पाठकहरूका प्रश्नहरू
केही समाचार प्रतिवेदनहरूअनुसार कुनै कुनै अस्पतालले बच्चा जन्मेपछि सालनालको रगतबाट केही तत्त्वहरू निकाल्न त्यसलाई मिल्काउँदैनन्। के मसीहीहरू यसबारे चिन्तित हुनुपर्छ?
प्रायजसो अस्पतालहरूमा त्यसो गरिंदैन। त्यसैले मसीहीहरूले यसबारे चिन्ता लिनुपर्दैन। यदि बच्चा जन्मेपछि सालनालको रगतबाट केही तत्त्वहरू निकाल्न त्यसलाई मिल्काइँदैन भनेर कुनै मसीहीलाई पक्का थाह छ भने बच्चाको सालनाल फालिनुपर्छ, कुनै प्रकारमा पनि प्रयोग गर्न पाइँदैन भनेर चिकित्सकलाई जानकारी दिनु बेस हुनेछ।
जनावर होस् वा मानिस, जैविक स्रोतहरूबाट थुप्रै औषधीय सामग्रीहरू बनाइन्छ। उदाहरणका लागि, गर्भवती घोडाको पिसाबबाट एक प्रकारको हर्मोन निकालिन्छ। धनुष्टंकार विरुद्ध खोप दिन घोडाको रगतबाट तत्त्वहरू निकालिन्थ्यो र रोगहरूबाट बच्ने खोप तयार पार्न मानिसहरूको सालबाट गामा ग्लोब्युलीन निकाल्ने गरिन्थ्यो। केही अस्पतालहरूले सालनाललाई नफ्याँकी बरफमा राख्थे र औषधी परीक्षण गर्ने केन्द्रहरूले लैजान्थे। र प्रतिजीवी प्रशस्त भएको रगतबाट गामा ग्लोब्युलीन निकाल्न प्रशोधन गरिन्थ्यो।
हालै अनुसन्धानकर्ताहरूले एक प्रकारको ल्युकेमिया रोगीहरूको उपचार गर्न सालनालको रगत प्रभावकारी भएको दाबी गरेका छन् र रोग प्रतिरक्षा प्रणालीमा गडबडी वा हाड-मासी प्रत्यारोपण गर्न त्यस्तो कुनै कुनै प्रकारको रगत मदतकारी हुनसक्ने अनुमान लगाएका छन्। त्यसैकारण केही आमाबाबुले आफ्नो बच्चालाई भविष्यमा कथंकदाचित उपचारको लागि चाहिएमा सालनाललाई नफ्याँकी बरफमा सञ्चय गर्छन् भन्ने कुरा पनि प्रचारप्रसारमा नआएको होइन।
सालबाट यसरी रगत झिकेर व्यापारको लागि प्रयोग गर्नु साँचो मसीहीहरूको लागि पटक्कै चित्तबुझ्दो कुरा होइन किनभने तिनीहरू परमेश्वरको सिद्ध व्यवस्थाअनुसार सोच्ने गर्छन्। हाम्रो सृष्टिकर्ताले रगतलाई पवित्र ठान्नुहुन्छ र रगत परमेश्वरले दिनुभएको जीवन हो। उहाँले स्वीकृति दिनुभएअनुसार रगत एउटा अवसरमा मात्र प्रयोग गरिन्थ्यो। त्यो हो, बलिदानहरूको सन्दर्भमा वेदीमा भेटी चढाउँदा। (लेवी १७:१०-१२; तुलना गर्नुहोस् रोमी ३:२५; ५:८; एफिसी १:७) अन्यथा कुनै पनि प्राणीको रगत निथारेर भुइँमा खन्याउनुपर्थ्यो अथवा फाल्नुपर्थ्यो।—लेवी १७:१३; व्यवस्था १२:१५, १६.
मसीहीहरूले कुनै जनावरको शिकार गर्दा, कुखुरा वा बाख्रा मार्दा पनि रगत निथारेर फाल्छन्। रगत भुइँमा नै पोखाउनुपर्छ भन्ने छैन तर मुख्य कुरा के हो भने, यो अन्य कुनै कामको लागि पनि प्रयोग गर्नु हुन्न, मिल्काउनुपर्छ।
अस्पतालमा भर्ना भएका मसीहीहरूले कुन कुरा बुझेका छन् भने, तिनीहरूको शरीरबाट निस्केको मलमूत्रजस्ता फोहर, काम नलाग्ने तन्तु नै किन नहोस् ती सबै तत्त्वहरू मिल्काउनुपर्छ। हो, चिकित्सकले ती फाल्नुअघि केही जाँचहरू गर्न चाहलान्। जस्तै, पिसाबको जाँच, ट्युमर छ कि छैन भनी कोषहरूको जाँच वा रगतको जाँच इत्यादि। तर त्यसपछि स्थानीय नियमकानुनअनुसार ती फालिन्छन्। अक्सर अस्पतालमा भर्ना भएको रोगीले ती फाल्न आग्रह गरिरहनु पर्दैन किनभने यो फालिने नै वस्तु हुनुका साथै चिकित्सा विज्ञानअनुसार पनि त्यस्ता जैविक तत्त्वहरू मिल्काउनु बुद्धिमानी हो। बिरामीलाई त्यो फालिंदैन जस्तो लाग्छ भने सम्बन्धित चिकित्सकलाई आफ्नो धार्मिक कारणले गर्दा त्यस्तो सबै तत्त्वहरू मिल्काइ दिन आग्रह गर्नसक्छन्।
तर, माथि उल्लेख गरिएअनुसार सामान्यतः बिरामीहरूले त्यति चिन्ता लिनुपर्दैन किनभने प्रायजसो मुलुकहरूमा त्यस्तो मिल्काउने सालनाल साँच्चै प्रयोग गर्ने कुरा त परै जाओस्, प्रयोग गर्ने विचारसम्म पनि गरिंदैन।
प्रहरीधरहरा जनवरी १, १९९७ मा प्रकाशित “खराब कुराहरूलाई घृणा गरौं,” भन्ने लेखले बालबालिकाहरूमाथि यौन दुराचार गर्नेहरूबारे कुरा गरेको जस्तो देखिन्छ। त्यस्तो कार्यलाई कसरी व्याख्या गर्न सकिन्छ?
बालबालिकाहरूमाथि यौन दुराचार गर्नेहरूलाई बुझाउने अंग्रेजी शब्द “पेदोफिलिया”-लाई वेब्सर्टस नाइन्थ न्यु कलेजियत डिक्सनरी-ले “बच्चाहरूलाई यौन वस्तुको रूपमा रुचाउने यौन विकार” भनी व्याख्या गरेको छ। व्यवस्था २३:१७, १८ मा त्यस्ता कार्यको निन्दा गरिएको छ। त्यस पदअनुसार परमेश्वरले मन्दिरमा वेश्याको काम नगर्न आदेश दिनुभएको छ (“वा यौन विकारको लागि ‘केटालाई’ राख्ने,” NW, पादटिप्पणी)। यी पदहरूले “परमेश्वरको भवनमा” “कुकुरको, [ NW]” मोलमा कुनै पनि कुरा नल्याउनू भनिएको छ (“सम्भवतः पुरुषगमन; जसले विशेषगरि केटासित सम्भोग गर्छ,” NW, पादटिप्पणी)। यी धर्मशास्त्रीय र अन्य जानकारीहरूबाट के स्पष्ट हुन्छ भने, प्रहरीधरहरा-ले वयस्कहरूले बच्चाहरूलाई सुम्सुम्याउने लगायत यौन दुर्व्यवहारको पात्र बनाउने सन्दर्भमा छलफल गरिरहेको थियो।