यर्मिया
४२ त्यसपछि सबै सेनापति, कारेहका छोरा योहानान,+ होसायाहका छोरा यजन्याह र सानादेखि ठूला सबै मानिस आए २ र भविष्यवक्ता यर्मियालाई यस्तो आग्रह गरे: “बिन्ती! हाम्रो कुरा सुनिदिनुहोस्। हाम्रो तर्फबाट र बाँकी रहेका यी सबै मानिसको तर्फबाट यहोवा तपाईँका परमेश्वरलाई पुकारिदिनुहोस्। किनभने अब हामी थोरै मात्र बाँकी छौँ+ र यो कुरा त तपाईँलाई पनि थाह छ। ३ हामीले के गर्नुपर्ने हो अनि कुन मार्गमा चल्नुपर्ने हो, यहोवा तपाईँका परमेश्वरले हामीलाई देखाइदेऊन्।”
४ त्यसपछि भविष्यवक्ता यर्मियाले तिनीहरूलाई यसो भने: “मैले तपाईँहरूको कुरा सुनेँ। म तपाईँहरूले भनेझैँ यहोवा तपाईँहरूका परमेश्वरलाई प्रार्थना गर्नेछु। अनि यहोवाले जे जवाफ दिनुहुन्छ, त्यो सबै तपाईँहरूलाई सुनाउनेछु। एउटा कुरा पनि तपाईँहरूदेखि लुकाउनेछैनँ।”
५ तिनीहरूले यर्मियालाई यसो भने: “यहोवा तपाईँका परमेश्वरले तपाईँमार्फत हामीलाई जे निर्देशन दिनुहुन्छ, हामी ठीक त्यसै गर्नेछौँ। यदि त्यसो गरेनौँ भने यहोवा नै हामीविरुद्ध साँचो र विश्वासयोग्य साक्षी ठहरिऊन्। ६ यहोवा हाम्रा परमेश्वर, जसकहाँ हामी तपाईँलाई पठाउँदै छौँ, उहाँले भन्नुभएको कुरा चाहे हामीलाई मन परोस् या नपरोस्, हामी पालन गर्नेछौँ र यहोवा हाम्रा परमेश्वरको कुरा मान्दा हाम्रो भलो होस्।”
७ त्यसको १० दिनपछि यहोवाको वचन यर्मियाकहाँ आयो। ८ त्यसैले यर्मियाले कारेहका छोरा योहानानलाई, तिनीसित भएका सबै सेनापतिलाई र सानादेखि ठूला सबै मानिसलाई आफूकहाँ बोलाए।+ ९ यर्मियाले तिनीहरूलाई यसो भने: “इस्राएलका परमेश्वर यहोवा, जसकहाँ तपाईँहरूले मलाई तपाईँहरूको तर्फबाट बिन्ती गर्न पठाउनुभएको थियो, उहाँ यसो भन्नुहुन्छ: १० ‘यदि तिमीहरू यही देशमा बसिरह्यौ भने म तिमीहरूलाई बनाउनेछु, भत्काउनेछैनँ। म तिमीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ। तिमीहरूमाथि विपत्ति ल्याएकोमा म दुःखी हुनेछु।*+ ११ बेबिलोनका राजा, जससँग अहिले तिमीहरू डराउँछौ, तिनीसँग नडराओ।’+
“यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिनीसँग नडराओ किनकि तिमीहरूलाई बचाउन र तिनको हातबाट उद्धार गर्न म तिमीहरूको साथमा छु। १२ म तिमीहरूलाई कृपा गर्नेछु।+ त्यसैले तिनले पनि तिमीहरूलाई कृपा गर्नेछन् अनि तिमीहरूलाई तिमीहरूकै देशमा फर्कन दिनेछन्।
१३ “‘तर यदि तिमीहरू “अहँ, हामी यस देशमा बस्दैनौँ” भन्छौ र यहोवा तिमीहरूका परमेश्वरको कुरा पटक्कै सुन्दैनौ १४ बरु “हामी मिश्रमै जान्छौँ,+ जहाँ हामीले युद्ध देख्नुपर्नेछैन, युद्धको सिङ फुकेको आवाज सुन्नुपर्नेछैन वा भोकभोकै बस्नुपर्नेछैन। हामी त्यतै बस्नेछौँ” भन्छौ भने १५ हे यहुदाका बाँकी मानिसहरू हो, यहोवाको वचन सुन। सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “यदि तिमीहरूले मिश्र गएरै छाड्ने निश्चय गरिसक्यौ र तिमीहरू त्यहाँ बसोबास गर्न* गयौ भने १६ जुन तरबारदेखि तिमीहरू डराउँछौ, त्यही तरबारले तिमीहरूलाई मिश्रमा भेट्टाउनेछ र जुन अनिकालदेखि तिमीहरू डराउँछौ, त्यही अनिकालले तिमीहरूलाई मिश्रसम्मै पछ्याउनेछ। अनि तिमीहरू त्यहीँ मर्नेछौ।+ १७ मिश्रमा गएर त्यहीँ बस्ने निश्चय गरिसकेका सबै मानिस तरबार, अनिकाल र महामारीले* मर्नेछन्। तिनीहरूमध्ये कोही पनि बाँच्नेछैन; मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट एक जना पनि उम्कनेछैन।”’
१८ “किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले यरुसलेमका बासिन्दाहरूमाथि जसरी आफ्नो रिस र क्रोध पोखाएको थिएँ,+ तिमीहरू मिश्र गयौ भने तिमीहरूमाथि पनि त्यसरी नै मेरो क्रोध पोखाउनेछु। तिमीहरू श्रापित हुनेछौ, तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्, मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन्+ र तिमीहरूले फेरि कहिल्यै यस ठाउँलाई देख्न पाउनेछैनौ।’
१९ “हे यहुदाका बाँकी मानिसहरू हो, यहोवाले तपाईँहरूविरुद्ध बोल्नुभएको छ। मिश्र नजानुहोस्। यो कुरा नबिर्सनुहोस्, मैले आज तपाईँहरूलाई यसबारे चेतावनी दिइसकेँ। २० उहाँको कुरा सुन्नुभएन भने तपाईँहरूले आफ्नो ज्यान गुमाउनुपर्नेछ। किनकि तपाईँहरूले यहोवा तपाईँहरूका परमेश्वरकहाँ यसो भन्दै मलाई पठाउनुभयो, ‘हाम्रो तर्फबाट यहोवा हाम्रा परमेश्वरलाई प्रार्थना गरिदिनुहोस्। अनि यहोवा हाम्रा परमेश्वरले भन्नुभएको एक-एक कुरा हामीलाई बताउनुहोस् र हामी ती सब पालन गर्नेछौँ।’+ २१ मैले आज तपाईँहरूलाई ती सब कुरा बताएँ तर तपाईँहरूले यहोवा तपाईँहरूका परमेश्वरको कुरा सुन्नुहुनेछैन वा उहाँले मलाई भन्न पठाउनुभएको कुनै कुरा पालन गर्नुहुनेछैन।+ २२ त्यसैले यो कुरा जानिराख्नुहोस्: जहाँ तपाईँहरू जान र बसोबास गर्न खोज्दै हुनुहुन्छ, त्यहाँ तपाईँहरू तरबार, अनिकाल र महामारीले मर्नुहुनेछ।”+