मुटु शल्यचिकित्सकद्वारा ब्यूँझनुहोस्!-लाई बधाई ज्ञापन
जनवरी ८, १९९७, ब्यूँझनुहोस्! अंकमा “हृदयघात—त्यसबाट जोगिन के गर्न सकिन्छ?” श्रृंखला प्रकाशित गरिएको थियो। जर्मनीमा मुटु प्रत्यारोपणका प्रमुख शल्यचिकित्सकहरूमध्ये एक मानिने तथा घाँटी, मुटु र भास्कुलर शल्यचिकित्सा क्लिनिकका निर्देशक डा. थोमस स्टागमानले ती लेखहरू पढेर प्रकाशकहरूलाई यसप्रकार लेखे:
“मुटुसम्बन्धी रोगहरू र अझ विशेषगरि हृदयघातबारे तपाईंहरूको लेख मैले बडो चासो दिएर पढें। यस क्षेत्रका विशेषज्ञ भएको नाताले तपाईंहरूले हृदयघात र यससित सम्बन्धित रोगहरूबारे दिनुभएको जानकारीहरू अत्यन्तै सटीक थिए भनेर प्रशंसा नगरी रहन सक्दिनँ। तपाईंहरूले मुटुसम्बन्धी रोग भएका व्यक्तिहरूप्रति समझदारी देखाउनुका साथै चिकित्सासम्बन्धी तथ्य विवरणहरू पनि प्रस्तुत गर्नुभयो। ती विवरणहरू जानकारीमूलक हुनुका साथै सही थिए। हृदयघातका लक्षणहरूलाई पहिल्यै चिन्ने कुरामा विशेष जोड दिनुभएको पनि अत्यन्तै उल्लेखनीय छ।
“चिकित्सा विज्ञान र साधारणतया समाजले नै धमनीसूज र विशेषगरि हृदयघात कम गर्न ठोस पाइला चाले तापनि पश्चिमी मुलुकहरूमा मृत्युको मुख्य कारणहरूमध्ये एक हृदयघात हो। दिनहुँ मेरो कामै हृद्धमनीसम्बन्धी गम्भीर समस्याहरूलाई (धमनी कडा हुने, खुम्चिने र धमनीमा रगत नबग्नु) उपचार गर्नु र विभिन्न उपकरणहरूद्वारा मुटुको शल्यचिकित्सा गर्नु हो। एक शल्यचिकित्सक भएको नाताले सही तथ्यहरू जनता तथा सम्भाव्य बिरामीसमक्ष प्रस्तुत गर्नु कत्तिको महत्त्वपूर्ण छ भनी मलाई राम्ररी थाह छ।
“यी विषयहरूबारे अत्यन्तै राम्रोसित वर्णन गर्नुभएकोले म तपाईंहरूलाई बधाई दिन चाहन्छु। आशा छ, तपाईंका यी लेखहरू सकेसम्म धेरै मानिसहरूले पढ्न पाउनेछन्।”
ब्यूँझनुहोस्! नियमित तवरमा पढ्न वा निश्शुल्क बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने कृपया Praharidurg Prakashan Society, Plot A/35, Nr Industrial Estate, Nangargaon, Lonavla 410 401, Mah., India, वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्।