दोस्रो इतिहास
२८ राजा हुँदा आहाज+ २० वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनी आफ्ना पुर्खा दाउदजस्ता भएनन्; तिनले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यो गरेनन्।+ २ बरु तिनी इस्राएलका राजाहरूको चालमा हिँडे+ र धातु पगालेर बाआल देवताहरूको मूर्तिसमेत+ बनाए। ३ साथै तिनले ‘हिन्नोमको छोराको बेँसी’-मा* माथिसम्म धुवाँ उठ्नेगरि बलि* चढाए र आफ्ना छोराहरूलाई आगोमा बलि चढाए।+ यसरी तिनले ती राष्ट्रहरूको घिनलाग्दो रीतिथिति अपनाए,+ जुन राष्ट्रहरूलाई यहोवा परमेश्वरले इस्राएलीहरूको सामुन्नेबाट निकालिदिनुभएको थियो। ४ तिनले अग्ला थानहरूमा,*+ डाँडा-डाँडामा र झ्याम्म परेको हरेक रूखमुनि+ माथिसम्म धुवाँ उठ्नेगरि बलि चढाउन पनि छोडेनन्।
५ त्यसैले तिनका परमेश्वर यहोवाले तिनलाई सिरियाका राजाको हातमा सुम्पिदिनुभयो+ र सिरियालीहरूले तिनलाई हराए। साथै उनीहरूले थुप्रै मानिसलाई बन्दी बनाएर दमिसक लगे।+ परमेश्वरले तिनलाई इस्राएलका राजाको हातमा पनि सुम्पिदिनुभयो, जसले तिनको इलाकामा आएर निकै मारकाट मच्चाए। ६ रमल्याहका छोरा पेकहले+ यहुदामा एकै दिनमा १ लाख २० हजार शूरवीर पुरुषलाई मारे किनकि तिनीहरूले आफ्ना पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए।+ ७ एक जना एप्रैमी योद्धा जिक्रिले राजाका छोरा मासेयाहलाई मारे। उनले महलको रेखदेख गर्ने अज्रिकाम र राजापछिको ओहदामा भएका एल्कानालाई पनि मारे। ८ साथै इस्राएलीहरूले यहुदाका आफ्ना २ लाख दाजुभाइलाई बन्दी बनाएर लगे। त्यसमा स्त्री र केटाकेटी पनि थिए। उनीहरूले टन्नै मालसामान लुटे र सामरिया लगे।+
९ त्यहाँ ओदेद नाम गरेको यहोवा परमेश्वरका एक जना भविष्यवक्ता थिए। उनी सामरिया फर्कँदै गरेको सेनासामु गए र उनीहरूलाई यसो भने: “हेर, तिमीहरूको पितापुर्खाका परमेश्वर यहोवाको क्रोध यहुदामाथि परेकोले उहाँले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभयो।+ तिमीहरूले निर्ममतासाथ तिनीहरूको हत्या गऱ्यौ; तिमीहरूको क्रोध स्वर्गसम्मै पुगेको छ। १० अब तिमीहरू यहुदा र यरुसलेमका यी मानिसहरूलाई आफ्ना दासदासी बनाउन खोज्दै छौ।+ तर के तिमीहरू पनि आफ्ना परमेश्वर यहोवासामु दोषी छैनौ र? ११ त्यसैले मेरो कुरा सुन अनि तिमीहरूले आफ्ना दाजुभाइको माझबाट बन्दी बनाएर ल्याएका यी मानिसहरूलाई फर्काइदेओ किनकि यहोवा परमेश्वरको रिसको आगो तिमीहरूविरुद्ध दन्केको छ।”
१२ तब एप्रैमीहरूका केही नाइकेहरू अर्थात् यहोहानानका छोरा अजर्याह, मेसिल्लेमोथका छोरा बरक्याह, साल्लुमका छोरा यहिजक्याह र हाद्लैका छोरा अमासा लडाइँबाट फर्केको सेनासामु खडा भए। १३ अनि यसो भने: “तिमीहरूले बन्दी बनाएर ल्याएका मानिसहरूलाई यहाँ नल्याओ नत्र त हामी यहोवा परमेश्वरसामु दोषी ठहरिनेछौँ। तिमीहरूले जे गर्ने विचार गरेका छौ, त्यसले हाम्रो पापमाथि पाप र दोषमाथि दोष थप्नेछ किनकि हामी पहिल्यै निकै दोषी छौँ अनि इस्राएलमाथि परमेश्वरको क्रोध दन्केको छ।” १४ त्यसैले ती सशस्त्र सैनिकहरूले बन्दी बनाएर ल्याइएका मानिसहरू र लुटको माल+ अगुवाहरू र सारा समुदायको हातमा सुम्पिदिए। १५ अनि नामै तोकेर चुनिएका मानिसहरूले बन्दी बनाएर ल्याइएका ती मानिसहरूको जिम्मा लिए। ती मानिसहरूमध्ये जोसित लाउने लुगा थिएन, उनीहरूको लागि तिनीहरूले लुटको मालबाट लुगाहरू दिए। साथै लाउनको लागि जुत्ता दिए, खाने र पिउने कुरा दिए अनि शरीरमा दल्न तेल पनि दिए। साथै जो-जो कमजोर थिए, उनीहरूलाई गधामा चढाएर खजुरका बोटहरूको सहर यरिहोमा उनीहरूका दाजुभाइकहाँ पुऱ्याइदिए। त्यसपछि तिनीहरू सामरिया फर्के।
१६ त्यही समयतिर राजा आहाजले अस्सेरियाका राजाहरूसित मदत मागे।+ १७ अनि फेरि एक पटक एदोमीहरूले यहुदामा आक्रमण गरे र त्यहाँका मानिसहरूलाई बन्दी बनाएर लगे। १८ पलिस्तियालीहरूले+ पनि यहुदाको सेफेलाह+ र नेगेब इलाकाका सहरहरूमा आक्रमण गरे अनि यी सहरहरू कब्जा गरे: बेथ-सेमेस,+ ऐय्यालोन,+ गेदेरोथ, सोको र त्यसवरपरका सहरहरू, तिम्नाह+ र त्यसवरपरका सहरहरू अनि गिम्जो र त्यसवरपरका सहरहरू। त्यसपछि उनीहरू ती सहरहरूमा बसोबास गर्न थाले। १९ इस्राएलका राजा आहाजले गर्दा यहोवा परमेश्वरले यहुदालाई अपमानित तुल्याउनुभएको थियो किनभने आहाजले यहुदाका मानिसहरूलाई खराब काम गर्न छुट दिएका थिए, जसले गर्दा मानिसहरू यहोवा परमेश्वरप्रति साह्रै विश्वासघाती भएका थिए।
२० आखिरमा अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरले+ पनि आहाजलाई आक्रमण गरे र तिनलाई मदत गर्नुको साटो कष्ट दिए।+ २१ आहाजले यहोवा परमेश्वरको भवन, आफ्नो महल+ र भारदारहरूका घरहरू रित्याएर त्यहाँ भएका सबथोक अस्सेरियाका राजालाई उपहारस्वरूप दिएका थिए तर केही फाइदा भएन। २२ अनि कष्टमा पर्दा राजा आहाजले यहोवा परमेश्वरलाई झनै विश्वासघात गरे। २३ तिनले दमिसकका देवताहरूको निम्ति बलि चढाउन थाले,+ जसका उपासकहरूले तिनलाई लडाइँमा हराएका थिए।+ तिनले यसो भने: “सिरियाका राजाहरूलाई तिनीहरूका देवताहरूले मदत गरिरहेका छन्, त्यसैले म पनि ती देवताहरूको निम्ति बलि चढाउँछु र ती देवताहरूले मलाई पनि मदत गर्नेछन्।”+ तर ती देवताहरूले गर्दा तिनको र पूरै इस्राएलको पतन भयो। २४ साथै आहाजले साँचो परमेश्वरको भवनका भाँडाकुँडा जम्मा गरे र त्यसलाई टुक्राटुक्रा पारे।+ तिनले यहोवा परमेश्वरको भवनका ढोकाहरू बन्द गरे+ अनि यरुसलेमको कुनाकुनामा आफ्नो निम्ति वेदीहरू बनाए। २५ तिनले अरू देवीदेवताको निम्ति माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाउन यहुदाका सबै सहरमा अग्ला थानहरू बनाए।+ यसरी तिनले आफ्नो पितापुर्खाका परमेश्वर यहोवालाई रिस उठाए।
२६ आहाजको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै कामको विवरण ‘यहुदा र इस्राएलका राजाहरूको पुस्तक’-मा लेखिएका छन्।+ २७ आहाज आफ्ना पितृहरूसितै सुते र तिनलाई यरुसलेम सहरमा गाडियो। तिनलाई इस्राएलका राजाहरूको चिहानमा गाडिएन।+ तिनीपछि तिनका छोरा हिजकियाह राजा भए।