“मैले कहिल्यै यस्तो कुरा देखेको छैन!”
अर्जेन्टिनास्थित वाच टावर शाखा कार्यालयले सन् १९९३ तिर सानटियागो, चिलीमा हुने यहोवाका साक्षीहरूको चारदिने “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलनका लागि एक हजार प्रतिनिधिहरू पठाउने निमन्त्रणा पाए। अर्जेन्टिनाका साक्षीहरूको ठूलो समूहलाई एक साथ यात्रा गरेर विदेशी सम्मेलन धाउने निमन्त्रणा दिइएको यो पहिलो पटक थियो।a यसको प्रतिक्रिया? आठ हजार पाँच सयभन्दा बढी निवेदनहरू ओइरिए जसबाट १,०३९ प्रतिनिधिहरू छानिए।
बुएनोस् आएरेस्देखि सानटियागोसम्म १,४०० किलोमिटर लामो यात्रा गर्न १४ वटा बस रिजर्भ गरियो। भव्य प्राकृतिक दृश्यहरूले गर्दा यो २६ घण्टे लामो यात्रा निकै रमाइलो भयो। एण्डिस हिमश्रृंखला हुँदै प्रतिनिधिहरू एकनकागुवा नजिक पुगे। पश्चिमी गोलार्द्धको सबैभन्दा अग्लो यो हिमालको उचाइ ६,९६० मिटर छ। त्यसपछि भिरालो घुमाउरो बाटो हुँदै चिलीतर्फ झर्नु निकै स्मरणीय थियो। यस्तो कठिन ठाउँमा पनि कुशलतापूर्वक बस हाँक्न सकेकोमा प्रतिनिधिहरूले निकै बेर थपडी बजाएर बस चालकहरूको प्रशंसा गरे!
तथापि, सबैभन्दा सुन्दर दृश्य त अब सम्मेलनमा देखिने थियो। राष्ट्रिय तथा जातीय तनावले ग्रस्त संसारमा २४ मुलुकहरूका ८०,००० मानिसहरूको एकताबद्ध समूह—एउटा साँचो अन्तर्राष्ट्रिय भ्रातृत्व देख्न पाउनु साह्रै स्फूर्तिदायी थियो! आफ्नै आँखाले सम्मेलनमा उपस्थित हुनेहरूको एकता देखेर केही बस चालकहरूले यहोवाका साक्षीहरूबारे अझ धेरै सिक्ने इच्छा जाहेर गरे। तिनीहरूमध्ये एकले आश्चर्य मान्दै यसो भने, “मैले कहिल्यै यस्तो कुरा देखेको छैन!”
[फुटनोट]
a सन् १९४९ देखि १९८२ सम्म अर्जेन्टिनाको सरकारले लगाएको प्रतिबन्धले गर्दा त्यस्तो यात्रा गर्नु सम्भव थिएन।