पाठ २४
तिनीहरूले आफ्नो वाचा तोडे
यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: ‘डाँडामा उक्लेर मकहाँ आऊ। म तिमीलाई मेरा नियमहरू ढुङ्गाका पाटीमा लेखेर दिनेछु।’ मोसा डाँडामा उक्ले अनि ४० दिन र ४० रात त्यहीँ बसे। तिनी त्यहाँ छँदा परमेश्वरले ढुङ्गाका दुई वटा पाटीमा १० आज्ञा लेखेर दिनुभयो।
केही समय बितेपछि इस्राएलीहरूले तिनीहरूलाई मोसाले बिर्सिए भन्ठाने। तिनीहरूले हारुनलाई भने: ‘हामीलाई डोऱ्याउने कोही चाहियो। हाम्रो लागि एउटा देवता बनाइदिनुहोस्।’ हारुनले भने: ‘तिमीहरूको सुन मकहाँ ल्याओ।’ उनले तिनीहरूले ल्याएको सुन गालेर बाछोको मूर्ति बनाए। तिनीहरूले भने: ‘हामीलाई मिश्रबाट छुटाएर ल्याउने हाम्रो देवता यही बाछो हो।’ तिनीहरूले त्यो सुनको बाछोलाई पुज्दै रमाइलो गर्न थाले। के त्यसो गर्नु सही थियो? थिएन! इस्राएलीहरूले यहोवा परमेश्वरको मात्र उपासना गर्ने वाचा गरेका थिए। तर तिनीहरूले आफ्नो वाचा तोडे।
यो देखेपछि उहाँले मोसालाई भन्नुभयो: ‘तल मानिसहरूकहाँ जाऊ। तिनीहरूले मेरो आज्ञा पालन नगरी झूटो देवताको उपासना गरिरहेका छन्।’ मोसा ढुङ्गाका दुई वटा पाटी लिएर डाँडाबाट ओर्ले।
छाउनीनजिकै पुगेपछि मानिसहरूले गाइरहेको मोसाले सुने। तिनीहरूले नाच्दै मूर्तिलाई ढोगिरहेका थिए। यो देखेर मोसा रिसले आगो भए। तिनले ढुङ्गाका दुई वटा पाटी भुईँमा बजारे र ती टुक्राटुक्रा भए। त्यसपछि तिनले तुरुन्तै मूर्तिलाई नष्ट गरिदिए। तिनले हारुनलाई सोधे: ‘तिनीहरूले तपाईँलाई यस्तो घोर पाप गर्न कसरी मनाए?’ हारुनले भने: ‘मसित नरिसाउनुहोस्। यी मानिसहरू कस्ता छन्, तपाईँलाई थाहै छ। तिनीहरू एउटा देवता चाहन्थे, त्यसैले मैले तिनीहरूको सुन आगोमा फालेँ र यो बाछो निस्क्यो।’ हारुनले त्यसो गर्नु हुँदैनथ्यो। मोसा फेरि डाँडामा उक्ले र मानिसहरूलाई क्षमा दिनुहोस् भनेर परमेश्वरलाई बिन्ती गरे।
यहोवा परमेश्वरले आफ्नो आज्ञा मान्न तयार भएकाहरूलाई क्षमा दिनुभयो। इस्राएलीहरूले मोसाको डोऱ्याइ स्विकार्नु कत्ति महत्त्वपूर्ण थियो, के तिमीले बुझ्यौ?
“तिमीले परमेश्वरलाई कुनै भाकल गऱ्यौ भने त्यो पूरा गर्न ढिलो नगर किनकि आफ्नो भाकल पूरा नगर्ने मूर्खहरूसित उहाँ प्रसन्न हुनुहुन्न। त्यसैले जे भाकल गर्छौ, त्यो पूरा गर।”—उपदेशक ५:४