दिए। अनि एस्तरले हामानको सबै थोक मोर्दकैको अधिकारमा दिइन्।+
३ एस्तर फेरि एक पटक राजासित कुरा गर्न गइन्। तिनी राजाको पाउमा घोप्टो परिन् अनि यहुदीहरूविरुद्ध अगागी हामानले बनाएको दुष्ट योजनालाई विफल तुल्याइदिन रुँदै राजासित बिन्ती गरिन्।+ ४ त्यसपछि राजाले आफ्नो सुनको राजदण्ड एस्तरतर्फ तेर्स्याए।+ तब एस्तर उठेर राजासामु खडा भइन्। ५ अनि राजालाई यसो भनिन्: “हे महाराज! यदि हजुरलाई ठीक लाग्छ र मैले हजुरको निगाह पाएकी छु भने मेरो बिन्ती सुनिदिनुहोस्। अनि यदि राजालाई उचित लाग्छ र राजा मदेखि खुसी हुनुहुन्छ भने एउटा लिखित उर्दी जारी गरेर त्यो अगागी+ हाम्मेदाथाको छोरा, षड्यन्त्रकारी हामानको पत्र खारेज गरिदिनुहोस्,+ जुन पत्रमा त्यसले राजाका सबै प्रान्तमा भएका यहुदीहरूलाई नाश गर्ने आदेश दिएको थियो। ६ मेरो जातिमाथि विपत्ति आउन लागेको देख्दादेख्दै म कसरी चुप लागेर बस्न सक्छु र? आफ्नै आँखाअगाडि आफ्ना आफन्तहरूले ज्यान गुमाएको म कसरी हेर्न सक्छु र?”
७ त्यसैले राजा आहासुरसले रानी एस्तरलाई अनि यहुदी मोर्दकैलाई यसो भने: “हेर! हामानले यहुदीहरूलाई आक्रमण गर्ने षड्यन्त्र रचेकोले मैले उसलाई खम्बामा झुन्ड्याउन लगाएँ।+ अनि मैले हामानको सबै थोक एस्तरलाई दिएँ।+ ८ त्यसैले अब यहुदीहरूलाई जोगाउन तिमीहरूलाई जे सही लाग्छ, त्यसै गर। मेरो नाममा एउटा उर्दी निकाल र त्यसमा मेरो छापऔँठीले छाप लगाऊ। किनकि जुन उर्दी राजाको नाममा जारी गरिन्छ र जसमा राजाको छापऔँठीले छाप लगाइन्छ, त्यस उर्दीलाई कसैले पनि रद्द गर्न सक्दैन।”+
९ त्यसैले तेस्रो महिना अर्थात् सीवान* महिनाको २३ औँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो। अनि तिनीहरूले यहुदीहरू, बडाहाकिमहरू,+ राज्यपालहरू अनि भारतदेखि इथियोपियासम्मका १२७ वटा प्रान्तका भारदारहरूलाई+ मोर्दकैले दिएको आदेश लेखे। प्रत्येक प्रान्तलाई त्यही प्रान्तको लिपिमा,* प्रत्येक जातिलाई उनीहरूकै भाषामा अनि यहुदीहरूलाई उनीहरूकै भाषा र लिपिमा ती आदेशहरू लेखिए।
१० मोर्दकैले ती आदेशहरू राजा आहासुरसको नाममा लेखे र त्यसमा राजाको छापऔँठीले छाप लगाए।+ अनि तिनले ती पत्रहरू राजदूतहरूको हातमा पठाए। तिनीहरू बेतोडले कुद्ने घोडाहरू चढेर गए, जुन घोडाहरू राजकीय कामकाजको लागि पालिएका थिए। ११ ती पत्रहरूमा राजाले विभिन्न सहरहरूमा बसोबास गरिरहेका यहुदीहरूलाई आफ्नो ज्यान बचाउन एकजुट हुने हुकुम दिएका थिए। अनि यदि कुनै जाति वा कुनै प्रान्तका मानिसहरू दल बनाएर आक्रमण गर्न आए भने ती मानिसहरू, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालबच्चालाई मार्नू र तिनीहरूको नामोनिसान मेटाइदिनू अनि तिनीहरूको मालसामान लुट्नू भन्ने आदेश पनि राजाले दिएका थिए।+ १२ यहुदीहरूले राजा आहासुरसको सबै प्रान्तमा १२ औँ महिनाको अर्थात् अदार* महिनाको १३ औँ दिनमा यो उर्दी लागू गर्नुपर्ने थियो।+ १३ पत्रमा लेखिएका कुराहरूलाई हरेक प्रान्तमा कानुनकै रूपमा लागू गर्नुपर्ने थियो। त्यस दिन यहुदीहरू आफ्ना शत्रुहरूसित बदला लिन तयार रहन सकून् भनेर सबै मानिसलाई त्यो पत्र पढेर सुनाउनुपर्ने थियो।+ १४ राजाको हुकुम पाउनेबित्तिकै राजदूतहरू राजकीय कामकाजमा प्रयोग गरिने घोडाहरूमा चढेर हतार-हतार गए। त्यो कानुन सुसन*+ किल्लामा* पनि जारी गरियो।
१५ तब मोर्दकै राजाको सामनेबाट निस्के। तिनको शिरमा सुनको सानदार मुकुट थियो र तिनले शाही पोसाक लगाएका थिए, जुन निलो धागो र सेतो धागोबाट बनेको थियो। तिनले त्यसमाथि उच्च कोटीको बैजनी ऊनबाट बनेको अलखा+ पनि लगाएका थिए। तब सुसन सहरका मानिसहरू खुसीले कराउन लागे। १६ यहुदीहरूले ठूलो राहत पाएका थिए। त्यसैले तिनीहरू हर्षित भए र खुसीयाली मनाए अनि मानिसहरूले तिनीहरूको इज्जत गरे। १७ हरेक प्रान्त र हरेक सहर, जहाँ-जहाँ राजाको यो आदेश र कानुन घोषणा गरियो, त्यहाँ-त्यहाँ यहुदीहरू हर्षित भए र खुबै रमाइलो गरे। तिनीहरूले भोज लगाए र खुसीयाली मनाए। अनि अरू जातिका थुप्रै मानिस यहुदी बने+ किनकि तिनीहरूमाझ यहुदीहरूको त्रास फैलिएको थियो।