विश्वभरिका यहोवाका साक्षीहरू जाम्बिया
फराकिला, नागबेली परेका समस्थलभन्दा ४,००० फिटमाथि उचाइमा अवस्थित देश जाम्बिया हो। यो मध्य-दक्षिणी अफ्रिकाको मुटुमा पर्छ। उत्तरपूर्वतिर ७,००० फिट अग्ला मचिंगा पहाडहरू छन्। विशाल जाम्बेजी नदी विस्मयकारी ढंगमा विश्व-प्रख्यात भिक्टोरिया फल्समाथि बग्छ र यस भूपरिवेष्ठित देशको दक्षिणी सिमाना छुट्याउने नदी यही हो। यहाँ ७० भन्दा बढी जाति भएकोले मानिसहरूबीच निकै विविधता पाइन्छ। यहाँ आठ प्रमुख भाषाहरू बोलिए तापनि अरू थुप्रै भाषाहरू छन्।
सन् १९११ तिर एउटा बेग्लै प्रकारको भाषाले जरा गाड्न थाल्यो र जाम्बियाभरि फैलियो। आगन्तुकहरूले स्टडीज इन द स्क्रिप्चर्स (शास्त्रवचनको अध्ययन) पुस्तकका प्रतिहरू ल्याए र त्यो समयदेखि बाइबल सच्चाइका “शुद्ध भाषा” जाम्बियामा फैलाउन यहोवाका साक्षीहरूले प्रयत्न गरेका छन्। (सपन्याह ३:९) मृतकहरूको अवस्थासम्बन्धी गैरशास्त्रीय विश्वास विशेषगरि चुनौतीपूर्ण छ। अन्धविश्वासले तिनीहरूलाई कत्तिको बन्धनमा पारेको छ भनेर बाइबल सच्चाइ सिकेपछि त्यसले तिनीहरूलाई स्वतन्त्र तुल्याउँछ!—यूहन्ना ८:३२.
उदाहरणको लागि, एउटी विश्वासी बहिनी यस्तो रिपोर्ट दिन्छिन्: “मेरो मामाको अकस्मात् मृत्यु हुँदा मेरी आमा विचलित भइन्। मेरी आमा युनाइटेड चर्च अफ जाम्बियाको कट्टर सदस्य हुनुहुन्थ्यो। हप्तादिन लामो काजक्रियापछि आमालाई कस्तो छ भनी हेर्न म गाउँ फर्कें। त्यहाँ पुग्दा घरमा मैले एक वृद्ध मानिस भेटें र त्यस व्यक्ति गइसकेपछि तिनी को हुन् भनी हजुरआमालाई सोधें। तिनी झाँक्री हुन् भनी उहाँले बताउनुभयो। आफ्नो भाइको आत्मा शान्तिसित रहून् भन्ने आशामा उनको मृत्युको बदला लिन आमाले त्यस झाँक्री चलाउनुभएको थियो। आमाको भनाइअनुसार ‘आत्मा अहिले यत्तिकै भौंतारिरहेको छ’ भनी उहाँ विश्वास गर्नुहुन्थ्यो।
“मेरो परिवारका सदस्यहरूले झाँक्रीलाई पैसा तिर्न खोजिरहेको हुँदा मेरो आगमन आशिष्सरह भयो भनी हजुरआमाले भन्नुभयो। केही चन्दा दिन उहाँले मलाई भन्नुभयो तर मसीही भएकोले यस कार्यमा भाग लिन सक्दिनँ भनी मैले कौशलतापूर्वक भनें। भजनसंग्रह १४६:४ प्रयोग गरेर मैले उहाँसित तर्क गरें, जहाँ भनिएको छ—मृतकहरूको कुनै सोचविचार नहुनाकारण आत्मा ‘यताउता भौंतारिरहँदैन।’ अनि बदला लिने काम हाम्रो नभई यहोवाको हो भनी रोमी १२:१९ पनि छलफल गऱ्यौं। त्यसपछि यूहन्ना ५:२८, २९ मा पुनरुत्थानको आशासम्बन्धी येशूले भन्नुभएका कुराहरू पनि मैले आमालाई बताएँ। परमेश्वरका प्रतिज्ञाहरूमाथि मेरो दृढ विश्वास देखेर उहाँ प्रभावित हुनुभयो। छिट्टै उहाँले एक साक्षीसित अध्ययन गर्न थाल्नुभयो र तीव्र प्रगति गर्नुभयो। आफ्नो पुरानो धर्मसित उहाँले सम्पूर्ण सम्बन्ध विच्छेद गर्नुभयो र पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणलाई प्रतीकात्मक रूप प्रदान गर्नुभयो। अहिले उहाँ यहोवाका साक्षीहरूमध्ये एक हुनुहुन्छ।”
अर्की बहिनी यस्तो रिपोर्ट गर्छिन्: “मेरी काकीको अन्त्येष्टिमा म गएकी थिएँ। त्यहाँ पुग्दा काका र उहाँको सन्तान भोकै बसिरहनु भएको देखें। मेरी काकी मरेदेखि तिनीहरूले केही खाएका थिएनन्। किन भनेर सोध्दा तिनीहरूको चलनअनुसार खाना पकाउन आगो बाल्नु हुँदैन भन्ने जवाफ पाएँ। यस मूर्तिपूजक चलनलाई त्यागेर मैले खाना पकाउँदा सबै रिसाउनेछन् भनी परिवारका केही सदस्यहरू डराए!
“यहोवाको साक्षी हुनाकारण लेवी १८:३० मा बाइबलले बताउने कुरालाई आदर गर्छु र गैरशास्त्रीय परम्पराहरू पालन गर्दिनँ भनी तिनीहरूलाई बताएँ। त्यसपछि मैले तिनीहरूलाई स्पिरिट्स अफ द डेड (मृतकहरूका आत्मा) पुस्तिका देखाएँ। त्यसपछि तनाव कम भयो र मैले काकालगायत बाँकि मानिसहरूको लागि खाना पकाइदिएँ। मृतकका नातेदारहरू मेरो बहादुरी देखेर निकै प्रभावित भए र बाइबल अध्ययन गर्न राजी भए। तिनीहरू अहिले बप्तिस्मा अप्राप्त प्रकाशकहरू भइसकेका छन् र सम्पूर्ण परिवारले छिट्टै बप्तिस्मा लिने आशा गरेका छन्।”
धार्मिक झूटले उत्पन्न गोलमाल र विशेषगरि निर्दोष मानिसहरूलाई वशीभूत गर्ने तर्कहरूमाथि शुद्ध भाषाको सच्चाइले विजय हासिल गर्दा हामी कति हर्षित हुन्छौं! यहोवाको आशिष्ले गर्दा सारा संसारभरि शुद्ध भाषा फैलिएजस्तै जाम्बियामा पनि फैलिरहेको छ।—२ कोरिन्थी १०:४.
[पृष्ठ ९-मा भएको पेटी]
देशको तथ्यांक
१९९४ सेवा वर्ष
साक्षी दिनेहरूको शिखर संख्या: ८२,९२६
अनुपात: १ साक्षीले १०७
स्मरणार्थ उत्सवमा उपस्थिति: ३,६३,३७२
औसत अग्रगामी प्रकाशकहरू: १०,७१३
औसत बाइबल अध्ययनहरू: १,०८,९४८
बप्तिस्माप्राप्त संख्या: ३,५५२
मण्डलीहरूको संख्या: २,०२७
शाखा कार्यालय: लुसाका
[पृष्ठ ९-मा भएको चित्र]
दक्षिणी लुसाकाको शिम्बालामा प्रचार गर्दै
[पृष्ठ ९-मा भएको चित्र]
लुसाकाका बाहिरी क्षेत्रमा वाच टावर शाखाका भवनहरू