राज्य उद्घोषकहरूका रिपोर्ट
सहनशीलताले गर्दा मलावीमा परमेश्वरको आशिष् बर्स्यो
यूसुफ यहोवाका विश्वासी सेवक थिए। (हिब्रू ११:२२) तिनी असाध्यै सहनशील पनि थिए। तिनलाई आफ्नै दाजुहरूले धोखा दिए, दुई दुई चोटि दाससरह बेचिए अनि पछि झूटो आरोपमा झ्यालखानामा थुनिए तापनि यूसुफ कहिल्यै हतोत्साहित भएनन्। बरु, यहोवाका आशिष् पर्खेर धैर्यसाथ वर्षौंसम्म दुःख सहे।—उत्पत्ति ३७:२३-२८, ३६; ३९:११-२०.
त्यसैगरि, आज पनि मलावीमा यहोवाका साक्षीहरूले धैर्यसाथ परमेश्वरको आशिष् पर्खेका छन्। यी मसीही साक्षीहरूले २६ वर्षसम्म सरकारी प्रतिबन्ध, घोर विरोध तथा थुप्रै अत्याचारहरू सहनुपऱ्यो। तर तिनीहरूले सहनशीलताको ठूलो इनाम पाएका छन्!
सन् १९६७ को अन्ततिर मलावीमा सतावट सुरु हुँदा लगभग १८,००० जना राज्य उद्घोषकहरू थिए। सन् १९९७ सेवा वर्षको सुरुमा प्रकाशकहरूको शिखर संख्या ३८,३९३ अर्थात् प्रतिबन्ध सुरु भएको समयमा भन्दा दुई गुणा बढी भयो भन्ने सुन्न पाउँदा साक्षीहरू कत्ति आनन्दित भए होलान्, कल्पना गर्नुहोस् त! झन् मलावीको विभिन्न १३ स्थानमा सम्पन्न भएको “ईश्वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनको उपस्थिति त १,१७,००० भन्दा बढी थियो। साँच्चै, यहोवाले तिनीहरूको विश्वास र सहनशीलतामाथि आशिष् बर्षाउनुभयो।
माचाका नामक १४ वर्षीय केटोको अनुभव त्यो आशिष्को एउटा उदाहरण हो। यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न माचाका राजी हुँदा तिनका आमाबाबु साह्रै दुःखीत भए। तिनीहरूले भने: “तिमी यहोवाको साक्षी हुन चाहन्छौ भने यो घरमा बस्न पाउँदैनौं।” यस्तो धम्की सुनेर पनि तिनी अध्ययन गर्नदेखि निरुत्साहित भएनन्। परिणामस्वरूप, माचाकाका आमाबाबुले तिनका सबै लुगाफाटा खोसे। लगत्तै, मसीही भाइहरूले केही लुगाफाटा किनेर तिनलाई दिए। माचाकाका आमाबाबुले उक्त कुरा थाह पाएपछि तिनलाई भने: “साक्षीहरूले नै तिम्रो हेरचाह गर्छन् भने तिनीहरूसितै गएर बस्नु।” आमाबाबुका कुरा राम्ररी विचार गरेपछि माचाकाले आफ्नो घर छोडे। अनि स्थानीय मण्डलीका एउटा साक्षी परिवारले तिनलाई आफ्नो घरमा राखे।
माचाकाका आमाबाबु यति साह्रो चिढिए कि साक्षीहरूको मुखै हेर्न नपरोस् भनेर अन्तै जाने निधो गरे। निस्सन्देह, यस कुराले माचाकाको हृदयमा चोट पुग्यो। तर भाइहरूले तिनीसँग भजन २७:१० छलफल गर्दा तिनले निकै सान्त्वना पाए। त्यहाँ यसो भनिएको छ: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ।”
समयको दौडान माचाकाका आमाबाबुका रिस सेलायो र माचाकाले घर फर्कने निर्णय गरे। स्पष्टतः यहोवाको सेवा गर्ने आफ्ना छोरोको दृढ संकल्पले तिनीहरूको मनमा गहिरो छाप पाऱ्यो। फलतः तिनीहरू पनि यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न राजी भए! तिनीहरू “ईश्वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनमा तीनै दिन उपस्थित भए। तत्पश्चात् यसो भन्न तिनीहरू उत्प्रेरित भए: “साँच्चै, यो परमेश्वरको संगठन हो।”
हो, विरोध असह्य हुनसक्छ तर परमेश्वरका इमानदार सेवकहरू हार मान्दैनन्। तिनीहरू साहसी भई अघि बढिरहन्छन् किनकि तिनीहरूलाई थाह छ “सङ्कष्टले धीरज उत्पन्न गराउँछ . . . औ धीरजले सदाचार।” (रोमी ५:३, ४) सहनशीलताले गर्दा परमेश्वरको आशिष् वर्षिन्छ भनेर मलावीका यहोवाका साक्षीहरूले पुष्टि दिएका छन्।