यर्मिया
३८ यर्मियाले सबै मानिससामु भनेका कुरा मत्तानका छोरा सेपत्याह, पासुहरका+ छोरा गदल्याह, सेलेम्याहका छोरा युकाल+ र मल्कियाहका छोरा पासुहरले सुने। यर्मियाले यसो भनेका थिए: २ “यहोवा यसो भन्नुहुन्छ, ‘जो यस सहरमा बसिरहन्छ, ऊ तरबार, अनिकाल र महामारीले* मर्नेछ।+ तर जसले कल्दियालीहरूसामु आत्मसमर्पण गर्छ, ऊ भने बाँच्नेछ र उसको ज्यान उसको निम्ति लुटको मालसरह हुनेछ।’*+ ३ यहोवा यसो भन्नुहुन्छ, ‘यो सहर बेबिलोनका राजाको सेनाको हातमा अवश्य पर्नेछ र बेबिलोनका राजाले यसलाई कब्जा गर्नेछन्।’”+
४ त्यसैले ती भारदारहरूले राजालाई यसो भने: “यस मानिसलाई मार्ने आदेश दिनुहोस्।+ किनकि यसले नानाथरी कुरा गरेर सहरमा बाँकी रहेका सिपाहीहरू र सबै मानिसको मनोबल घटाउने काम गर्दै छ। यसले यी मानिसहरूको भलो चिताएको छैन, यो त यिनीहरूमाथि विपत्ति आइपरेको चाहन्छ।” ५ राजा सिदकियाहले यस्तो जवाफ दिए: “ऊ तपाईँहरूकै हातमा छ। उसलाई जे सजाय दिन चाहनुहुन्छ, दिनुहोस्। किनकि राजाले समेत तपाईँहरूलाई रोक्न सक्दैन।”
६ त्यसैले तिनीहरूले यर्मियालाई लगेर पहरेदार-चोकमा भएको राजकुमार मल्कियाहको इनारमा खसालिदिए।+ तिनीहरूले यर्मियालाई डोरीले बाँधेर तल झारे। त्यस इनारमा पानी थिएन, हिलैहिलो थियो। त्यसैले यर्मिया हिलोमा भासिन थाले।
७ यर्मियालाई इनारमा हालिएको छ भन्ने कुरा दरबारका एक अफिसर* इथियोपियाली एबेद-मेलेकले+ सुने। राजा त्यसबेला बिन्यामिन-ढोकामा बसिरहेका थिए।+ ८ त्यसैले एबेद-मेलेक महलबाट निस्केर राजाकहाँ गए र राजालाई यसो भने: ९ “हे महाराज! मेरा प्रभु! यी मानिसहरूले भविष्यवक्ता यर्मियासित साह्रै नीच व्यवहार गरेका छन्। तिनीहरूले उनलाई इनारमा खसालिदिएका छन्। उनी अनिकालले गर्दा त्यहीँ मर्नेछन् किनकि सहरमा अलिकति पनि खानेकुरा बाँकी छैन।”+
१० त्यसपछि राजाले इथियोपियाली एबेद-मेलेकलाई यस्तो आदेश दिए: “३० जना मानिस लिएर जाऊ र भविष्यवक्ता यर्मियालाई तिनी मर्नुअघि नै इनारबाट निकाल।” ११ अनि एबेद-मेलेक मानिसहरूलाई लिएर राजाको महलमा गए। तिनीहरूले ढुकुटीमुनिको+ कोठामा गएर केही थोत्रा र पुराना कपडाहरू निकाले। अनि ती कपडाहरूलाई डोरीले बाँधेर यर्मिया भएको इनारमा खसालिदिए। १२ अनि इथियोपियाली एबेद-मेलेकले यर्मियालाई यसो भने: “ती कपडाहरूलाई तपाईँको काखीमुनि च्यापेर आफैलाई डोरीले बाँध्नुहोस्। त्यसो गर्नुभयो भने डोरीले गर्दा तपाईँको काखी पाछिनेछैन।” यर्मियाले त्यसै गरे। १३ तब तिनीहरूले यर्मियालाई इनारबाट बाहिर निकाले। त्यसपछि यर्मिया पहरेदार-चोकमै रहे।+
१४ राजा सिदकियाहले भविष्यवक्ता यर्मियालाई यहोवाको भवनको तेस्रो ढोकामा आउनू भनी खबर पठाए। अनि राजाले यर्मियालाई यसो भने: “म तिमीलाई केही सोध्न चाहन्छु। कुरा नलुकाई मलाई बताऊ।” १५ यर्मियाले सिदकियाहलाई भने: “मैले तपाईँलाई केही बताएँ भने तपाईँले मलाई पक्कै मार्नुहुनेछ। मैले कुनै सल्लाह दिएँ भने पनि तपाईँले त्यो सुन्नुहुनेछैन।” १६ तब राजा सिदकियाहले यर्मियासित सुटुक्क कसम खाँदै यसो भने: “जीवन दिनुहुने यहोवाको शपथ खाएर भन्छु, म तिमीलाई मार्नेछैनँ। तिम्रो ज्यान लिन चाहने यी मानिसहरूको हातमा पनि म तिमीलाई सुम्पनेछैनँ।”
१७ यर्मियाले सिदकियाहलाई यसो भने: “सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘बेबिलोनका राजाका भारदारहरूसामु आत्मसमर्पण गऱ्यौ भने तिम्रो ज्यान जोगिनेछ अनि यो सहर आगोले नाश हुनेछैन। तिमीसँगसँगै तिम्रो घराना पनि बचाइनेछ।+ १८ तर तिमीले बेबिलोनका राजाका भारदारहरूसामु आत्मसमर्पण गरेनौ भने यो सहर कल्दियालीहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले यसलाई आगोले जलाइदिनेछन्।+ अनि तिमी तिनीहरूको हातबाट उम्कनेछैनौ।’”+
१९ तब राजा सिदकियाहले यर्मियालाई यसो भने: “कल्दियालीहरूकहाँ भागेर गएका यहुदीहरूसित मलाई डर लाग्छ। केहीगरि म तिनीहरूको हातमा परेँ भने तिनीहरूले मसित क्रूर व्यवहार गर्नेछन्।” २० तर यर्मियाले यसो भने: “तपाईँ तिनीहरूको हातमा पर्नुहुनेछैन। त्यसैले बिन्ती! मैले तपाईँलाई सुनाएको यहोवाको वचनअनुसारै गर्नुहोस्। त्यसो गर्नुभयो भने तपाईँको भलो हुनेछ र तपाईँ जीवितै रहनुहुनेछ। २१ तर यदि तपाईँ आत्मसमर्पण गर्न मान्नुहुन्न भने तपाईँलाई के हुनेछ, त्यसबारे पनि यहोवाले मलाई यसो भन्नुभएको छ: २२ हेर! यहुदाका राजाको महलमा बाँकी रहेका सबै स्त्री बेबिलोनका राजाका भारदारहरूकहाँ लगिनेछन्।+ अनि ती स्त्रीहरूले यसो भन्नेछन्,
‘तपाईँले जसलाई भरोसा गर्नुभयो, तिनीहरूले तपाईँलाई छल गरेर जितेका छन्।+
तिनीहरूले गर्दा तपाईँको खुट्टा हिलोमा गाडियो।
अनि अहिले आएर तिनीहरूले तपाईँलाई छोडे।’
२३ तपाईँका सबै पत्नी र छोराहरू कल्दियालीहरूकहाँ लगिनेछन्। तपाईँ तिनीहरूको हातबाट बच्नुहुनेछैन। तपाईँलाई बेबिलोनका राजाले कैद गर्नेछन्+ र तपाईँकै कारण यो सहरलाई आगोले जलाइनेछ।”+
२४ त्यसपछि सिदकियाहले यर्मियालाई यसो भने: “कसैलाई यसबारे केही नबताउनू। नत्र त तिमी मारिनेछौ। २५ अनि मैले तिमीसित भेटेको कुराको सुइँको पाएर भारदारहरू तिमीकहाँ आउलान् र तिमीलाई यसो भनेर सोध्लान्, ‘तिमीले राजालाई के भन्यौ, हामीलाई बताऊ। कुरा नलुकाई बतायौ भने हामी तिमीलाई मार्नेछैनौँ।+ भन, राजाले तिमीलाई के भने?’ २६ तब तिमीले यस्तो जवाफ दिनू, ‘मलाई फेरि यहोनाथानको घरमा नपठाइयोस् र म त्यहाँ मर्नु नपरोस् भनेर म राजालाई बिन्ती गर्दै थिएँ।’”+
२७ नभन्दै सबै भारदार यर्मियाकहाँ आए र तिनीसित सोधपुछ गर्न थाले। राजाले जस्तो जवाफ दिनू भनेर सिकाएका थिए, यर्मियाले त्यस्तै जवाफ दिए। त्यसपछि भारदारहरूले यर्मियालाई केरकार गर्न छोडे किनकि राजा र यर्मियाबीच भएको कुराकानी कसैले सुनेको थिएन। २८ त्यसैले यर्मिया पहरेदार-चोकमै रहे। यरुसलेम कब्जा गरिएको दिनसम्मै+ तिनी त्यहीँ थिए।+