दोस्रो इतिहास
२१ त्यसपछि यहोसापात आफ्ना पितृहरूसितै सुते। तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनीपछि तिनका छोरा यहोराम राजा भए।+ २ तिनका भाइहरू अर्थात् यहोसापातका अरू छोराहरू यी थिए: अजर्याह, यहिएल, जकरिया, अजर्याह, माइकल र सेपत्याह। इस्राएलका राजा यहोसापातका छोराहरू यिनीहरू नै थिए। ३ यहोसापातले यिनीहरूलाई उपहारस्वरूप थुप्रै सुन, चाँदी र बहुमूल्य चिजबिजका साथै यहुदाका पर्खालले घेरिएका सहरहरू दिए।+ तर तिनले आफ्नो राज्यचाहिँ यहोरामलाई दिए+ किनकि उनी नै तिनका पहिलो सन्तान थिए।
४ जब यहोरामले आफ्ना बुबाको राज्य आफ्नो हातमा लिए, तब तिनले आफ्नो पकड जमाउन आफ्ना सबै भाइ र इस्राएलका केही भारदारहरूलाई तरबारले मारे।+ ५ राजा हुँदा यहोराम ३२ वर्षका थिए र तिनले यरुसलेममा आठ वर्ष शासन गरे।+ ६ आहाबको घरानाजस्तै तिनी पनि इस्राएलका राजाहरूको चालमा चले+ किनकि तिनले आहाबकी छोरीसित विवाह गरेका थिए।+ तिनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। ७ तर दाउदसित गरेको करारको खातिर+ यहोवा परमेश्वरले दाउदको घरानाको विनाश गर्न चाहनुभएन। किनकि उहाँले दाउदसित उनी र उनका छोराहरूको दियो सधैँ बलिरहनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो।+
८ यहोरामको शासनकालमा एदोमले यहुदाको विद्रोह गऱ्यो+ र एदोमका मानिसहरू आफैले आफ्नो निम्ति राजा खडा गरे।+ ९ त्यसैले यहोराम आफ्नो सेनाका कप्तानहरू र सबै रथ लिएर पारि गए। अनि यहोरामले राती नै उठेर एदोमीहरूलाई आक्रमण गरे र तिनीहरूलाई हराए, जसले तिनलाई र रथ हाँक्ने सैनिकहरूका कप्तानहरूलाई घेरेका थिए। १० तैपनि एदोमले आजसम्मै यहुदाको विद्रोह गरिरहेको छ। त्यसबेला लिब्नाहले+ पनि यहुदाको विद्रोह गऱ्यो किनकि यहोरामले आफ्नो पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए।+ ११ यरुसलेमका बासिन्दाहरू वेश्यावृत्तिमा लागून्* भनेर तिनले यहुदाका डाँडाहरूमा अग्ला थानहरू* बनाए।+ तिनले यहुदाका मानिसहरूलाई बहकाएर परमेश्वरदेखि टाढा लगे।
१२ पछि भविष्यवक्ता एलियाले+ तिनीकहाँ यस्तो सन्देश लेखेर पठाए: “तपाईँको पुर्खा दाउदका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘तँ आफ्नो बुबा यहोसापात+ र यहुदाका राजा आसाको+ चालमा हिँडिनस्। १३ बरु तँ इस्राएलका राजाहरूको चालमा हिँडिस्+ अनि यहुदा र यरुसलेमका बासिन्दाहरूलाई आहाबको घरानाले जस्तै+ वेश्यावृत्ति गर्न* लगाइस्।+ तैँले आफ्नो बुबाको घराना, आफ्नै भाइहरूलाई समेत मारिस्,+ जो तँभन्दा असल थिए। १४ त्यसैले यहोवाले तेरो प्रजा, तेरा छोराहरू, पत्नीहरू र तेरा सबै सम्पत्तिमाथि प्रहार गर्नुहुनेछ। १५ तँलाई अनेक रोगले सताउनेछ। तँलाई आन्द्राको रोग पनि लाग्नेछ अनि त्यस रोगले गर्दा तँ दिन प्रतिदिन सिकिस्त हुँदै जानेछस् र अन्तमा तेरो आन्द्रा-भुँडी बाहिर निस्किनेछ।’”
१६ त्यसपछि यहोवा परमेश्वरले पलिस्तियालीहरूलाई+ र इथियोपियालीहरूको इलाकानजिकै बसोबास गर्ने अरबीहरूलाई+ यहोरामसित युद्ध गर्न उक्साउनुभयो।+ १७ त्यसैले उनीहरूले यहुदालाई आक्रमण गरे र देशभित्र घुसे। उनीहरूले महलमा भएको सबै सरसम्पत्ति लिएर गए।+ अनि यहोरामका छोराहरू र पत्नीहरूलाई पनि लगे। उनीहरूले तिनको कान्छो छोरा यहोअहाजलाई* मात्र तिनीकहाँ छोडिदिए।+ १८ त्यसपछि यहोवा परमेश्वरले तिनलाई कहिल्यै निको नहुने आन्द्राको रोगले ग्रस्त पार्नुभयो।+ १९ त्यसको दुई वर्षपछि रोगले गर्दा तिनको आन्द्रा-भुँडी बाहिर निस्कियो। त्यस रोगले गर्दा तिनले निकै पीडा भोगे र तिनी मरे। तिनको प्रजाले तिनको सम्मानमा आगो बालेनन्, जसरी तिनका पितापुर्खाको मृत्यु हुँदा तिनीहरूको सम्मानमा आगो बालिएको थियो।+ २० राजा हुँदा तिनी ३२ वर्षका थिए र तिनले यरुसलेममा आठ वर्ष शासन गरे। तिनको मृत्यु हुँदा कसैले पनि दुःख मनाएन। तिनलाई दाउदनगरमा+ गाडियो तर राजाहरूको चिहानमा भने होइन।+