कनेक्टीकट सर्वोच्च अदालतद्वारा बिरामीको अधिकारको कदर
अप्रिल १६, १९९६ का दिन सं.रा.अ., कनेक्टीकट सर्वोच्च अदालतले रक्तक्षेपण इन्कार गर्ने यहोवाका साक्षीहरूको अधिकारको कदर गऱ्यो। यस फैसलाले पहिलाको निर्णयलाई बदर गरिदियो।
अगस्त १९९४ मा यहोवाको साक्षी नेला भेगाले आफ्नो पहिलो बच्चालाई जन्म दिएपछि अत्यधिक रक्तस्राव हुनथाल्यो। रक्तस्राव थाम्न प्रयासहरू गरिए तापनि केही लागेन। श्रीमती भेगाको अवस्था झन् झनै नाजुक हुँदै जाँदा अस्पतालले तिनलाई रक्तक्षेपण गर्न अदालतको आदेश माग्यो। श्रीमती भेगाले तिनी अस्पतालमा रहुञ्जेल रगत वा रगतबाट बनिएका कुनै पनि प्रकारका औषधी नलिने कागजात गरेकी थिइन्। कथंकदाचित् केही भइहालेमा अस्पताल दोषी ठहर्नेछैन भनेर पनि कबुल गरेकी थिइन्। तैपनि, बच्चाकै हितको लागि रक्तक्षेपण गर्न जोड दिएको हो भनी अस्पतालले तर्क गऱ्यो। अस्पतालको भनाइअनुसार बच्चालाई उसको आमा चाहिन्छ। अदालतलाई अर्को एउटा कुराको पनि चिन्ता थियो, श्रीमती भेगा स्वस्थ, जवान थिइन्। अतः, श्रीमती भेगाको पति र तिनको वकिलले लाख विरोध गरे तापनि अदालतले रक्तक्षेपण गर्नको निम्ति अनुमति दियो र रगत दिइयो पनि।
समयमा, यस मुद्दा कनेक्टीकटको सर्वोच्च अदालतमा ल्याइयो। त्यहाँ, अस्पतालले श्रीमती भेगाको अधिकार हनन भएको हो भनी सर्वसम्मतिसाथ निर्णय गऱ्यो। यस्तो निर्णय सुनाइयो: “पुर्पक्ष अदालतमा सुनुवाइ एकदमै आपत्कालीन अवस्थामा, मध्य रातमा भएको थियो र त्यतिबेला दुवै पक्षले आफ्नो बयानलाई राम्रोसित पेश गर्न सकेका थिएनन्।”
कनेक्टीकट सर्वोच्च अदालतको यो निर्णय यहोवाका साक्षीहरूलाई मात्र नभई अन्य मानिसहरूको लागि पनि महत्त्वपूर्ण छ। श्रीमती भेगाको वकिल डोनाल्ड टि. रिड यसो भन्छन्: “चिकित्सकको निर्णयसित सहमत नहुने सबै बिरामीहरूको लागि यो निर्णय महत्त्वपूर्ण छ। यस निर्णयको कारण अस्पतालले बिरामीका मान्यताहरू धार्मिक कारणले होस् वा अन्य कारणले, त्यसलाई कुल्चीमिल्ची गर्न पाउँदैन।”