लेवी
१२ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: २ “इस्राएलीहरूलाई भन्नू, ‘यदि कुनै स्त्री गर्भवती भई र उसले छोरा जन्माई भने ऊ सात दिनसम्म अशुद्ध रहोस्; महिनावारी भएका दिनहरूमा जस्तै ऊ अशुद्ध रहोस्।+ ३ आठौँ दिनमा छोराको खतना* गरियोस्।+ ४ रगत बगेको कारण अशुद्ध भएकीले अर्को ३३ दिनसम्म ऊ अशुद्धै रहनेछे। त्यतिन्जेल उसले कुनै पनि पवित्र थोक नछोओस् र शुद्धीकरणको समय नसिद्धिएसम्म पवित्र ठाउँमा नजाओस्।
५ “‘उसले छोरी जन्माई भने ऊ १४ दिनसम्म अशुद्ध रहोस्; महिनावारी भएका दिनहरूमा जस्तै ऊ अशुद्ध रहोस्। रगत बगेको कारण अशुद्ध भएकीले अर्को ६६ दिनसम्म ऊ अशुद्धै रहनेछे। ६ छोरा जन्मिएको होस् या छोरी, शुद्धीकरणको समय सिद्धिएपछि उसले अग्निभेटीको निम्ति भेडाको एक वर्षे पाठो+ र पापभेटीको निम्ति परेवाको एउटा बचेरा वा एउटा ढुकुर भेट हुने पालको* प्रवेशद्वारमा ल्याएर पुजारीलाई देओस्। ७ तिनले त्यो यहोवा परमेश्वरसामु चढाऊन् र त्यस स्त्रीको निम्ति प्रायश्चित गरिदेऊन्। त्यसपछि ऊ रगत बगेको कारण अशुद्ध भएको अवस्थाबाट शुद्ध हुनेछे। कुनै स्त्रीले छोरा या छोरी जन्माउँदा यही नियम लागू हुनेछ। ८ तर ऊसित भेडा चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा ल्याओस्;+ एउटा अग्निभेटीको निम्ति अनि अर्को पापभेटीको निम्ति। त्यसपछि पुजारीले उसको निम्ति प्रायश्चित गरिदेऊन् र ऊ शुद्ध हुनेछे।’”