प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr chap. ३५ pp. १८२-१८६
  • हामी मृत्युबाट ब्यूँतन सक्छौं!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी मृत्युबाट ब्यूँतन सक्छौं!
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • येशू मरेकाहरूलाई बिउँताउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • सानी केटी फेरि जीवित हुन्छे!
    येसु—बाटो, सत्य र जीवन
  • आँसुहरू ठूलो हर्षमा परिणत्‌ भए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • आँसु ठूलो हर्षमा परिणत भयो
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr chap. ३५ pp. १८२-१८६

अध्याय ३५

हामी मृत्युबाट ब्यूँतन सक्छौं!

हामी मऱ्‍यौं भने के परमेश्‍वर हामीलाई पुनर्जीवित पार्न अर्थात्‌ फेरि जीवन दिन इच्छा गर्नुहुन्छ होला?—उहाँ इच्छा गर्नुहुन्छ भनेर अय्यूब नामका असल मानिस विश्‍वास गर्थे। त्यसैले आफू मर्नै आँटेझैं लाग्दा तिनले परमेश्‍वरलाई यसो भने: “तपाईंले मलाई बोलाउनुहुनेछ। म तपाईंको जवाफ दिनेछु।” यहोवा परमेश्‍वर ‘मलाई पुनर्जीवित पार्न एकदमै इच्छा गर्नुहुन्छ अथवा एकदमै आतुर हुनुहुन्छ’ भनेर तिनले बताए।—अय्यूब १४:१४, १५.

येशू आफ्नो बुबा यहोवा परमेश्‍वरजस्तै हुनुहुन्छ। उहाँ हामीलाई मदत गर्न इच्छा गर्नुहुन्छ। कुष्ठरोग लागेको एक जना मानिसले येशूलाई यसो भन्यो: “यदि तपाईंसित इच्छा मात्र छ भने पनि मलाई शुद्ध पार्न सक्नुहुन्छ।” त्यसको जवाफमा येशूले यसो भन्‍नुभयो: “मसित इच्छा छ।” अनि उहाँले त्यस मानिसको कुष्ठरोग निको पार्नुभयो।—मर्कूस १:४०-४२.

केटाकेटीलाई माया गर्न येशूले आफ्नो बुबाबाट सिक्नुभयो। धेरैअघिको कुरा हो, यहोवाले आफ्ना सेवकहरूलाई प्रयोग गरेर दुई पटक साना केटाकेटीलाई पुनर्जीवित पार्नुभयो। एलियाले आफ्नो अतिथिसत्कार गर्ने आइमाईको छोरालाई पुनर्जीवित पार्न यहोवालाई बिन्ती गरे। अनि यहोवाले त्यस केटोलाई पुनर्जीवित पार्नुभयो। यहोवाले आफ्नो सेवक एलिशालाई पनि एउटा सानो केटोलाई पुनर्जीवित पार्न प्रयोग गर्नुभयो।—१ राजा १७:१७-२४; २ राजा ४:३२-३७.

स-साना केटाकेटीलाई माया गर्नुहुन्छ भनेर यहोवाले कसरी देखाउनुभयो?

यहोवा हामीलाई यत्ति धेरै माया गर्नुहुन्छ भनेर थाह पाउनु कत्ति खुसीको कुरा हो नि, होइन र?—जीवित छँदा मात्र उहाँ हामीबारे सोच्नुहुन्‍न। केही गरी मऱ्‍यौं भने पनि उहाँ हाम्रो सम्झना गर्नुहुन्छ। यहोवाले माया गरेको मानिस मऱ्‍यो नै भने पनि उहाँ तिनलाई जीवित सम्झनुहुन्छ भनी छोरा येशूले भन्‍नुभयो। (लूका २०:३८) बाइबल बताउँछ: ‘न मृत्युले, न जीवनले, न अहिले यहाँ भएका न त पछि आउने कुराहरूले परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न सक्नेछ।’—रोमी ८:३८, ३९.

यहोवा साना केटाकेटीको ख्याल राख्नुहुन्छ भनी येशूले पृथ्वीमा हुँदा देखाउनुभयो। तिमीलाई सम्झना छ होला, येशूले केटाकेटीलाई परमेश्‍वरबारे बताउन समय निकाल्नुभयो। मरेका साना केटाकेटीलाई पुनर्जीवित पार्न परमेश्‍वरले येशूलाई शक्‍ति दिनुभएको थियो भनेर पनि तिमीलाई याद छ होला, होइन?—अब हामी, याइरसकी १२ वर्षीया छोरीलाई येशूले पुनर्जीवित पार्नुभएको समयबारे कुरा गरौं है!

याइरस आफ्नी श्रीमती र एक्ली छोरीसित गालील समुद्र नजिकै बस्छन्‌। एक दिन तिनकी सानी छोरी धेरै बिरामी पर्छे र उसको बाँच्ने आशा नै छैन भनेर याइरसले थाह पाउँछन्‌। सबैलाई प्रभाव पारिरहेका व्यक्‍ति येशूबारे तिनी सोच्न थाल्छन्‌। किनभने उहाँले बिरामीहरूलाई निको पार्न सक्नुहुन्छ भनेर तिनले सुनेका छन्‌। त्यसैले याइरस उहाँलाई खोज्न जान्छन्‌। तिनले येशूलाई गालील समुद्रको किनारमा मानिसहरूलाई सिकाइरहेको भेट्टाउँछन्‌।

याइरस भीडलाई छिचोल्दै येशूको पाउ पर्छन्‌। तिनी येशूलाई भन्छन्‌: ‘मेरी सानी छोरी एकदमै बिरामी परेकी छे। बिन्ती छ, तपाईं आउनुहोस्‌ अनि उसलाई मदत गर्नुहोस्‌।’ येशू तुरुन्तै याइरससित जानुहुन्छ। महान्‌ शिक्षकलाई हेर्न आएको भीड पनि उहाँको पछि-पछि लाग्छ। तर केही पर पुगिसकेपछि याइरसको घरबाट केही मानिसले यस्तो खबर ल्याउँछन्‌: “तपाईंकी छोरी मरिसकी! अब गुरुज्यूलाई किन बेकारमा दुःख दिने?”

याइरसलाई ती मानिसहरूले यो कुरा बताइरहेको येशूले सुन्‍नुहुन्छ। आफ्नो एक मात्र सन्तान गुमाउनुपर्दा याइरस कत्ति दुःखी छन्‌ भनेर उहाँलाई थाह छ। त्यसैले उहाँ यसो भन्‍नुहुन्छ: ‘चिन्ता नगर, परमेश्‍वरमा विश्‍वास मात्र गर अनि ऊ बाँच्नेछे।’ येशू बीच बाटोबाटै फर्कनुहुन्‍न। उहाँ तिनीहरूको साथमा याइरसको घरसम्मै जानुहुन्छ। त्यहाँ तिनका साथीभाइहरू रोइरहेका छन्‌। आफ्नो सानी साथी मरेको कारण तिनीहरू दुःखी छन्‌। तर येशू तिनीहरूलाई यसो भन्‍नुहुन्छ: ‘रुन छोड, किनकि यो सानी केटी मरेकी छैन तर निदाइरहेकी छे।’

यो सुनेर त्यहाँका मानिसहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाल्छन्‌ किनकि त्यो केटी मरिसकी भनेर तिनीहरूलाई थाह छ। त्यसो भए त्यो केटी निदाइरहेकी छे भनेर येशूले किन भन्‍नुभयो?—येशू मानिसहरूलाई के पाठ सिकाउन चाहनुहुन्छ?—मृत्यु गहिरो निद्राजस्तै हो भनेर तिनीहरूले थाह पाएको येशू चाहनुहुन्छ। सुतिरहेको मानिसलाई हामीले सजिलै उठाउन सक्छौं। त्यसैगरि परमेश्‍वरको शक्‍ति पाएर येशूले पनि मरेको मानिसलाई सजिलै ब्यूँताउन सक्नुहुन्छ भनेर तिनीहरूले थाह पाएको उहाँ चाहनुहुन्छ।

याइरसकी छोरीलाई येशूले पुनर्जीवित पार्नुभएको घटनाबाट हामी के सिक्न सक्छौं?

येशूले पत्रुस, याकूब र यूहन्‍ना अनि केटीका आमाबाबुबाहेक अरू सबैलाई घरबाहिर पठाउनुहुन्छ। त्यसपछि उहाँ त्यो सानी केटी भएको ठाउँमा जानुहुन्छ। उसको हात समातेर उहाँ यसो भन्‍नुहुन्छ: ‘ए ठिटी, उठ!’ तब ऊ उत्तिखेरै जुरुक्क उठ्‌छे र हिंडडुल गर्न थाल्छे! यो देखेर उसका आमाबाबुको खुसीको सीमा रहँदैन।—मर्कूस ५:२१-२४, ३५-४३; लूका ८:४०-४२, ४९-५६.

अब यसबारे एकछिन सोच त! येशूले त्यो सानी केटीलाई पुनर्जीवित पार्न सक्नुभयो भने के अरूलाई पनि पुनर्जीवित पार्न सक्नुहुन्‍न होला त?—के उहाँले साँच्चै त्यसो गर्नुहोला त?—अवश्‍य गर्नुहुनेछ। येशू आफैले यसो भन्‍नुभयो: “बेला आउँदैछ, जब चिहानमा हुनेहरू सबैले [मेरो] सोर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।”—यूहन्‍ना ५:२८, २९.

के येशू मानिसहरूलाई पुनर्जीवित पार्न इच्छा गर्नुहुन्छ?—बाइबलमा दिइएको अर्को एउटा उदाहरणले त्यसको जवाफ दिन्छ। नाइन सहरनजिकै भएको घटनाले मानिस मर्दा शोक मनाइरहेकाहरूबारे येशू कस्तो महसुस गर्नुहुन्छ भनेर स्पष्ट पार्छ।

एउटी आइमाईको छोराको लास लगिंदै गर्दा तिनको साथमा नाइन सहरको एउटा ठूलो भीड पनि थियो। केही समयअघि तिनले आफ्नो श्रीमान्‌ गुमाएकी थिइन्‌ र अहिले आफ्नो एक्लो सन्तान पनि गुमाइन्‌। तिनी धेरै दुःखी छिन्‌। नाइन सहरका धेरैजसो मानिस तिनको छोराको लास सहरबाहिर लगिंदा पछि-पछि आइरहेका छन्‌। ती आइमाई रुँदैछिन्‌ र त्यहाँका मानिसहरूले तिनलाई सान्त्वना दिन केही गर्न सकिरहेका छैनन्‌।

त्यो दिन येशू र उहाँका चेलाहरू नाइन सहरतिर जाँदै हुनुहुन्थ्यो। सहरको मूलढोका नजिक पुग्दा उहाँहरू ती आइमाईको छोराको लास गाड्‌न लगिरहेको भीडलाई भेट्‌नुहुन्छ। रोइरहेकी ती आइमाईलाई देखेर येशू दयाले भरिनुहुन्छ। तिनी अत्यन्तै दुःखी भएको देखेर येशूको मन छुन्छ। उहाँ तिनको मदत गर्ने इच्छा गर्नुहुन्छ।

त्यसैले उहाँले दयालु भई तर तिनको ध्यान खिच्ने गरी दृढतासाथ यसो भन्‍नुहुन्छ: “नरोऊ।” उहाँको यस्तो बोली अनि व्यवहार देखेर सबैले उहाँलाई उत्सुकता साथ हेर्छन्‌। उहाँ लास नजिक जानुहुन्छ र त्यसलाई छुनुहुन्छ। उहाँले के गर्न लाग्नुभएको होला भनी त्यतिबेला सबै छक्क परेको हुनुपर्छ। येशूले ती आइमाईको छोरालाई यस्तो आज्ञा गर्नुहुन्छ: “ए युवक, म तिमीलाई भन्छु, उठ!” तब उनी तुरुन्तै उठेर बस्छन्‌! अनि बोल्न थाल्छन्‌।—लूका ७:११-१७.

ती आइमाईलाई कस्तो लाग्यो होला, कल्पना गर त! आफूले माया गरेको मानिस फेरि जीवित हुँदा तिमीलाई कस्तो लाग्छ?—के यसबाट येशूले मानिसहरूलाई साँचो माया गर्नुहुन्छ र तिनीहरूलाई मदत गर्न इच्छा गर्नुहुन्छ भनेर स्पष्ट हुँदैन र?—परमेश्‍वरको नयाँ संसारमा पुनर्जीवित भएका मानिसहरूलाई स्वागत गर्न पाउँदा कत्ति रमाइलो हुनेछ, सोच त!—२ पत्रुस ३:१३; प्रकाश २१:३, ४.

यी आइमाईको एक मात्र छोराले पुनर्जीवन पाएको कुराबाट हामी के थाह पाउन सक्छौं?

त्यतिबेला पुनर्जीवित हुनेहरूमध्ये कतिपय मानिस तिमीले पहिलेदेखि नै चिनेकाहरू हुनेछन्‌। तिनीहरूमध्ये साना केटाकेटी पनि हुनेछन्‌। येशूले याइरसकी छोरीलाई पुनर्जीवित पार्नुहुँदा तिनले छोरीलाई चिनेझैं हामीले पनि पुनर्जीवित भएकाहरूलाई चिन्‍नेछौं। अरू कतिपयचाहिं सयौं वा हजारौं वर्षअघि मरेकाहरू हुनेछन्‌। तिनीहरू युगौंअघिका भए तापनि परमेश्‍वरले तिनीहरूलाई बिर्सनुहुन्‍न।

यहोवा परमेश्‍वर र उहाँको छोरा येशूले हामीलाई त्यत्ति धेरै माया गर्नुहुन्छ भनेर थाह पाउनु के राम्रो कुरा होइन र?—उहाँहरू हामी केही वर्ष मात्र होइन तर सधैंभरि बाँचोस्‌ भन्‍ने चाहनुहुन्छ!

मरिसकेकाहरूको लागि बाइबलले दिने सुन्दर आशाबारे यी पदहरूमा पढौं है: यशैया २५:८; प्रेषित २४:१५ अनि १ कोरिन्थी १५:२०-२२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने