दुष्टात्माहरूमा कसले विश्वास राख्छन्?
अदृश्य आत्माहरूले तपाईंको जीवनमा प्रभाव पार्न सक्छन् भनी के तपाईं विश्वास गर्नुहुन्छ? धेरैले कडा स्वरमा नकारात्मक जवाफ दिन्छन्। तिनीहरू परमेश्वरको अस्तित्वलाई मानी त लिन्छन् तर दुष्ट्याइँको पनि असाधारण मानव कार्यकर्त्ताहरू हुन्छन् भन्ने विचारधारालाई भने हाँसोमा उडाइदिन्छन्।
पश्चिमी संसारमा अदृश्य आत्माहरूप्रति व्यापक अविश्वास हुनुमा मसीहीजगतको पनि केही हात छ। स्वर्ग र भूमिगत नरकबीच अवस्थित पृथ्वी नै ब्रह्माण्डको केन्द्र हो भन्ने शिक्षा मसीहीजगतले शताब्दीऔंदेखि सिकाउँदै आएको थियो। यस शिक्षाअनुसार स्वर्गदूतहरूले स्वर्गमा परमसुखको आनन्द उठाउँथे भने प्रेतहरूले नरकको कामकुराहरू सह्माल्थे।
वैज्ञानिक आविष्कारहरूले गर्दा ब्रह्माण्डको बनौटबारे गलत धारणाहरू इन्कार गर्न मानिसहरू बाध्य भए, फलस्वरुप आत्मिक प्राणीहरूमाथि विश्वास गर्नु पनि पुरानो विचारधारा मानिन थालियो। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “१६-औं शताब्दीको कपर्निकी (पोलिश खगोलविद् कपर्निकसको सिद्धान्तमा आधारित) क्रान्तिपश्चात् . . . पृथ्वी जगत्को केन्द्र नभई अपार ब्रह्माण्डको नक्षत्रको एउटा सानो अंश अर्थात् सौर्यमण्डलको एउटा ग्रह मात्र हो भनी प्रष्ट भयो—यस धारणाअनुसार स्वर्गदूतहरू र प्रेतहरूको अस्तित्व मुनासिब देखिएन।”
एकातिर धेरै मानिसहरू दुष्टात्माहरूमा विश्वास गर्दैनन् भने अर्कोतिर लाखौंले विश्वास पनि गर्छन्। अतीत र वर्तमान दुवै समयमा पतित स्वर्गदूतहरूले धेरै धर्महरूमा महत्त्वपूर्ण भूमिका खेल्छन्। ती दुष्ट स्वर्गदूतहरू आध्यात्मिकताको प्रदूषक हुनुको अतिरिक्त युद्ध, भोकमरी र भूकम्प जस्ता विपत्तिहरूका कारक अनि बिमारी, मानसिक असन्तुलन र मरणका प्रवर्तकहरू मानिन्छन्।
मसीहीजगत तथा यहूदी धर्ममा प्रमुख दुष्टात्मा मानिने शैतान तथा दियाबललाई मुसलमानहरू इब्लीस भन्छन्। प्राचीन पारसी धर्ममा त्यस दुष्टात्मा आघ्र माइन्युको रूपमा चिनिन्छ। सा०यु० दोस्रो र तेस्रो शताब्दीतिर प्रचलित हुँदै आएको नस्टीक धर्महरूमा त्यस दुष्टात्मालाई डेम्युर्ज भन्ठान्थे जुन एउटा डाही र निम्नस्तरीय भगवानलाई दिइने पद हो र अज्ञानतामा थुप्रै मानिसहरूले त्यसलाई नै उपासना गरे।
प्रमुख दुष्टात्माको अधीनमा भएका आत्माहरू पूर्वीय धर्महरूमा प्रचलित छन्। असुरहरूले (प्रेतहरू) देवहरूको (भगवानहरू) विरोध गर्छ भन्ने हिन्दूहरूको विश्वास छ। असुरहरूमध्ये पनि विशेषगरि मसानहरूमा घुमिहिंड्ने भयावह प्राणी, राक्षसहरूसित मानिसहरू डराउँछन्।
व्यक्तित्व भएका शक्तिहरू प्रेतहरू हुन् भन्ने बौद्ध धर्मावलम्बीहरूको धारणा छ। त्यस धारणाअनुसार ती शक्तिहरूले नै मोक्ष अर्थात् निर्वाण प्राप्त गर्नबाट मानिसहरूलाई रोक्छन्। तिनीहरूमध्ये प्रमुख प्रलोभक मारा र उनकी तीन छोरीहरू रति (इच्छा), राग (आनन्द) अनि तह्न (व्याकुलता) हुन्।
चिनियाँ उपासकहरू प्राकृतिक प्रेतहरू अर्थात् ग्वा-बाट जोगिन भुघ्रे, राँको र भुईंचम्पाहरू प्रयोग गर्छन्। जापानी धर्महरूमा पनि पूजाहारीहरूले मानिसहरूबाट प्रेतात्माहरू ननिकालेसम्म मानिसहरूलाई सताउने डरलाग्दो टेन्गु लगायत थुप्रै प्रेतहरू हुन्छन् भन्ने धारणा छ।
एशिया, अफ्रिका, प्रशान्त महासागर र अमेरिकी महादेशका क्षेत्रहरूका प्राचीन धर्महरूमा आत्मिक प्राणीहरूले लाभ या हानि गर्नु परिस्थिति र तिनीहरूको तत्कालीन सुरमा निर्भर हुन्छ भन्ने विश्वास गरिन्छ। विपत्तिहरूबाट जोगिन र अनुग्रह प्राप्त गर्न मानिसहरूले यी आत्माहरूको उपासना गर्छन्।
यी सबै कुराहरू बाहेक जादु तथा प्रेतवादप्रति पनि मानिसहरू त्यत्तिकै चासो राख्छन्। स्पष्ट छ, दुष्टात्माहरूमाथिको विश्वासको एउटा लामो र विस्तीर्ण इतिहास छ। तर त्यस्ता प्राणीहरू अस्तित्वमा छन् भनी विश्वास गर्नु तर्कसङ्गत हो र? हो, किनभने बाइबलले ती प्राणीहरूको अस्तित्व छ भनी बताउँछ। यद्यपि, तिनीहरूको अस्तित्व छ भने, परमेश्वरले तिनीहरूलाई मानिसहरूको हानि गर्ने अनुमति किन दिनुहुन्छ? (w94 2/1)