दोस्रो इतिहास
२२ त्यसपछि यरुसलेमका बासिन्दाहरूले यहोरामका कान्छा छोरा आहाज्याहलाई तिनको ठाउँमा राजा बनाए। किनकि अरबीहरूसित आएको लुटेराहरूको दलले आहाज्याहका सबै दाइलाई मारेको थियो।+ त्यसैले यहोरामका छोरा आहाज्याहले यहुदामा शासन गर्न थाले।+ २ राजा हुँदा आहाज्याह २२ वर्षका थिए र उनले यरुसलेममा जम्मा १ वर्ष शासन गरे। उनकी आमाको नाम अथल्याह+ थियो। तिनी ओम्रिकी+ नातिनी* थिइन्।
३ आहाज्याह पनि आहाबको घरानाकै+ चालमा हिँडे किनकि उनकी आमा उनलाई खराब काम गर्न सल्लाह दिन्थिन्। ४ उनले आहाबको घरानाले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। किनकि उनको बुबाको मृत्युपछि आहाबको घरानाका मानिसहरू उनका सल्लाहकार भए। यसै कारणले गर्दा उनको पतन भयो। ५ तिनीहरूको सल्लाह मान्दै उनी सिरियाका राजा हाजाएलसित+ लडाइँ गर्न इस्राएलका राजा आहाबका छोरा यहोरामसित रामोथ-गिलाद+ गए। त्यस युद्धमा धनुर्धारीहरूले यहोरामलाई घाइते बनाइदिए। ६ सिरियाका राजा हाजाएलसित+ लडाइँ गर्न जाँदा रामामा सिरियालीहरूले यहोरामलाई घाइते बनाएको हुनाले तिनी निको हुन यिज्रेल फर्के।+
तब यहोरामका+ छोरा यहुदाका राजा आहाज्याह* आहाबका छोरा यहोरामलाई+ भेट्न यिज्रेल गए किनकि तिनी घाइते* भएका थिए।+ ७ तर यहोरामलाई भेट्न जानु नै आहाज्याहको मृत्युको कारण बन्न पुग्यो; परमेश्वरले नै त्यसो गराउनुभएको थियो। आहाज्याहले यहोरामलाई भेटेपछि उनी र यहोराम निम्सिका नाति येहुलाई+ भेट्न गए। यहोवा परमेश्वरले आहाबको घरानाको नामोनिसान मेटाउन येहुलाई अभिषेक गर्नुभएको थियो।+ ८ आहाबको घरानालाई नाश गर्न थाल्दा येहुले यहुदाका भारदारहरूलाई र आहाज्याहका भतिजाहरू—जो आहाज्याहका मन्त्रीहरू थिए—तिनीहरूलाई पनि देखे र मारिदिए।+ ९ त्यसपछि येहुले आहाज्याहलाई खोजे र तिनका मानिसहरूले आहाज्याहलाई सामरियामा लुकिरहेको भेट्टाए। तिनीहरूले उनलाई पक्रेर येहुकहाँ ल्याए। त्यसपछि तिनीहरूले आहाज्याहलाई मारे। तिनीहरूले उनको लास गाडिदिए+ किनकि तिनीहरूले यसो भने: “ऊ तिनै यहोसापातको नाति हो, जसले आफ्नो सारा हृदयले यहोवा परमेश्वरको खोजी गरेका थिए।”+ आहाज्याहको घरानामा उनीपछि राज्य गर्न सक्ने अरू कोही थिएन।
१० आफ्नो छोरा आहाज्याहको मृत्यु भयो भनेर थाह पाएपछि उनकी आमा अथल्याहले+ यहुदाको राजघरानाका सबै उत्तराधिकारीको हत्या गरिन्।+ ११ तर राजकुमारी यहोसेबाले आहाज्याहका छोरा यहोआसलाई+ बचाइन्। अथल्याहले हत्या गर्न लागेका राजकुमारहरूको बीचबाट उनले यहोआसलाई सुटुक्क उठाएर लगिन् अनि यहोआस र तिनकी धाईआमालाई सुत्ने कोठामा लगेर लुकाइन्। राजा यहोरामकी+ छोरी यहोसेबाले (उनी पुजारी यहोयादाकी पत्नी+ र आहाज्याहकी बहिनी थिइन्) यहोआसलाई अथल्याहबाट जसोतसो लुकाएर राखिन्; त्यसैले तिनी मारिएनन्।+ १२ तिनलाई छ वर्षसम्म साँचो परमेश्वरको भवनमा लुकाएर राखियो। त्यस दौडान यहुदामा अथल्याहले शासन गरिन्।