यर्मिया
३७ यहोयाकिमका छोरा कोन्याहको* ठाउँमा योसियाहका छोरा राजा सिदकियाहले+ शासन गर्न थाले+ किनकि तिनलाई बेबिलोनका राजा नबुकद्नेजरले* यहुदाका राजा नियुक्त गरेका थिए।+ २ तर सिदकियाहले, तिनका नोकरचाकरले र यहुदाका मानिसहरूले यहोवाले भविष्यवक्ता यर्मियामार्फत बोल्नुभएका कुरा पटक्कै सुनेनन्।
३ अनि राजा सिदकियाहले सेलेम्याहका छोरा यहुकललाई+ र पुजारी मासेयाहका छोरा सपन्याहलाई+ भविष्यवक्ता यर्मियाकहाँ पठाए र यसो भन्न लगाए: “बिन्ती, हाम्रो लागि यहोवा हाम्रा परमेश्वरसित प्रार्थना गरिदिनुहोस्।” ४ त्यतिन्जेल यर्मिया मानिसहरूबीच खुलेआम हिँडडुल गर्थे किनकि तिनी थुनामा परिसकेका थिएनन्।+ ५ फारोको सेना मिश्रबाट निस्कियो+ भनेर जब यरुसलेमलाई घेराबन्दी गरिरहेका कल्दियालीहरूले सुने, तब तिनीहरू यरुसलेम छोडेर हिँडे।+ ६ अनि त्यतिखेर भविष्यवक्ता यर्मियाकहाँ यहोवाको यो वचन आयो: ७ “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘मेरो विचार बुझ्न तिमीलाई पठाउने यहुदाका राजालाई यसो भन्नू, “हेर, तिमीलाई सहयोग गर्न आएको फारोको सेना आफ्नै मुलुक मिश्र फर्कनुपर्नेछ।+ ८ त्यसपछि कल्दियालीहरू फेरि यहाँ फर्कनेछन्, सहरलाई आक्रमण गर्नेछन्, कब्जा गर्नेछन् र सहरमा आगो लगाइदिनेछन्।”+ ९ यहोवा यसो भन्नुहुन्छ, “‘कल्दियालीहरू अब फर्कँदैनन्’ भन्दै धोकामा नपर किनकि तिनीहरू अवश्य फर्कनेछन्। १० तिमीहरूलाई आक्रमण गर्ने कल्दियालीहरूको सारा फौजलाई तिमीहरूले माऱ्यौ भने पनि बाँकी रहेका घाइते सिपाहीहरू आ-आफ्नो पालबाट निस्केर आउनेछन् र यस सहरमा आगो लगाइदिनेछन्।”’”+
११ जब फारोको सेनाले गर्दा कल्दियाली फौज यरुसलेमबाट पछि हट्यो,+ १२ तब यर्मिया आफ्ना मानिसहरूसित आफ्नो अंश लिनलाई यरुसलेमबाट बिन्यामिनको इलाकातिर लागे।+ १३ तर बिन्यामिन-ढोकामा पुग्दा पहरेदारहरूका अफिसरले भविष्यवक्ता यर्मियालाई पक्रे र यसो भने: “के तँ भागेर कल्दियालीहरूकहाँ जाँदै छस्?” तिनलाई पक्रने अफिसरको नाम इरियाह थियो। तिनी हानन्याहका नाति र सेलेम्याहका छोरा थिए। १४ तब यर्मियाले यस्तो जवाफ दिए: “होइन, म भागेर कल्दियालीहरूकहाँ जान लागेको होइनँ!” तर इरियाहले तिनको कुरा सुन्दै सुनेनन्। बरु यर्मियालाई पक्रेर भारदारहरूसामु लगे। १५ ती भारदारहरू यर्मियासित रिसले चूर भए।+ तिनीहरूले यर्मियालाई पिटे र सचिव यहोनाथानको घरमा थुने।+ त्यस घरलाई झ्यालखाना बनाइएको थियो। १६ यर्मिया निकै दिन तहखानाको कालकोठरीमा थुनिए।
१७ अनि राजा सिदकियाहले यर्मियालाई बोलाउन पठाए र राजाले महलमा तिनीसित सुटुक्क सोधे:+ “यहोवाबाट कुनै सन्देश छ कि?” तब यर्मियाले जवाफ दिए, “छ।” तिनले अझै यसो भने: “तपाईँलाई बेबिलोनको राजाको हातमा सुम्पिइनेछ!”+
१८ यर्मियाले राजा सिदकियाहलाई अझै यसो भने: “मैले तपाईँ, तपाईँका नोकरचाकर अनि तपाईँका प्रजाविरुद्ध के पाप गरेको थिएँ र मलाई थुनामा राख्नुभयो? १९ ‘बेबिलोनका राजाले तपाईँलाई आक्रमण गर्नेछैनन् र यस देशविरुद्ध चढाइ गर्नेछैनन्’ भन्ने तपाईँका भविष्यवक्ताहरू अहिले खोइ कता छन्?+ २० त्यसैले बिन्ती! हे मेरा प्रभु, मेरा राजा! मेरो कुरा सुनिदिनुहोस्। हजुरको निगाह पाऊँ। मलाई फेरि सचिव यहोनाथानको घरमा फिर्ता नपठाउनुहोस्।+ नत्र त म त्यहाँ मर्छु होला।”+ २१ तब राजा सिदकियाहले यर्मियालाई पहरेदार-चोकमा थुन्ने आदेश दिए।+ अनि सहरभरिको रोटी नसिद्धिऊन्जेल+ रोटी-बजारबाट तिनको लागि हरेक दिन एउटा रोटी ल्याइन्थ्यो।+ यसरी यर्मिया पहरेदार-चोकमा रहे।