दोस्रो इतिहास
३१ चाड मनाउन सिद्धिसकेपछि त्यहाँ भेला भएका सबै इस्राएली यहुदाका सहरहरूमा गए। तिनीहरूले ती सहरहरूमा भएका पवित्र थामहरू* टुक्राटुक्रा पारिदिए,+ पवित्र खामाहरू* ढालिदिए+ अनि अग्ला थानहरू *+ र वेदीहरू+ पनि भत्काइदिए। तिनीहरूले यहुदा र बिन्यामिनको सारा इलाकामा अनि एप्रैम र मनस्सेको+ इलाकामा पनि त्यसै गरे र ती कुराहरूको नामोनिसान मेटाइदिए। त्यसपछि सबै इस्राएली आ-आफ्नो सहर, आ-आफ्नो घर फर्के।
२ त्यसपछि हिजकियाहले पुजारीहरू र लेवीहरूलाई तिनीहरूको दलअनुसार नियुक्त गरे।+ हरेक पुजारी र लेवीलाई तिनीहरूले गर्नुपर्ने सेवाको लागि नियुक्त गरियो।+ तिनीहरूलाई अग्निभेटी र मेलबलि चढाउने अनि यहोवा परमेश्वरको भवनका चोकहरूका ढोकाहरूमा सेवा गर्ने, उहाँलाई धन्यवाद चढाउने र उहाँको प्रशंसा गर्ने जिम्मा दिइयो।+ ३ यहोवा परमेश्वरको व्यवस्थामा लेखिएबमोजिम चढाइने अग्निभेटीको लागि,+ बिहान र बेलुकी चढाइने भेटीको लागि+ अनि विश्रामदिन,*+ औँसी+ र विभिन्न चाडहरूमा चढाइने अग्निभेटीको+ लागि राजाले आफ्नो सरसम्पत्तिको केही भाग दिए।
४ साथै पुजारीहरू र लेवीहरूले पाउनुपर्ने भाग तिनीहरूलाई दिनू भनी हिजकियाहले यरुसलेमका बासिन्दाहरूलाई आज्ञा दिए।+ यसो गर्दा ती पुजारीहरू र लेवीहरू यहोवा परमेश्वरको व्यवस्था पालन गर्नमै पूर्ण रूपमा समर्पित हुन सक्ने थिए।* ५ राजाले यो आदेश दिनेबित्तिकै इस्राएलीहरूले आफ्नो उब्जनीको पहिलो फलबाट अन्न, नयाँ मद्य, तेल,+ मह र खेतका अरू सबै उब्जनी ल्याए।+ तिनीहरूले प्रशस्त मात्रामा सबै कुराको दशांश* पनि ल्याए।+ ६ यहुदाका सहरहरूमा बसोबास गर्ने इस्राएलीहरूले र यहुदाका मानिसहरूले आफ्नो वस्तुभाउ र भेडाहरूको दशांश अनि आफ्ना परमेश्वर यहोवाको निम्ति पवित्र पारिएका चिजहरूको दशांश पनि ल्याए।+ तिनीहरूले यी सब ल्याएर थुप्रो लगाए। ७ तिनीहरूले तेस्रो महिनामा+ दान ल्याएर थुपार्न सुरु गरे र सातौँ महिनामा+ त्यो काम सिद्धियो। ८ जब हिजकियाह र भारदारहरू आए अनि मानिसहरूले ल्याएको दानको थुप्रो देखे, तब तिनीहरूले यहोवा परमेश्वरको प्रशंसा गरे र उहाँका प्रजा इस्राएलीहरूलाई आशिष् दिए।
९ जब हिजकियाहले पुजारीहरू र लेवीहरूलाई मानिसहरूले ल्याएको दानको थुप्रोबारे सोधे, १० तब सादोकको घरानाका मुख्य पुजारी अजर्याहले यसो भने: “मानिसहरूले यहोवा परमेश्वरको भवनमा दान ल्याउन थालेदेखि+ तिनीहरूले प्रशस्तै खान पाएका छन् अनि यत्ति धेरै उब्रिएको पनि छ। यहोवा परमेश्वरले आफ्ना मानिसहरूलाई आशिष् दिनुभएकोले नै यत्ति धेरै चिज उब्रिएको हो।”+
११ तब हिजकियाहले तिनीहरूलाई यहोवा परमेश्वरको भवनमा भण्डारहरू* बनाउन आदेश दिए+ र तिनीहरूले ती बनाए। १२ मानिसहरूको दान, दशांश+ र पवित्र चिजहरू भवनमा ल्याउन थालियो। यी सबै थोकको निरीक्षण गर्ने जिम्मा लेवी कोनन्याहलाई दिइएको थियो र तिनीपछिको पदमा तिनका भाइ* सिमि थिए। १३ राजा हिजकियाहको आदेशअनुसारै कोनन्याह र तिनका भाइ सिमिलाई मदत गर्न यी अफिसरहरू खटाइएका थिए: यहिएल, अजज्याह, नहथ, आसाहेल, यरिमोथ, योजाबाद, एलिएल, इस्मक्याह, महथ र बेनायाह। अजर्याहले चाहिँ साँचो परमेश्वरको भवनको निरीक्षण गर्ने जिम्मा पाएका थिए। १४ अनि इम्नाहका छोरा लेवी कोरे, जो पूर्वपट्टिको ढोकाका पहरेदार थिए,+ तिनले साँचो परमेश्वरको निम्ति ल्याइने स्वैच्छिकभेटीको रेखदेख गर्ने जिम्मा पाएका थिए।+ तिनले नै यहोवा परमेश्वरको निम्ति ल्याइएको दान+ र महापवित्र चिजहरू+ बाँड्ने काम गर्थे। १५ तिनको निर्देशनमा अदन, मिन्यामिन, यसुआ, सेमायाह, अमर्याह र सेकन्याहले पुजारीहरूका सहरहरूमा काम गर्थे।+ उनीहरू सबै भरोसायोग्य थिए। त्यसैले उनीहरूले विभिन्न दलका आफ्ना दाजुभाइलाई—सानादेखि ठूलासम्म सबैलाई—तिनीहरूले पाउनुपर्ने भाग बराबर बाँड्ने जिम्मा पाएका थिए।+ १६ यसबाहेक ज-जसको नाम वंशावलीमा लेखिएको थियो अनि जो-जो आफ्नो दलको जिम्मा पूरा गर्न र यहोवा परमेश्वरको सेवा गर्न हरेक दिन उहाँको भवनमा आउँथे, ती सबैलाई पनि तिनीहरूले पाउनुपर्ने भाग बाँडिन्थ्यो। तीन वर्ष र सोभन्दा माथिको उमेरका तिनीहरूका छोराहरू, जसको नाम वंशावलीमा लेखिएको थियो, उनीहरूले पनि आफ्नो भाग पाउँथे।
१७ वंशावलीमा पुजारीहरूको नाम अनि २० वर्ष र सोभन्दा माथिको उमेरका+ लेवीहरूको नाम तिनीहरूको बुबापट्टिको घरानाअनुसार लेखिएको थियो।+ तिनीहरूको नाम तिनीहरूका दलहरूले पाएको जिम्मेवारीअनुसार लेखिएको थियो।+ १८ वंशावलीमा तिनीहरूको सारा समुदायको अर्थात् तिनीहरूका पत्नी र छोराछोरी, यहाँसम्म कि ससाना केटाकेटीको समेत नाम लेखिएको थियो। किनकि ती लेवीहरूले पवित्र सेवा चढाउन आफैलाई पवित्र पारेका थिए र तिनीहरू भरोसायोग्य भएकोले तिनीहरूलाई यो जिम्मेवारी दिइएको थियो। १९ साथै हारुनका सन्तान अर्थात् पुजारीहरू, जो आफ्नो सहरको वरिपरि भएको चरनका मैदानहरूमा बसोबास गर्थे,+ तिनीहरूको नाम पनि वंशावलीमा लेखिएको थियो। पुजारीहरूको परिवारका हरेक पुरुषलाई अनि लेवीहरूको वंशावलीमा नाम लेखिएका सबैलाई तिनीहरूले पाउनुपर्ने भाग दिन हरेक सहरमा केही मानिसलाई नामै तोकेर छानिएको थियो।
२० हिजकियाहले पूरै यहुदामा यस्तो प्रबन्ध गरे। तिनले आफ्ना परमेश्वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरिरहे। तिनी उहाँप्रति विश्वासयोग्य भइरहे। २१ तिनले आफ्ना परमेश्वरको खोजी गर्न जे-जे काम गरे—चाहे त्यो काम साँचो परमेश्वरको भवनमा चढाइने सेवासित सम्बन्धित होस्+ वा उहाँको व्यवस्था र आज्ञासित—ती सबै काम तिनले आफ्नो सारा हृदयले गरे र तिनी सफल भए।