उत्पत्ति
३८ त्यसै बेलातिरदेखि यहुदा आफ्ना दाजुभाइसित छुट्टिएर अलग्गै बस्न थाले। तिनले हिराह नाम गरेका मानिस बसेको ठाउँनजिकै पाल टाँगे। हिराह अदुल्लामवासी थिए। २ त्यहाँ यहुदाले एउटी कनानी केटीलाई देखे।+ उनी सुआकी छोरी थिइन्। यहुदाले ती केटीलाई आफ्नी पत्नी बनाए र उनीसित सम्बन्ध राखे। ३ केही समयपछि उनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्। यहुदाले छोराको नाम एर+ राखे। ४ उनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन्। अनि त्यो छोराको नाम ओनान राखियो। ५ उनले अर्को छोरा पनि जन्माइन् र त्यो छोराको नाम सेलह राखियो। सेलहको जन्म हुँदा तिनी* अक्जिबमा+ थिए।
६ यहुदाले आफ्नो पहिलो सन्तान एरको विवाह तामार+ नाम गरेकी केटीसित गरिदिए। ७ यहुदाको पहिलो सन्तान एर यहोवा परमेश्वरको नजरमा दुष्ट थियो। त्यसैकारण यहोवा परमेश्वरले एरको ज्यान लिनुभयो। ८ त्यसपछि यहुदाले ओनानलाई भने: “भाउजूसित विवाह गरेर देवरले गर्नुपर्ने कर्तव्य पूरा गर र दाइको निम्ति सन्तान जन्माऊ।”+ ९ तर ओनानलाई त्यो सन्तान आफ्नो हुँदैन भनेर थाह थियो।+ त्यसैकारण भाउजूसित सम्बन्ध राख्दा दाइको लागि सन्तान नजन्मोस् भनेर तिनी आफ्नो वीर्य भुईँमा झार्थे।+ १० तिनले गरेको यस्तो काम यहोवा परमेश्वरको नजरमा खराब थियो। त्यसैले उहाँले तिनको पनि ज्यान लिनुभयो।+ ११ सेलहको तामारसित विवाह गरिदियो भने ऊ पनि आफ्ना दाइहरूजस्तै मर्ला भनेर यहुदालाई चिन्ता लाग्यो।+ त्यसैले तिनले आफ्नी बुहारी तामारलाई भने: “मेरो छोरा सेलह ठूलो नहोउन्जेल तिमी माइतीमा बस।” त्यसैले तामार आफ्नो बुबाको घर गइन् र त्यहीँ बस्न थालिन्।
१२ केही समयपछि सुआकी छोरी+ यहुदाकी पत्नीको मृत्यु भयो। यहुदाले तिनको लागि शोक गरे। शोक गर्ने दिन सिद्धिएपछि तिनी अदुल्लाममा+ बस्ने आफ्ना साथी हिराहसित तिम्नाह+ गए। यहुदाले त्यहाँ ऊन कत्रन मानिसहरू राखेका थिए। १३ त्यतिखेर कसैले तामारलाई यस्तो खबर दियो: “तिम्रा ससुरा भेडाको ऊन कत्रन तिम्नाह जाँदै छन्।” १४ त्यसपछि तामारले विधवाको लुगा फेरेर अर्को लुगा लगाइन्, घुम्टो हालिन् र खास्टो ओढिन्। अनि तिम्नाह जाने बाटोमा पर्ने एनैम सहरको मूलढोकामा बसिन्। सेलह हुर्किसकेको भए तापनि यहुदाले तामारसित तिनको विवाह गरिदिएका थिएनन्। त्यसैकारण तामारले यस्तो कदम चालिन्।+
१५ तामारलाई देख्नेबित्तिकै यहुदाले उनलाई वेश्या भन्ठाने किनभने तामारले आफ्नो मुहार घुम्टोले छोपेकी थिइन्। १६ त्यसैले यहुदा तामार भएतिर गए। नजिकै पुगेपछि तिनले भने: “म तिमीसित सम्बन्ध राख्न चाहन्छु।” उनी आफ्नी बुहारी हुन् भनेर यहुदालाई थाह थिएन।+ तर उनले भनिन्: “त्यसबापत तपाईँ मलाई के दिनुहुन्छ?” १७ तब तिनले यस्तो जवाफ दिए: “म तिमीलाई बगालबाट बाख्राको पाठो दिन्छु।” तर उनले भनिन्: “तपाईँले पाठो नपठाएसम्म मकहाँ के बन्धकी राख्नुहुन्छ?” १८ यहुदाले भने: “त्यसोभए के बन्धकी राखूँ?” उनले जवाफ दिइन्: “तपाईँको छापऔँठी,+ त्यसको डोरी र तपाईँको लौरो।” यहुदाले ती सब तामारलाई दिए र उनीसँग सम्बन्ध राखे। अनि तामार गर्भवती भइन्। १९ त्यसपछि उनी उठिन् र आफ्नो बाटो लागिन्। अनि आफूले ओढिरहेको खास्टो निकालेर फेरि विधवाको लुगा लगाइन्।
२० तब आफ्नो बन्धकी छुटाउन यहुदाले अदुल्लाममा+ बस्ने आफ्नो साथीको हातमा पाठो पठाए। तर हिराहले त्यस आइमाईलाई कतै फेला पार्न सकेनन्। २१ तिनले त्यस ठाउँका मानिसहरूलाई यसो भन्दै सोधपुछ गरे: “एनैमको बाटो छेउमा बस्ने वेश्या* कहाँ छे?” तर तिनीहरूले यस्तो जवाफ दिए: “यस ठाउँमा वेश्या बसेको हामीलाई अहिलेसम्म थाह छैन।” २२ अन्तमा तिनी यहुदाकहाँ फर्के र भने: “मैले त्यस आइमाईलाई कतै फेला पार्न सकिनँ। यसबाहेक त्यहाँका मानिसहरूले ‘यस ठाउँमा वेश्या बसेको हामीलाई अहिलेसम्म थाह छैन’ भने।” २३ तब यहुदाले भने: “भइहाल्यो, ती सामान त्यसैले राखोस्, धेरै सोधखोज गऱ्यौँ भने हाम्रै बेइज्जत हुन्छ। मैले पाठो पठाएकै हो, फेला नपरेपछि के गर्ने?”
२४ झन्डै तीन महिनापछि यहुदाकहाँ यस्तो खबर आयो: “वेश्यावृत्ति गरेर तपाईँकी बुहारी गर्भवती भएकी छिन्।” तब यहुदाले भने: “उनलाई बाहिर ल्याऊ अनि मारेर जलाइदेऊ।”+ २५ तामारलाई बाहिर ल्याउँदै गर्दा उनले ससुरालाई यस्तो खबर पठाइन्: “यी सामान जसका हुन्, यो गर्भ उसकै हो।” उनले यसो पनि भनिन्: “यो छापऔँठी, यसको डोरी र लौरो कसका हुन्, कृपया हेरिदिनुहोस्।”+ २६ यहुदाले ती सामान राम्ररी हेरेपछि भने: “म पो उनीभन्दा दोषी रहेछु किनकि मैले मेरो छोरा सेलहसित उनको विवाह गराइदिइनँ।”+ त्यसपछि यहुदाले तामारसित फेरि सम्बन्ध राखेनन्।
२७ तामारले बच्चा जन्माउने बेला हुँदा उनको गर्भमा जुम्ल्याहा रहेछन् भनेर थाह भयो। २८ उनले बच्चा पाउने बेला एउटाको हात निस्कियो र सुँडेनीले हत्त न पत्त चहकिलो रातो धागो त्यसको हातमा बाँधिदिइन् र भनिन्: “पहिले निस्केको यही हो।” २९ तर त्यसले हात भित्र लग्नेबित्तिकै भाइचाहिँ जन्मियो। अनि सुँडेनीले अचम्म मान्दै भनिन्: “तिमी त कस्तो बलजफती गरेर बाहिर निस्कियौ!” त्यसैले त्यसको नाम पेरेज*+ राखियो। ३० त्यसपछि हातमा चहकिलो रातो धागो बाँधिएको चाहिँ जन्मियो। त्यसको नाम जेरह+ राखियो।