प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ia pp. २०५-२०८
  • समापन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समापन
  • तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • विश्‍वास—हामीलाई बल दिने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
ia pp. २०५-२०८

समापन

“तिनीहरूको देखासिकी गर्नेहरू होओ, जसले विश्‍वास अनि धैर्य गरेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू हासिल गर्छन्‌।”—हिब्रू ६:१२.

१, २. हामीले आफ्नो विश्‍वास जोगाउनु किन जरुरी छ? उदाहरण दिनुहोस्‌।

विश्‍वास। कत्ति मनै छुने शब्द! कस्तो मनमोहक गुण! तर यो शब्द सुन्‍नेबित्तिकै अर्को एउटा शब्द पनि सोच्नुपर्ने हुन्छ। त्यो हो: “तुरुन्तै!” यदि हामीसँग विश्‍वास छैन भने त्यसलाई तुरुन्तै विकास गर्नुपर्छ। अर्कोतिर विश्‍वास छ भने पनि त्यसलाई तुरुन्तै जोगाउनुपर्छ र बलियो बनाउनुपर्छ। तर किन?

२ कल्पना गर्नुहोस्‌, तपाईं एउटा विशाल मरुभूमि पार गर्दै हुनुहुन्छ। तिर्खाले तपाईं प्याकप्याक हुनुभयो। संयोगवश तपाईंले अलिकति पानी भेट्टाउनुभयो। अब त्यो पानी घामको रापले बाफिएर नजाओस्‌ भनेर तपाईंले त्यसलाई जोगाउनै पर्छ। आफ्नो गन्तव्यमा नपुगुन्जेल पानीको अभाव नहोस्‌ भनेर तपाईंले आफ्नो भाँडोमा पनि त्यो पानी भर्नुपर्छ। आज हामी पनि एक अर्थमा आध्यात्मिक मरुभूमिमा बाँचिरहेका छौं। अहिलेको संसारमा पनि साँचो विश्‍वास भन्‍ने कुरा मरुभूमिको पानीजस्तै पाउनै गाह्रो छ। आफ्नो विश्‍वासलाई जोगाएनौं र त्यसलाई बढाइरहेनौं भने मरुभूमिको पानी तुरुन्तै बाफिएझैं हाम्रो विश्‍वास पनि तुरुन्तै बिलाउनेछ। जसरी पानीविना बाँच्न सकिंदैन, त्यसैगरि विश्‍वासविना पनि आध्यात्मिक रूपमा बाँच्न सकिंदैन।—रोमी १:१७.

३. हाम्रो विश्‍वास बलियो पार्न यहोवाले कस्तो प्रबन्ध गरिदिनुभएको छ? हामीले बिर्सन नहुने दुईवटा कुरा के-के हुन्‌?

३ हामीमा विश्‍वास हुनु कत्तिको जरुरी छ, त्यो कुरा यहोवालाई थाह छ। अहिलेको संसारमा विश्‍वास खेती गर्न र त्यसलाई जोगाएर राख्न कत्ति गाह्रो छ भनेर पनि उहाँलाई थाह छ। त्यसैकारण उहाँले हाम्रो लागि भनेर थुप्रै विश्‍वासी मानिसहरूको उदाहरण बाइबलमा लेख्न लगाउनुभएको छ। यहोवाले प्रेषित पावललाई बाइबलमा यो कुरा लेख्न उत्प्रेरित गर्नुभयो: “तिनीहरूको देखासिकी गर्नेहरू होओ, जसले विश्‍वास अनि धैर्य गरेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू हासिल गर्छन्‌।” (हिब्रू ६:१२) त्यसैले बाइबलमा उल्लेख गरिएका विश्‍वासी पुरुष र स्त्रीहरूको उदाहरण अनुकरण गर्न सक्दो मेहनत गर्नुहोस्‌ भनेर यहोवाको सङ्‌गठनले हामीलाई जोडदार आग्रह गरेको छ। तीमध्ये केही हामीले यस किताबमा चर्चा गऱ्‍यौं। अब हामीले के गर्नुपर्छ? यी दुईवटा कुरा नबिर्सनुहोस्‌: (१) हामीले आफ्नो विश्‍वास बलियो बनाइरहनुपर्छ। (२) हामीले आफ्नो आशालाई मनमा ताजा बनाइराख्नुपर्छ।

४. सैतान किन विश्‍वासको शत्रु हो? तर हामीले किन हरेस खानुपर्दैन?

४ तपाईंको विश्‍वास बलियो बनाइरहनुहोस्‌। विश्‍वासको एउटा खतरनाक शत्रु छ—सैतान। यस संसारको शासक सैतानले संसारलाई मरुभूमिजस्तै बनाइसक्यो, जहाँ विश्‍वासलाई जोगाइराख्न धौधौ पर्छ। सैतान हामीभन्दा कता हो कता शक्‍तिशाली छ। त्यसोभए हामीले विश्‍वास खेती गर्न र त्यसलाई बलियो बनाउन सक्दैनौं भनेर हरेस खानुपर्छ त? पर्दै पर्दैन! यहोवा साँचो विश्‍वासको पछि लाग्नेहरूको साथी हुनुहुन्छ। हाम्रो छेवैमा बसेर मदत गर्नेछु भनेर उहाँले हामीलाई ढुक्क बनाउनुभएको छ। यहोवाको मदतले हामी सैतानको विरोध गर्न सक्छौं; यहाँसम्म कि, सैतान हामीदेखि भाग्नेछ! (याकू. ४:७) सैतानको विरोध गर्ने हो भने हामीले आफ्नो विश्‍वास बलियो बनाउन र यसलाई अझै बढाउन मेहनत गर्नुपर्छ। तर कसरी?

५. बाइबलमा उल्लेख गरिएका विश्‍वासी मानिसहरूले कसरी विश्‍वास खेती गर्न सके?

५ हामीले बुझिसक्यौं, बाइबलमा उल्लेख गरिएका विश्‍वासी मानिसहरू जन्मजातै विश्‍वासी भएका त होइनन्‌। विश्‍वास खेती गर्न यहोवाको पवित्र शक्‍ति चाहिन्छ भनेर तिनीहरूको जीवनले प्रमाणित गर्छ। (गला. ५:२२, २३) तिनीहरूले यहोवासँग मदत मागे। जवाफस्वरूप उहाँले तिनीहरूको विश्‍वास बलियो बनाउन मदत गरिरहनुभयो। हामी पनि त्यसै गरौं। नबिर्सनुहोस्‌, पवित्र शक्‍तिको लागि बिन्ती गर्ने र त्यसअनुसार काम गर्ने व्यक्‍तिलाई यहोवा प्रशस्तगरि आफ्नो पवित्र शक्‍ति दिनुहुन्छ। (लूका ११:१३) हामीले गर्न सक्ने अझै केही छ कि?

६. बाइबलको कुनै विवरण पढ्‌दा हामी कसरी पूरापूर लाभ उठाउन सक्छौं?

६ उल्लेखनीय विश्‍वास भएका केही मानिसहरूबारे हामीले यस किताबमा छलफल गऱ्‍यौं। त्यस्ता मानिसहरू अझै छन्‌, थुप्रै! (हिब्रू ११:३२ पढ्‌नुहोस्‌) बाइबलमा त्यस्ता मानिसहरूबारे पढ्‌दा आफ्नो विश्‍वास बलियो बनाउने केही न केही कुरा तिनीहरूबाट सिक्ने लक्ष्य राख्नुहोस्‌। बाइबल पढ्‌दा पानाहरूमा आँखा दौडाउँदै खरखरती मात्र पढ्‌ने गर्छौं भने हामी आफ्नो विश्‍वासलाई कसरी बलियो बनाउन सक्छौं र? हामीले पढेको कुराबाट पूरापूर लाभ उठाउन सन्दर्भलाई विचार गर्नुपर्छ र पृष्ठभूमिलाई ध्यान दिनुपर्छ। ती विश्‍वासी व्यक्‍तिहरू पनि “हामीजस्तै . . . थिए” भनेर सम्झ्यौं भने तिनीहरूको उदाहरण हामीलाई झनै वास्तविक लाग्छ। (याकू. ५:१७) हामीले जस्तै चुनौतीहरू भोग्दा र हाम्राजस्तै समस्याहरूको सामना गर्दा तिनीहरूलाई कस्तो भयो होला, हामी बुझ्न सक्छौं।

७-९. (क) हामी अहिले जसरी यहोवाको उपासना गरिरहेका छौं, बाइबलमा उल्लेख गरिएका विश्‍वासी मानिसहरूले त्यसैगरि उपासना गर्न पाएका भए तिनीहरू के गर्थे होलान्‌? (ख) हामीले आफ्नो विश्‍वास किन कामद्वारा देखाउनुपर्छ?

७ हाम्रो निर्णय र कामले पनि हाम्रो विश्‍वासलाई बलियो बनाउँछ। हुन पनि “कामविनाको विश्‍वास . . . मरेको हुन्छ।” (याकू. २:२६) यहोवाले हामीलाई अहिले जुन काम सुम्पनुभएको छ, त्यही काम यस किताबमा छलफल गरिएका विश्‍वासी मानिसहरूलाई दिइएको भए तिनीहरू कत्ति रमाउँथे होलान्‌, सोच्नुहोस्‌ त!

८ एकछिन अब्राहामलाई विचार गर्नुहोस्‌। तिनी निर्जन स्थानमा ढुङ्‌गा थुपारेर बनाइएको साधारण वेदीमा यहोवाको उपासना गर्थे। तर अब सङ्‌गठित भएका सङ्‌गी उपासकहरूसँगै राज्यभवनमा र विशाल सम्मेलनहरूमा आएर यहोवाको उपासना गर्न तिनलाई भनियो भने तिनी कत्ति मक्ख पर्थे होलान्‌! तिनलाई गरिएको प्रतिज्ञा तिनले “टाढैबाट देखे।” तर त्यही कुरा सभा, सम्मेलनमा छलफल भएको र त्यसको अर्थ खुलाइएको सुन्दा तिनी कत्ति रमाउँथे होलान्‌! (हिब्रू ११:१३ पढ्‌नुहोस्‌) अब एलियालाई विचार गर्नुहोस्‌। तिनले बाल देवताका दुष्ट भविष्यवक्‍ताहरूलाई न्यायदण्ड सुनाउनुपरेको थियो र धर्मत्यागी राजाले शासन गरिरहेको बेला यहोवाको सेवा गर्नुपरेको थियो। तर त्यसको सट्टा शान्त अवस्थामा मानिसहरूलाई भेटेर सान्त्वना र आशाको सन्देश सुनाउने जिम्मेवारी तिनलाई दिइएको भए तिनी कत्ति खुसी हुँदै त्यो काम गर्थे होलान्‌! हामी अहिले जसरी यहोवाको उपासना गरिरहेका छौं, बाइबलमा उल्लेख गरिएका विश्‍वासी मानिसहरूले त्यसैगरि उपासना गर्न पाएका भए तिनीहरू खुसीले कत्ति गद्‌गद हुने थिए!

९ त्यसैले विश्‍वास कामद्वारा देखाऔं र बलियो बनाऔं। त्यसो गऱ्‍यौं भने परमेश्‍वरको वचनमा उल्लेख गरिएका विश्‍वासी पुरुष र स्त्रीहरूको विश्‍वासको उदाहरण साँच्चै नै अनुकरण गरिरहेका हुनेछौं। यस किताबको परिचयको भागमा बताइएझैं तिनीहरूसँग हामी अझै नजिक भएको महसुस गर्नेछौं—हाम्रो प्यारो साथीजस्तै! त्यस्ता साथीहरूलाई साँच्चै भेट्‌न हामीले अब धेरैबेर कुर्नु पर्दैन।

१०. प्रमोदवनमा हामी कस्तो आनन्द उठाउनेछौं?

१० आफ्नो आशालाई मनमा ताजा बनाइराख्नुहोस्‌। विश्‍वासी पुरुष र स्त्रीहरूले परमेश्‍वरले दिएको आशाले गर्दा बल पाइरहे। तपाईंले नि? ‘परमेश्‍वरको स्तरबमोजिम असल काम गरेका मानिसहरू पुनर्जीवित हुँदा’ तिनीहरूलाई हामी भेट्‌न सक्छौं। (प्रेषि. २४:१५) कल्पना गर्नुहोस्‌ त, त्यतिबेला कत्ति रमाइलो हुनेछ! तपाईं तिनीहरूलाई कस्ता प्रश्‍न सोध्न चाहनुहुन्छ?

११, १२. नयाँ संसारमा यी व्यक्‍तिहरूलाई तपाईं कस्ता प्रश्‍न सोध्न चाहनुहुन्छ: (क) हाबिललाई (ख) नूहलाई (ग) अब्राहामलाई (घ) रूथलाई (ङ) अबीगेललाई (च) एस्तरलाई।

११ हाबिललाई भेटेर तिनका आमाबाबु कस्ता थिए भनेर सोध्न चाहनुहुन्छ कि? अथवा तपाईंलाई यस्तो प्रश्‍न सोध्न मन लाग्ला: “हाबिल, अदनको बगैंचालाई पहरा दिएर बसेका करूबहरूसँग तपाईंले कुरा गर्नुभयो? तिनीहरूले पनि तपाईंसँग कुरा गरे कि?” नूहलाई भेट्‌दा तपाईं के सोध्न चाहनुहुन्छ नि? तपाईं यस्तो प्रश्‍न सोध्नुहोला: “नूह, ती भयङ्‌कर नपीलहरू देख्दा तपाईंलाई डर लागेन? जहाजभित्र त्यत्रो समय बिताउँदा तपाईंले जनावरहरूको रेखदेख कसरी गर्नुभयो?” अब्राहामलाई भेट्‌नुभयो भने यस्तो प्रश्‍न सोध्नुहोस्‌ न: “अब्राहाम, तपाईंले शेमलाई भेट्‌न पाउनुभयो? यहोवाबारे तपाईंलाई कसले सिकायो? ऊर छोड्‌न तपाईंलाई गाह्रो भएन?”

१२ त्यसैगरि पुनर्जीवित भइसकेका विश्‍वासी स्त्रीहरूसँग तपाईंलाई यस्ता प्रश्‍नहरू सोध्न मन लाग्ला: “रूथ, तपाईंले किन यहोवाको सेवा गर्ने निर्णय गर्नुभयो?” “अबीगेल, तपाईंले दाऊदलाई मदत गरेको कुरा नाबाललाई भन्‍न डर लागेन?” “एस्तर, तपाईं र मोर्दकैबारे बाइबलमा लेखिएको घटना सकिएपछि के भयो?”

१३. (क) पुनर्जीवित भएका व्यक्‍तिहरूले तपाईंलाई कस्ता प्रश्‍न सोध्न सक्छन्‌? (ख) पुरातन समयका विश्‍वासी पुरुष र स्त्रीलाई भेट्‌न पाउनेछु भनेर थाह पाउँदा तपाईंलाई कस्तो लागिरहेको छ?

१३ पक्कै पनि ती विश्‍वासी व्यक्‍तिहरूले तपाईंलाई पनि थुप्रै प्रश्‍न सोध्नेछन्‌। अन्तको दिनको अन्तिम चरणमा के-के भयो र त्यस्तो गाह्रो समयमा यहोवाले आफ्ना जनहरूलाई कसरी सँभाल्नुभयो भनेर बताउन पाउँदा कत्ति रमाइलो हुनेछ! यहोवाले आफ्ना सबै प्रतिज्ञाहरू कसरी पूरा गर्नुभयो भनेर थाह पाउँदा तिनीहरू पक्कै पनि हर्षित हुनेछन्‌। बाइबलमा उल्लेख गरिएका परमेश्‍वरका वफादार सेवकहरूबारे त्यो नयाँ संसारमा हामीले कल्पना गर्नुपर्नेछैन। तिनीहरू हाम्रो नजिकै हुनेछन्‌! ती मानिसहरूलाई अहिलेदेखिनै वास्तविक व्यक्‍तिको रूपमा हेर्न सक्दो कोसिस गर्नुहोस्‌। तिनीहरूको विश्‍वास अनुकरण गरिरहनुहोस्‌। आफ्ना ती प्यारा साथीहरूसँगै यहोवाको सेवा गरिरहनुहोस्‌! सदा-सदाको लागि!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने