इजकिएल
३९ “हे मानिसको छोरा, गोगविरुद्ध भविष्यवाणी गर+ र त्यसलाई यसो भन, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “हे मेसेक र तुबलको+ प्रमुख शासक गोग, म तँविरुद्ध खडा भएको छु। २ म तँलाई फनक्क फर्काउनेछु र तँलाई उत्तरको टाढाको इलाकाबाट निकाल्नेछु+ र इस्राएलका डाँडाहरूमा पुऱ्याउनेछु। ३ म तँलाई हिर्काएर तेरो बायाँ हातबाट तेरो धनु अनि दायाँ हातबाट तेरा काँडहरू झारिदिनेछु। ४ इस्राएलका डाँडाहरूमा तँ लड्नेछस्।+ तँ, तेरा सेना र तँसित भएका सबै मानिस लड्नेछौ। म तँलाई सिनु खाने चराहरू र जङ्गली जनावरहरूको आहारा बनाउनेछु।”’+
५ “‘तँ खुला मैदानमा ढल्नेछस्+ किनकि मैले नै यसो भनेको हुँ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
६ “‘म मागोगविरुद्ध र त्यसका टापुहरूमा ढुक्कसित बसिरहेका सबैविरुद्ध+ आगो पठाउनेछु र तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्। ७ मेरा मानिस इस्राएलीहरूबीच म मेरो नाम पवित्र पार्नेछु। म मेरो नाममा फेरि कलङ्क लाग्न दिनेछैनँ। अनि जातिजातिका मानिसहरूले म नै यहोवा,+ इस्राएलका पवित्र परमेश्वर हुँ भनेर जान्नेछन्।’+
८ “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘हेर, यो भविष्यवाणी पूरा हुने समय आउँदै छ, यो पक्कै पूरा हुनेछ। यो त्यही दिन हो, जसबारे मैले बताएको छु। ९ इस्राएलका मानिसहरू आ-आफ्नो सहरबाट बाहिर निस्केर आउनेछन् अनि तिनीहरूले हातहतियार—साना* र ठूला ढालहरू, धनुहरू र काँडहरू, भालाहरू र बर्छाहरू आगो बाल्न चलाउनेछन्।+ तिनीहरूले सात वर्षसम्म यी हातहतियारहरूले आगो बाल्नेछन्। १० तिनीहरूले हातहतियार जम्मा गरेर आगो बाल्ने भएकोले दाउरा बटुल्न खेतमा वा जङ्गलमा जानुपर्नेछैन।’
“ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘आफूलाई लुट्नेहरूलाई तिनीहरूले लुट्नेछन्; आफूलाई बरबाद पार्नेहरूलाई तिनीहरूले बरबाद पार्नेछन्।’
११ “‘त्यस दिन म इस्राएलमा, समुद्रको पूर्वतिर यात्रा गर्नेहरूको बेँसीमा गोगलाई+ गाड्न एउटा चिहान दिनेछु र त्यो चिहानले आवतजावत गर्नेहरूको बाटो छेक्नेछ। तिनीहरूले त्यही बेँसीमा गोगलाई र त्यसका सारा सेनालाई गाड्नेछन् र त्यस ठाउँलाई हामोन-गोग बेँसी*+ भन्नेछन्। १२ यिनीहरूलाई गाडेर देशलाई शुद्ध पार्न+ इस्राएलको घरानालाई सात महिना लाग्नेछ। १३ सबै देशवासी मिलेर यिनीहरूलाई गाड्नेछन् र मैले आफैलाई महिमित पारेको दिन+ तिनीहरूले ख्याति कमाउनेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
१४ “‘देशलाई शुद्ध पार्न मानिसहरू खटाइनेछन्। तिनीहरू पूरै देशमा लास खोज्दै हिँड्नेछन् र तिनीहरूले जमिनमा त्यसै पस्रिएका लासहरू गाड्नेछन्। तिनीहरूले सात महिनासम्म निरन्तर यो काम गर्नेछन्। १५ लास खोज्दै हिँड्नेहरूले मानिसको हाड देखेपछि त्यसको छेवैमा एउटा चिन्ह लगाउनेछन्। अनि लास गाड्न खटाइएकाहरूले त्यसलाई हामोन-गोग बेँसीमा+ गाड्नेछन्। १६ त्यहाँ हमोनाह* नाम भएको सहर पनि हुनेछ। अनि यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्।’+
१७ “हे मानिसको छोरा, ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘जातजातका चराचुरुङ्गीलाई र सबै जङ्गली जनावरलाई यसो भन, “आओ, एकै ठाउँमा भेला होओ। मैले तिमीहरूको लागि तयार पारेको बलिदानको वरपर भेला होओ। मैले इस्राएलका डाँडाहरूमा ठूलो भोज तयार पारेको छु।+ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ।+ १८ तिमीहरूले शक्तिशाली मानिसहरूको मासु खानेछौ र शासकहरूको रगत पिउनेछौ, जो बासानका मोटा-घाटा जनावर—भेडा, थुमा, बोका र बहर हुन्। १९ मैले तिमीहरूको लागि तयार पारेको बलिदानको बोसो तिमीहरूले हसुर्नेछौ र मात्तिउन्जेल रगत धोक्नेछौ।”’
२० “‘तिमीहरूले मेरो टेबुलमा घोडाहरू र रथमा सवार हुनेहरू, शक्तिशाली मानिसहरू र हरकिसिमका योद्धाहरूको मासु अघाउन्जेल खानेछौ,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
२१ “‘जातिजातिबीच म आफ्नो महिमा प्रकट गर्नेछु। मैले तिनीहरूलाई दिएको दण्ड र तिनीहरूबीच प्रकट गरेको शक्ति* तिनीहरू सबैले देख्नेछन्।+ २२ त्यस दिनदेखि इस्राएलको घरानाले म यहोवा तिनीहरूका परमेश्वर हुँ भनेर जान्नेछन्। २३ इस्राएलको घराना आफ्नै गल्तीले गर्दा र मलाई धोका दिएकोले गर्दा निर्वासित हुनुपरेको थियो भनेर जातिजातिले जान्नेछन्।+ तिनीहरू वफादार नभएकोले मैले तिनीहरूलाई तिरस्कार गरेँ र आफ्नो अनुहार अन्तै फर्काएँ+ र तिनीहरूलाई शत्रुहरूको हातमा पर्न दिएँ+ अनि तिनीहरू तरबारले काटिए। २४ मैले तिनीहरूलाई तिनीहरूको अशुद्धताअनुसारै र तिनीहरूले गरेको अपराधअनुसारै सजाय दिएँ र तिनीहरूलाई तिरस्कार गरेर आफ्नो अनुहार अन्तै फर्काएँ।’
२५ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘निर्वासित भएका याकुबका सन्तानलाई म फर्काएर ल्याउनेछु+ र इस्राएलको सम्पूर्ण घरानामाथि कृपा गर्नेछु।+ म आफ्नो पवित्र नाममा कुनै हालतमा कलङ्क लाग्न दिनेछैनँ।+ २६ मलाई धोका दिएकोले अपमान भोगिसकेपछि+ तिनीहरू आफ्नो देशमा ढुक्कसित बस्नेछन्, कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।+ २७ म तिनीहरूलाई शत्रुहरूको देशबाट एकसाथ जम्मा पार्नेछु र तिनीहरूकै देशमा फिर्ता लैजानेछु।+ यसरी म तिनीहरूमाझ आफूलाई पवित्र पार्नेछु र जातिजातिले म पवित्र परमेश्वर हुँ भनेर देख्नेछन्।’+
२८ “‘जब म तिनीहरूलाई जातिजातिका मानिसहरूबीच निर्वासनमा पठाउनेछु र पछि फेरि कोही पनि नछुट्नेगरि सबैलाई जम्मा गरेर तिनीहरूको आफ्नै देशमा फिर्ता ल्याउनेछु,+ तब जातिजातिका मानिसहरूले म यहोवा इस्राएलीहरूका परमेश्वर हुँ भनेर जान्नेछन्। २९ त्यसपछि म फेरि कहिल्यै तिनीहरूदेखि आफ्नो अनुहार अर्कैतिर फर्काउनेछैनँ+ बरु इस्राएलको घरानामाथि मेरो पवित्र शक्ति खन्याउनेछु,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”