तपाईंको बोलीले घोच्छ कि निको पार्छ?
यी कठिन समयमा थुप्रै मानिसहरू “चूर्ण हृदय[का]” र “निराश” हुनु अचम्म होइन। (भजन ३४:१८, नयाँ संशोधित संस्करण) तसर्थ, प्रेरित पावलको शब्दमा भन्ने हो भने “हरेस खानेलाई दिलाशा” र “कमजोरीहरूलाई मदत” दिइरहनु खाँचो छ। (१ थिस्सलोनिकी ५:१४) तर सँगीमानवले हाम्रो चित्त दुखाउँछ वा गम्भीर गल्ती गर्छ भने नि? यस्तो बेला त्यस व्यक्तिलाई हप्काएर ठीक पार्नु हामीलाई मन पर्ला। तथापि, सावधान हुनु उचित हुन्छ। सही सुझाउ पनि रूखो भाकाले दिएमा हानिकारक हुनसक्छ। हितोपदेश १२:१८ बताउँछ: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ।”
तसर्थ, मनमुटाउ हटाउँदा वा साम्य पार्दा हितोपदेश १२:१८ को दोस्रो भागलाई याद गर्नु अत्यावश्यक छ: “बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” मनमनै सोध्ने गर्नुहोस्, ‘अरूले मलाई सुधार गर्नुपरेको भए म कस्तो सल्लाह चाहन्थें?’ हामीमध्ये अधिकांशलाई आलोचनाभन्दा प्रोत्साहन मन पर्छ। त्यसैले, हृदय खोलेर सराहना गर्नुहोस्। यसो गर्दा गल्ती गर्नेले सुधार गर्ने अक्सर प्रेरणा पाउनेछ र अरू मदत दिंदा ऊ अवश्यै कृतज्ञ हुनेछ।
हामी मृदुभाषी हुनु कत्ति महत्त्वपूर्ण छ! मीठो शब्दहरूमा बोल्दा सुन्ने व्यक्तिले भजनरचयिताले जस्तै महसुस गर्नेछ। तिनले लेखे: “धर्मात्माले मलाई पिटोस्, त्यो मेरो निम्ति दयाझैं हुनेछ, तिनले मलाई चेताउनी दिऊन्, त्यो मेरो शिरमा तेलझैं हुनेछ। मेरो शिरले त्यो इन्कार नगरोस्, किनकि तिनीहरूका विपत्तिमा पनि मेरो प्रार्थना लगातार भइरहनेछ।”—भजन १४१:५.