यसैया
३८ त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे।+ आमोजका छोरा भविष्यवक्ता यसैया+ तिनीकहाँ आए र यसो भने, “यहोवा परमेश्वर भन्नुहुन्छ: ‘आफ्नो घरानालाई भन्नुपर्ने कुराहरू भन किनकि अब तिम्रो रोग निको हुनेछैन, तिमी मर्नेछौ।’”+ २ त्यो सुनेर हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए र यहोवा परमेश्वरलाई यसरी प्रार्थना गर्न थाले: ३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ,+ त्यो नबिर्सनुहोस्।+ तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।” अनि हिजकियाह डाँको छोडेर रुन थाले।
४ तब यहोवाको यो वचन यसैयाकहाँ आयो: ५ “जाऊ र हिजकियाहलाई यसो भन,+ ‘तिम्रा पुर्खा दाउदका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: “मैले तिम्रो बिन्ती सुनेँ+ र तिमीले बगाएको आँसु पनि देखेँ।+ त्यसैले म तिम्रो आयु अझै १५ वर्ष लम्ब्याइदिनेछु।+ ६ अनि म तिमीलाई र यस सहरलाई अस्सेरियाका राजाको हातबाट जोगाउनेछु। म यस सहरको रक्षा गर्नेछु।+ ७ यो कुरा यहोवाले अवश्य पूरा गर्नुहुनेछ भनेर देखाउन यहोवाले तिमीलाई यस्तो चिन्ह दिनुहुनेछ:+ ८ आहाजको भऱ्याङमा* परेको छायालाई म १० खुट्किला पछाडि सार्नेछु।”’”+ तब भऱ्याङमा अगाडि सरिसकेको छाया १० खुट्किला पछाडि सऱ्यो।
९ यहुदाका राजा हिजकियाहले आफू बिरामी पर्दा र निको हुँदा लेखेका शब्दहरू:
१० मैले भनेँ, “मेरो आधा जीवन पनि नबित्दै
म चिहानको* ढोकामा छिर्नुपर्ने भयो।
मेरो जीवनका बाँकी वर्षहरू मैले देख्न पाउनेछैनँ।”
११ मैले भनेँ: “मैले जीवितहरूको देशमा याहलाई,* हो, याहलाई देख्न पाउनेछैनँ।+
जब म मरेकाहरूसित मिल्नेछु,
तब मैले मानवजातिलाई नियाल्न पाउनेछैनँ।
१२ गोठालोको पाललाई जस्तै
मेरो वासस्थानलाई उखेलिएको छ र मबाट खोसिएको छ।+
तानमा कपडा बुन्नेले कपडा बुनेर बेरेझैँ मैले आफ्नो जीवनलाई बेरेको छु।
उहाँले मलाई तानको डोरी काटेझैँ काटिदिनुभएको छ।
बिहानको मिरमिरेदेखि रात नपरेसम्म तपाईँ मलाई दुःख दिइरहनुहुन्छ।+
१३ म बिहानसम्म आफूलाई जसोतसो सम्हाल्छु।
तर उहाँ सिंहले झैँ मेरा हड्डीहरूलाई कऱ्याककुरुक पारिदिनुहुन्छ।
बिहानको मिरमिरेदेखि रात नपरेसम्म तपाईँ मलाई दुःख दिइरहनुहुन्छ।+
१४ गौँथली र चाँचरले* जस्तै म चिरबिर गरिरहन्छु।+
म ढुकुरले जस्तै कुर्लिरहन्छु।+
मास्तिर हेर्दा-हेर्दा मेरा आँखा थाकिसके।+
‘हे यहोवा, म साह्रै पीडामा छु,
मेरो सहारा बन्नुहोस्!’+
१५ म के नै भन्न सक्छु र?
उहाँले जसो भन्नुभएको थियो, त्यसै गर्नुभयो।
ममाथि आइपरेको यो दुःखको कारण
म जीवनभर नम्र भएर हिँड्नेछु।
१६ ‘हे यहोवा, प्रत्येक मानिस यी नै कुराको* भरमा बाँच्दछ।
मेरो जीवन पनि यी नै कुरामा अडिएको छ।
तपाईँले मलाई निको पार्नुहुनेछ र जीवितै राख्नुहुनेछ।+
१७ हेर्नुहोस्! म शान्तिको साटो तीतोपनाले भरिएको थिएँ।
तर तपाईँले मलाई विनाशको खाडलमा जाकिनदेखि जोगाउनुभयो,+
मेरा सबै पापहरूलाई तपाईँले आफ्नो नजरबाट हटाउनुभयो*+
किनकि तपाईँ मदेखि खुसी हुनुहुन्थ्यो।
१८ चिहानले* तपाईँको महिमा गर्न सक्दैन।+
मृत्युले तपाईँको जयजयकार गर्न सक्दैन।+
मृत्युको खाडलमा जानेहरूले तपाईँको वफादारीको आशा गर्न सक्दैनन्।+
१९ जिउँदाहरूले, हो, जिउँदाहरूले मात्र तपाईँको प्रशंसा गर्न सक्छन्,
जसरी आज म गर्दै छु।
अनि बुबाले आफ्ना छोराहरूलाई तपाईँको वफादारीबारे शिक्षा दिन सक्छन्।+
२० हे यहोवा! मलाई बचाउनुहोस्
अनि हामी आफ्नो जीवनभर यहोवाको भवनमा रहेर+
मैले रचेका गीतहरू तारे बाजाहरूमा गाउनेछौँ।’”+
२१ तब यसैयाले यसो भने: “सुकेका अन्जिरको लेप* ल्याएर राजाको पिलोमा लगाइदेऊ र उहाँ निको हुनुहुनेछ।”+ २२ हिजकियाहले यस्तो प्रश्न सोधेका थिए: “म यहोवाको भवनमा जान पाउनेछु भन्ने कुराको चिन्ह के हुनेछ?”+