नहेम्याह
४ हामी पर्खाल पुनर्निर्माण गर्दै छौँ भनेर सुन्नेबित्तिकै सन्बलत+ साह्रै रिसाए र तिनलाई यो कुरा फिटिक्कै मन परेन। तिनले यहुदीहरूको खिसी गरिरहे। २ तिनले आफ्ना दाजुभाइ र सामरियाको सेनासामु यसो भने: “यी लाचार यहुदीहरू के गर्दै छन्? यत्रो काम के यिनीहरू आफैले गर्न सक्छन्? के यिनीहरू बलिदान चढाएर एकै दिनमा यो काम सिद्ध्याउँछौँ भनी सोच्दै छन्? अनि ढुङ्गाहरूचाहिँ कहाँबाट ल्याउनेछन्? के यिनीहरूले खण्डहरबाट डढेका ढुङ्गाहरू बटुलेर पर्खाल ठड्याउनेछन्?”+
३ तिनको छेउमा उभिरहेका अम्मोनी+ तोबियाले+ यसो भने: “यिनीहरूले बनाइरहेको यस पर्खालमाथि एउटा फ्याउरो मात्र चढ्यो भने पनि यो गर्ल्यामगुर्लुम ढल्नेछ।”
४ तब मैले यसरी प्रार्थना गरेँ: “हे हाम्रा परमेश्वर, सुन्नुहोस्, तिनीहरूले हाम्रो अपमान गरिरहेका छन्।+ तिनीहरूको पनि यसरी नै अपमान गरियोस्।+ अनि लुटको माल लगिएझैँ तिनीहरूलाई पनि बन्दी बनाएर पराई देशमा लगियोस्। ५ तिनीहरूको अपराधलाई बेवास्ता नगर्नुहोस् र तिनीहरूको पाप मेटिन नदिनुहोस्+ किनकि तिनीहरूले पर्खाल बनाउनेहरूको बेइज्जत गरेका छन्।”
६ हामीले पर्खाल पुनर्निर्माण गर्न छोडेनौँ र पर्खाल जहाँ-जहाँ भत्केको थियो, त्यहाँ-त्यहाँ बनायौँ। हामीले पूरै पर्खाललाई त्यसको आधा उचाइसम्म खडा गऱ्यौँ। मानिसहरूले पनि मन लगाएर काम गरिरहे।
७ जब सन्बलत, तोबिया,+ अरबीहरू,+ अम्मोनीहरू र अस्दोदीहरूले+ यरुसलेमको पर्खाल पुनर्निर्माण गर्ने काम जोडतोडले अघि बढिरहेको छ र पर्खालको भत्किएका भागहरू बनाइँदै छ भनेर सुने, तब तिनीहरू साह्रै रिसाए। ८ त्यसपछि तिनीहरूले यरुसलेम आएर त्यसलाई आक्रमण गर्ने र त्यहाँ खलबली मच्चाउने षड्यन्त्र रचे। ९ तर हामीले आफ्ना परमेश्वरलाई प्रार्थना गऱ्यौँ र तिनीहरूले केही गर्न नपाऊन् भनेर दिनरात पहरा दिन एक जनालाई खटाउन थाल्यौँ।
१० तर यहुदाका मानिसहरू यसो भन्दै थिए: “कामदारहरू थकित भइसकेका छन्। अनि अझै पनि भग्नावशेषको थुप्रो निकै बाँकी छ। हामीले यो पर्खाल कहिल्यै बनाउन सक्नेछैनौँ।”
११ अनि हाम्रा शत्रुहरू यसो भन्दै थिए: “यिनीहरूले हामीलाई देख्नुअघि नै र हाम्रो योजनाबारे थाह पाउनुअघि नै हामी सुटुक्क गएर यिनीहरूलाई आक्रमण गरौँ र यिनीहरूलाई मारेर यिनीहरूको काम रोकौँ।”
१२ तिनीहरूको वरपर बसोबास गर्ने यहुदीहरू यरुसलेममा काम गर्न आउँदा हामीलाई बारम्बार* यसो भन्थे: “शत्रुहरूले हामीलाई चारैतिरबाट आक्रमण गर्नेछन्।”
१३ त्यसैले मैले पर्खालसँगै भएका खुला र होचा ठाउँहरूमा पहरेदारहरू राखेँ। मैले तिनीहरूलाई तिनीहरूको घरानाअनुसार तैनाथ गराएँ अनि तिनीहरूलाई तरबार, भाला र धनु दिएँ। १४ जब मैले मानिसहरू डराइरहेको देखेँ, तब मैले तुरुन्तै गण्यमान्य व्यक्तिहरू,+ उप-शासकहरू अनि बाँकी मानिसहरूलाई यसो भनेँ: “तिनीहरूसँग नडराउनुहोस्।+ आश्चर्यजनक र भययोग्य कामहरू गर्ने महान् परमेश्वर यहोवालाई सम्झनुहोस्।+ अनि आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरको निम्ति लड्नुहोस्।”
१५ हाम्रा शत्रुहरूले हामीले उनीहरूको योजनाबारे थाह पायौँ भनी सुने अनि साँचो परमेश्वरले उनीहरूको योजना विफल तुल्याइदिनुभएको छ भनेर पनि बुझे। यता हामीले भने फेरि पर्खाल बनाउन सुरु गऱ्यौँ। १६ त्यस दिनदेखि मेरो अधीनमा भएका आधा मानिसहरूले पर्खाल बनाउने काम गरे+ र आधा मानिसहरूचाहिँ कवच लगाएर अनि हातमा भाला, ढाल र धनु लिएर तैनाथ भए। मुखियाहरूचाहिँ+ यहुदाका ती सबै मानिसको पछाडि उभिए, १७ जो पर्खाल निर्माण गरिरहेका थिए। भारी बोक्ने मजदुरहरूको एउटा हात भारीमा हुन्थ्यो र अर्को हातमा चाहिँ हतियार हुन्थ्यो। १८ पर्खाल बनाउने हरेकले आ-आफ्नो कम्मरमा तरबार भिरेर काम गर्थे। अनि सिङ फुक्नेचाहिँ+ मसँगै उभिरहेका थिए।
१९ तब मैले गण्यमान्य व्यक्तिहरू, उप-शासकहरू र बाँकी मानिसहरूलाई यसो भनेँ: “काम अझै पनि धेरै बाँकी छ। अनि हामीले पर्खालको अलग-अलग भागमा काम गरिरहेको हुनाले हामी एकअर्कादेखि निकै टाढा छौँ। २० त्यसैले जब तपाईँहरूले सिङ फुकेको आवाज सुन्नुहुन्छ, तब तपाईँहरू हामी भएको ठाउँमा एकसाथ भेला हुनुहोस्। हाम्रा परमेश्वरले हाम्रो निम्ति लड्नुहुनेछ।”+
२१ यसरी हामी बिहान झिसमिसेदेखि राती आकाशमा तारा देखा नपरुन्जेल काममा लागिरह्यौँ। हामीमध्ये आधा मानिसहरू पर्खाल बनाउँथ्यौँ अनि बाँकी आधाचाहिँ भाला लिएर तैनाथ हुन्थ्यौँ। २२ तब मैले मानिसहरूलाई यसो भनेँ: “हरेक पुरुषले आ-आफ्नो सेवकसित यरुसलेममै रात बिताओस्। उनीहरूले दिनमा काम गरून् र रातमा पहरा देऊन्।” २३ म, मेरा दाजुभाइ, मेरा सहायकहरू+ अनि मसँगै भएका पहरेदारहरू कसैले पनि आफ्नो लुगा फेरेनौँ। हामी प्रत्येकले आफ्नो दाहिने हातमा हतियार बोकेका थियौँ।