न्यु वर्ल्ड ट्रान्सलेशन-ले (नयाँ विश्व अनुवाद) शास्त्रज्ञलाई प्रभावित पार्छ
प्राचीन उत्कृष्ट कृतिको युनानी शास्त्रज्ञ, डा. राकेल टेन केटअनुसार केही शब्दहरूको सही अनुवाद गर्न डच बाइबल अनुवादहरू असफल भएका छन्। उदाहरणको लागि, लूका २ अध्यायमा येशूको क्रमागत वृद्धि वर्णन गर्न तीन बेग्लाबेग्लै युनानी शब्दहरू (ब्रेफोस, पाइडियोन र पाइस) प्रयोग गरिएका छन्। यी शब्दहरूका अर्थ बेग्लाबेग्लै छन्। तथापि, थुप्रै बाइबलहरूमा यसमध्ये दुइ या तीनै वटा शब्द अस्पष्ट अर्थमा “बालक” भनिएको छ। सही अनुवाद के हो?
पद १२ मा उल्लिखित युनानी शब्द ब्रेफोस-को अर्थ “नवजात वा बच्चा” भनी डा. टेन केट बुझाउँछन्। पद २७ मा प्रयोग गरिएको पाइडियोन-को अर्थ “सानो केटा वा बालक,” र पद ४३ मा लिपिबद्ध पाइस-लाई “केटा” भनी अनुवाद गरिनु पर्छ। बाबल एन भाटनशाप-को (बाइबल र विज्ञान) मार्च १९९३ को अंकमा डा. टेन केटले यस्तो लेखे, “मलाई थाह भएसम्म कुनै पनि अनुवादहरूले यी शब्दहरूको सही अनुवाद गरेका छैनन्। अर्को शब्दमा भन्ने हो भने, ती मौलिक पदअनुरूप छैनन्।”
पछि, डचलगायत १२ भाषामा उपलब्ध न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स (पवित्र शास्त्रको नयाँ विश्व अनुवाद) डा. टेन केटलाई देखाइयो। उनको प्रतिक्रिया? उनले यसो भने: “तीन बेग्लाबेग्लै युनानी शब्दहरू, ब्रेफोस, पाइडियोन र पाइस-को सही अनुवाद गरिएको एउटा मात्र डच बाइबल पाउँदा मलाई असाध्यै खुशी लागेको छ।” के न्यु वर्ल्ड ट्रान्सलेशन-ले (नयाँ विश्व अनुवाद) यी पदहरू मौलिक युनानी पदअनुरूप अनुवाद गरेको छ? डा. टेन केट बताउँछन्, “पूर्णतया गरेको छ।”