“उहाँले पत्रिकामा छपाइदिनुभयो”
क्यानाडाकी एक कृतज्ञ केटीले वाच टावर सोसाइटीलाई लेखेको धन्यवाद पत्रमा त्यसो भनिन्। उनले आफ्नो स्कूलको वक्तृत्व प्रतियोगितामा भाग लिएकी थिइन् र उनको प्रस्तुतिबाट प्रभावित भएर निर्णायक मण्डलका एक सदस्यले उनको प्रस्तुति स्थानीय अखबारमा छपाउन उनीसँग अनुमति मागे।
त्यो केटीले आफ्नो विषय कसरी छानिन्? तिनी बताउँछिन्: “मेरो कक्षामा खास गरेर केटीहरूमा अर्काको कुरा काट्ने नराम्रो बानी थियो।” त्यसकारण तिनले ब्यूँझनुहोस्!-मा पढेको जानकारीलाई आफ्नो प्रस्तुतिमा चलाइन्। उनको प्रस्तुतिका केही अंशहरू ओन्टारियो नाएग्रा फल्सको द रिभ्यू नामक स्थानीय अखबारमा “कुरा काट्नु हानिकारक हुनसक्छ; तपाईंलाई कस्तो लाग्छ?” शीर्षकअन्तर्गत प्रकाशित भयो।
यसमा त्यस्तो के थियो र, जसले गर्दा निर्णायक मण्डलका उक्त सदस्य त्यत्तिको प्रभावित भए? त्यस केटीको प्रस्तुतिका केही अंशहरू ध्यान दिनुहोस्: “आजको समाजमा कुरा काट्नु सामान्य मानिन्छ। तर यसले धेरै झमेला उठाउनसक्छ, रातभरि निद्रा नआउनसक्छ र सबैभन्दा बढी त चित्त दुखाउँछ। . . .
“कुरा गर्नु भनेको मान्छेको स्वभावै भएकोले अरूको कुरा नकाटी बस्नु त गाह्रै छ। हामीले यसलाई कम भने गर्नसक्छौं। यस सम्बन्धमा केही व्यवहारिक सल्लाहहरू हुन्: १. आगोमा घ्यू नथप्नुहोस्। २. कुरा काट्दा ध्यान नदिनुहोस्। . . . कुरा काटेको सुन्नुभयो भने त्यसमा तपाईंले पनि सही थापेको जस्तो देखिन्छ। ३. अरूलाई बिगार्ने कुरा गर्दा तपाईं पनि फटाहामध्येमा गनिनुहुन्छ। ४. यीमध्ये सबैभन्दा महत्त्वपूर्ण सल्लाह हो, सोचेर मात्रै बोल्नुहोस्! आफैलाई सोध्नुहोस्, ‘मेरोबारेमा कसैले यस्तो कुरा गऱ्यो भने म के भन्ठान्छु होला?’ ”
अन्तमा त्यस केटीले भनिन्, “यी चार तरिका व्यवहारमा उतार्नुहोस्, यसो गर्नुभयो भने तपाईं असल व्यक्ति बन्नुहुनेछ।”
स्कूलका युवाहरूलाई मात्र होइन, सबैका लागि कत्ति व्यवहारिक सल्लाह! ब्यूँझनुहोस्!-ले विभिन्न विषयहरूमा समयअनुसारको र ताजा जानकारी प्रस्तुत गर्ने जमर्को गर्छ। यदि तपाईं पनि यो पत्रिका नियमित रूपमा पढ्न चाहनुहुन्छ भने, अर्को पटक यहोवाका साक्षीलाई भेट्नुहुँदा त्यसको प्रति माग्नुहोस् अथवा पृष्ठ ५ मा दिइएको तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्।