“घोर पागलपन”
“युद्ध भन्ने कुरा मानिसहरूको मनबाट सुरु हुन्छ। त्यसकारण सर्वप्रथम हामीले मानिसहरूको मनमा शान्तिको पर्खाल खडा गर्नुपर्छ।” (स.रा.स. शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनको बडापत्र) यो भनाइलाई मनमा राख्दै सन् १९९३ मा स.रा.स.-को निशस्त्रीकरणसम्बन्धी महाधिवेशनमा उपस्थित ५०० भन्दा बढी विशेषज्ञहरूले शान्तिको पर्खाल खडा गर्ने सम्बन्धमा धर्मले खेल्ने भूमिकामाथि विचार-विमर्श गरे।
लयर्स एलियन्स फर वर्ल्ड सिक्योरिटीका प्रतिनिधि जोनाथान ग्रानफ उक्त महाधिवेशनका सभापति थिए। तिनले यसो भने: “वर्तमान धार्मिक तथा जातीय विवाद असभ्य व्यवहार र सम्भवतः घोर पागलपन हो।” महाधिवेशनको दौडान जोन केनेथ गलब्रेथका यी शब्दहरू पनि निकै तर्कसंगत ढंगमा उद्धृत गरिए: “सबै युद्ध र प्राकृतिक प्रकोपहरूमा भन्दा धर्मको नाउँमा धेरै मानिसहरू मारिएका छन्।”
डा. शेषगिरी रावले यसो भने: “चिकित्सकहरूको काम रोग फैलाउनु होइन तर निवारण गर्नु हो। धार्मिक रीतिरिवाजहरूले एक आपसमा घृणा र हिंसात्मक विवादहरू फैलाउन नहुने हो। तिनीहरू मेलमिलाप गराउने शक्ति हुनुपर्ने। यद्यपि, व्यवहारमा के देखिन्छ भने धर्महरूले प्रायः विभाजक शक्तिको काम गरेको छ र गर्दैछ।”
केही वर्षअघि लन्डन क्याथोलिक हेराल्ड-ले “आज सबै चर्चहरू मिलेर युद्धको विरोध गर्ने हो भने” शान्ति ल्याउन सकिन्छ भनेर टिप्पणी गरेको थियो। तथापि, उक्त पत्रिकाले यो कुरा पनि थप्यो: “तर त्यस्तो कहिल्यै हुनेछैन भनी हामीलाई थाह छ।” त्यस्तैगरि, एउटी क्याथोलिक ननले यस्तो टिप्पणी गरिन्: “यहोवाका साक्षीहरूले जस्तै . . . सबै मानिसहरूले फेरि हतियार नउठाउने निर्णय गरेका भए यो संसार कति भिन्न हुनेथियो!”
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
Tom Haley/Sipa Press