दोस्रो इतिहास
२३ सातौँ वर्षमा यहोयादाले साहसी हुँदै एउटा कदम चाले। तिनले सय-सय जनाका कप्तानहरूसित+ सम्झौता* गरे। ती कप्तानहरू यी थिए: यरोहामका छोरा अजर्याह, यहोहानानका छोरा इस्माएल, ओबेदका छोरा अजर्याह, आदायाहका छोरा मासेयाह र जिक्रिका छोरा एलिसापात। २ त्यसपछि ती कप्तानहरू यहुदाको चारैतिर गए अनि यहुदाका सबै सहरबाट लेवीहरू+ र इस्राएलमा भएका बुबापट्टिका घरानाहरूका नाइकेहरूलाई एक ठाउँमा भेला गरे। जब उनीहरू यरुसलेम आए, ३ तब पूरै समुदायले साँचो परमेश्वरको भवनमा राजासित करार गऱ्यो।+ त्यसपछि यहोयादाले उनीहरूलाई भने:
“हेर! यहोवा परमेश्वरले दाउदका सन्तानबारे गर्नुभएको प्रतिज्ञाअनुसारै यस देशमा राजाका छोराले नै शासन गर्नेछन्।+ ४ तिमीहरूले यसो गर्नू: विश्रामदिनमा* काममा आउनुपर्ने पुजारी र लेवीहरूमध्ये एक तिहाइले ढोकेको काम गर्नू;+ ५ अर्को एक तिहाइ राजमहलमा तैनाथ हुनू+ अनि बाँकी एक तिहाइचाहिँ जग-ढोकामा तैनाथ हुनू। अरू सबै मानिसचाहिँ यहोवा परमेश्वरको भवनका चोकहरूमा हुनेछन्।+ ६ यहोवा परमेश्वरको भवनमा सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई पनि भवनमा छिर्न नदिनू।+ ती पुजारीहरू र लेवीहरूलाई चाहिँ भवनमा छिर्न दिनू किनकि तिनीहरू पवित्र दल हुन्। अरू सबै मानिसले चाहिँ बाहिरै बसेर यहोवा परमेश्वरप्रतिको आफ्नो कर्तव्य पूरा गर्नेछन्। ७ लेवीहरू आ-आफ्नो हातमा हतियार बोकेर राजाको वरिपरि तैनाथ रहून्। यदि कोही भवनभित्र छिर्न खोज्यो भने उसलाई मार्नू। राजा जहाँ-जहाँ जानुहुन्छ, तिमीहरू पनि त्यहाँ-त्यहाँ उहाँसँगै जानू।”
८ ती लेवीहरू र यहुदाका सबै मानिसले पुजारी यहोयादाको आदेशबमोजिमै गरे। तिनीहरू सबैले आफ्नो दलमा भएकाहरूलाई लिए। तिनीहरूले विश्रामदिनमा काम गर्ने पालो भएका र नभएका सबैलाई लिए।+ किनकि पुजारी यहोयादाले कुनै पनि दललाई कामबाट छुट्टी दिएका थिएनन्।+ ९ त्यसपछि पुजारी यहोयादाले सय-सय जनाका कप्तानहरूलाई+ साँचो परमेश्वरको भवनमा राखिएका+ भालाहरू, साना ढालहरू* र गोलाकार ढालहरू दिए।+ यी हतियारहरू राजा दाउदका थिए। १० तिनले सबै मानिसलाई आफ्नो हातमा हतियार लिएर आ-आफ्नो ठाउँमा तैनाथ हुन लगाए। तिनीहरू भवनको दायाँ कुनादेखि बायाँ कुनासम्मै थिए। तिनीहरू वेदीको र भवनको नजिकै—राजाको चारैतिर तैनाथ भए। ११ त्यसपछि तिनीहरूले राजकुमारलाई बाहिर ल्याए+ अनि तिनको शिरमा मुकुट लगाइदिए र त्यसमाथि साक्षी-पत्र*+ पनि राखिदिए। अनि यहोयादा र तिनका छोराहरूले उनलाई राजा अभिषेक गरे। तिनीहरूले यसो भने: “राजा दीर्घायु होऊन्!”+
१२ मानिसहरू दौडिरहेको र राजाको जयजयकार गरिरहेको आवाज सुन्नेबित्तिकै अथल्याह यहोवा परमेश्वरको भवनमा गइन्। त्यहाँ मानिसहरू भेला भएका थिए।+ १३ त्यहाँ उनले राजालाई भवनको प्रवेशद्वारमा, खम्बाको छेउमा उभिरहेको देखिन्। राजासँगै भारदारहरू+ र बिगुल फुक्नेहरू पनि उभिरहेका थिए। त्यहाँ देशका सबै मानिस बिगुल फुकेर खुसीयाली मनाइरहेका थिए।+ अनि गायकहरूचाहिँ बाजा बजाउँदै खुसीयाली मनाउनमा अगुवाइ लिइरहेका थिए। यो देख्नेबित्तिकै अथल्याहले आफ्नो लुगा च्यातिन् र यसो भन्दै चिच्याइन्: “यो त धोका भयो, धोका!” १४ तब पुजारी यहोयादाले सय-सय जना सैनिकका ती कप्तानहरूलाई बाहिर पठाए र तिनीहरूलाई यस्तो आदेश दिए: “यस आइमाईलाई सैनिकहरूको घेराबाट बाहिर निकाल! कोही उसको पछिपछि गयो भने त्यसलाई तरबारले मार!” किनकि पुजारीले यसो भनेका थिए: “उसलाई यहोवा परमेश्वरको भवनमा नमार्नू।” १५ त्यसैले तिनीहरूले उनलाई पक्रेर लगे अनि राजमहलको घोडा-ढोकामा पुग्नेबित्तिकै उनलाई मारे।
१६ त्यसपछि यहोयादाले आफू, राजा र सबै मानिसबीच करार गरे, जुन करारअनुसार उनीहरू सधैँ यहोवा परमेश्वरको प्रजा रहनुपर्थ्यो।+ १७ त्यसपछि सबै मानिस बाआलको मन्दिरमा आए र त्यो मन्दिर भत्काइदिए।+ तिनीहरूले त्यसका वेदीहरू र मूर्तिहरू धुलोपिठो पारिदिए+ अनि बाआलका पुजारी मत्तानलाई चाहिँ वेदीहरूकै अगाडि मारिदिए।+ १८ त्यसपछि यहोयादाले यहोवा परमेश्वरको भवनको निगरानी गर्ने जिम्मा पुजारीहरू र लेवीहरूलाई सुम्पिदिए। दाउदले उनीहरूलाई भिन्नाभिन्नै दलमा विभाजन गरेका थिए। उनीहरूले मोसाको व्यवस्थामा लेखिएअनुसारै+ यहोवा परमेश्वरको भवनमा यहोवाको निम्ति अग्निभेटी चढाउने थिए+ अनि दाउदको निर्देशनअनुसारै स्तुतिगान गाउने थिए र खुसीयाली मनाउने थिए। १९ कुनै पनि कारणले अशुद्ध भएका मानिसहरू यहोवा परमेश्वरको भवनमा छिर्न नपाऊन् भनेर यहोयादाले भवनका ढोकाहरूमा ढोकेहरू पनि खटाए।+ २० साथै तिनले सय-सय जनाका कप्तानहरू,+ प्रतिष्ठित व्यक्तिहरू, मानिसहरूका शासकहरू र देशका सबै मानिसलाई लिए अनि उनीहरूले राजालाई यहोवा परमेश्वरको भवनबाट बाहिर लगे। उनीहरू माथिल्लो ढोकाबाट राजमहलभित्र पसे अनि राजालाई सिंहासनमा बसाले।+ २१ तब सबै मानिसले खुसीयाली मनाए र सहरमा शान्ति छायो किनकि उनीहरूले अथल्याहलाई तरबारले मारेका थिए।