भजनसङ्ग्रह
दाउदको रचना
२८ हे यहोवा, हे मेरा चट्टान,+ म तपाईँलाई पुकारिरहन्छु;
आफ्नो कान नथुन्नुहोस्।
यदि तपाईँ चुप रहनुभयो भने
मेरो हालत चिहानमा हुनेहरूको भन्दा के फरक हुन्छ र?+
२ मैले तपाईँलाई मदतको लागि पुकार्दा
र तपाईँको पवित्र स्थानको* भित्री कोठातिर फर्केर आफ्नो हात उठाउँदा मेरो बिन्ती सुन्नुहोस्।+
३ दुष्टहरूलाई घिस्याउँदै लैजानुहुँदा मलाई पनि तिनीहरू सँगसँगै नलैजानुहोस्+ किनकि तिनीहरू सधैँ छिमेकीलाई चोट पुऱ्याउने कामहरू गर्छन्
अनि मनमा दुष्ट कुराहरू पालेर मुखले भने शान्तिका कुराहरू गर्छन्।+
४ तिनीहरूलाई तिनीहरूको कामअनुसारको ज्याला दिनुहोस्,+
आफ्नो दुष्कर्मको फल तिनीहरूले पाऊन्।
तिनीहरूको हातको कामको प्रतिफल तिनीहरूलाई दिनुहोस्,
तिनीहरूले जसो गरे, तिनीहरूलाई त्यसै गर्नुहोस्।+
५ तिनीहरू यहोवाका कामहरूको वास्ता गर्दैनन्,+
उहाँको हातका कामहरूमा तिनीहरूले ध्यान दिँदैनन्।+
उहाँले तिनीहरूलाई ढाल्नुहुन्छ र फेरि खडा गर्नुहुन्न।
६ यहोवाको प्रशंसा होस्
किनकि उहाँले मेरो गुहार सुन्नुभएको छ।
७ यहोवा मेरो बल+ र मेरो ढाल हुनुहुन्छ;+
मेरो हृदयले उहाँमा भरोसा गर्छ।+
उहाँले मलाई सहायता गर्नुभएको छ र मेरो हृदय खुसीले भरिएको छ,
त्यसैले म गीत गाएर उहाँको प्रशंसा गर्नेछु।
८ यहोवा आफ्ना मानिसहरूको लागि बल हुनुहुन्छ;
उहाँ बलियो गढ हुनुहुन्छ, उहाँले आफ्नो अभिषिक्त जनको उद्धार गर्नुहुन्छ।+