यहोसु
५ इस्राएलीहरूले यर्दन नदी पार नगरुन्जेल यहोवा परमेश्वरले नदीको पानी सुकाइदिनुभयो भनेर यर्दनको पश्चिमपट्टिका सबै एमोरी+ राजा अनि समुद्रको किनाराका सबै कनानी+ राजाले सुने। यो कुरा सुनेपछि तिनीहरू असाध्यै डराए+ अनि इस्राएलीहरूले गर्दा तिनीहरूको हौसला टुट्यो।+
२ तब यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “ढुङ्गाका धारिला हतियारहरू* बनाऊ र इस्राएलका पुरुषहरूको खतना* गराऊ।”*+ ३ त्यसैले यहोसुले ढुङ्गाको धारिला हतियारहरू बनाए र गिबियथ-हाअरालोथमा* इस्राएली पुरुषहरूको खतना गराए।+ ४ यहोसुले तिनीहरूको खतना गराउनुको कारण यस्तो थियो: मिश्रबाट आउँदा जति पनि पुरुषहरू लडाइँमा भाग लिन योग्य थिए,* तिनीहरू निर्जनभूमिमा यात्राको बेला मरिसकेका थिए।+ ५ मिश्रबाट आएका सबै पुरुषको खतना गरिएको थियो तर मिश्रबाट निस्केर निर्जनभूमिमा यात्रा गरेको बेला जन्मेका छोराहरूको भने खतना गरिएको थिएन। ६ मिश्रबाट निस्केपछि लडाइँमा जान सक्ने उमेरका पुरुषहरू सबैले, भनौँ भने पूरै जातिले यहोवा परमेश्वरको आज्ञा पालन गरेनन्।+ त्यसैले तिनीहरू सबै नमरेसम्म इस्राएलीहरू ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिनुपऱ्यो।+ यहोवा परमेश्वरले दूध र मह बग्ने+ जुन देश आफ्नो प्रजालाई* दिन्छु भनेर तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको थियो,+ त्यो देश ती अनाज्ञाकारी इस्राएलीहरूले कहिल्यै देख्न पाउनेछैनन् भनी यहोवा परमेश्वरले तिनीहरूसित शपथ खानुभयो।+ ७ त्यसैले परमेश्वरले तिनीहरूको सट्टा तिनीहरूका छोराहरूलाई रोज्नुभयो।+ यहोसुले उनीहरूको खतना गराइदिए किनभने यात्राको बेला उनीहरूको खतना गरिएको थिएन।
८ सबै पुरुषको खतना गरेपछि घाउ निको नभएसम्म तिनीहरूले आ-आफ्नै पालमा आराम गरे।
९ त्यसपछि यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “मिश्रीहरूले तिमीहरूमाथि थोपरेको बदनामी आज मैले हटाइदिएको छु।”* त्यसैले आजसम्म पनि त्यस ठाउँलाई गिलगाल*+ भनिन्छ।
१० इस्राएलीहरू यरिहोको मरुभूमिमा पर्ने गिलगालमै पाल टाँगेर बसिरहे अनि त्यहाँ तिनीहरूले त्यस महिनाको १४ औँ दिनको साँझ निस्तार चाड* मनाए।+ ११ निस्तार चाडको भोलिपल्टदेखि तिनीहरूले त्यस ठाउँको उब्जनी खान थाले। त्यो दिन तिनीहरूले खमिर* नहालेको रोटी+ र भुटेको अन्न खाए। १२ तिनीहरूले त्यस देशको अन्न खान थालेको दिनदेखि मन्न* पाइन छोड्यो। त्यसपछि इस्राएलीहरूले कहिल्यै मन्न पाएनन्।+ त्यस वर्षदेखि तिनीहरूले कनान देशको उब्जनी खान थाले।+
१३ एकदिन, जब यहोसु यरिहोनजिकै थिए, तब तिनले एक जना मानिस+ हातमा तरबार लिएर उभिरहेको देखे।+ यहोसुले त्यस मानिसकहाँ गएर सोधे: “तपाईँ हाम्रो पक्षमा हुनुहुन्छ कि हाम्रा शत्रुहरूको?” १४ ती मानिसले यस्तो जवाफ दिए: “म कसैको पक्षमा छैनँ। म यहोवा परमेश्वरको सेनाको राजकुमार* हुँ।”+ यो सुनेपछि भुईँमा घोप्टो परेर दण्डवत् गर्दै यहोसुले तिनलाई भने: “यस सेवकको लागि प्रभुको आज्ञा के छ?” १५ यहोवा परमेश्वरको सेनाको राजकुमारले यहोसुलाई भने: “तिम्रो जुत्ता फुकाल किनकि तिमी उभिरहेको ठाउँ पवित्र छ।” यो सुन्नेबित्तिकै यहोसुले जुत्ता फुकाले।+