के सबै पादरीहरू आफूले सिकाइरहेका कुरामा विश्वास गर्छन्?
भर्खरै एउटी आइमाईको पतिको मृत्यु हुँदा पादरीले तिनका पति नता सोझै स्वर्ग जानसक्ने गरी असल थिए न नरकको आगोमा न्याय पाउने गरी दुष्ट थिए भने। अतः उक्त पादरीको भनाइअनुसार तिनका पतिले स्वर्ग जान योग्यको नहोउञ्जेल दण्ड भोग्नुपर्थ्यो। आफ्ना पतिको पापमोचन छिटोभन्दा छिटो होस् भनेर प्रार्थना गरिदिनका लागि पादरीलाई पैसा पनि दिइन्। आफूले पूर्णतया विश्वास गरेको कुरामा पादरीको पनि विश्वास रहेछ भन्ने सम्झँदै यो विधवा ढुक्क भइन्।
मृत्युपछि पाउने दण्डमा त्यस पादरीले विश्वास गर्दैनन् भनेर उक्त विधवाले थाह पाइन् भने तिनको धर्ममाथिको आस्था नै हराउनेछ जस्तो के तपाईंलाई लाग्छ? आफूले सिकाइरहेको कुरामा पादरीहरू आफै विश्वास गर्दैनन् भनेर थाह पाउँदा थुप्रै अलमल्लमा परेका छन्। यसलाई “पादरीहरूले गरेका यौन कुकर्मभन्दा पनि गहिरो समस्या” भन्दै नेशनल क्याथोलिक रिपोर्टर बताउँछ: “सामान्यतया पादरीहरूबीच परमेश्वरको अस्तित्वमाथि विश्वास गर्न छोड्ने वा इनाम वा दण्डसम्बन्धी शिक्षा अथवा पुनरुत्थानमा विश्वास गर्न छोड्नेहरू यति धेरै छन्, . . . कि त्यसले पादरीहरूको सोचाइलाई कुहिरो तथा हुस्सुले डम्म छोपेझैं भइसकेको छ र तिनीहरूको एक अन्तरनिहित अंग पनि बनिसकेको छ।”
अन्य चर्चहरूको अवस्था पनि यस्तै छ। चर्च अफ इंग्ल्याण्डका भिकारहरूको सर्वेक्षण गर्दा “थुप्रैले परम्परागत मसीही आस्थाको आधारभूत पक्षहरू जस्तै कन्ये केटीबाट येशूको जन्म, येशूका चमत्कारहरू तथा मसीहको दोस्रो आगमन आदिलाई नै विश्वास गर्न छोडेको प्रस्टै देखिएको छ भनेर अष्ट्रेलियाको क्यन्बेरा टाइम्स-ले रिपोर्ट गर्छ।
धार्मिक लेखोटका लेखक जर्ज आर. प्लाजेन्जले कुनै पनि सेवकले आफूलाई विश्वास नलागेको धार्मिक पाठ कसरी स्वच्छ अन्तस्करणसहित वाचन गर्नसक्छन् र भनेर सोधे। एक जना सेवकले त पाठ गर्दा भन्नुपर्ने प्रथम केही शब्दहरू, “म विश्वास गर्छु[लाई],” परिवर्तन गरे पुग्ने बताए। तिनले भने: “ ‘तिनीहरू सर्वशक्तिमान् पिता परमेश्वरलाई विश्वास गर्छन् . . . ’ भन्दै म पाठ गर्नथाल्छु।” प्लाजेन्जले यस्ता ढोंगलाई “मुलुकका सबैभन्दा ठूलो ठगी” भने।
दुःखको कुरा, पादरीहरू यसरी विश्वास नगर्ने र कपटी हुन पुगेकाले थुप्रैले प्रायजसो धर्म मान्न छोडेका छन्। तर धर्मदेखि विचलित हुने कारण यही एउटा मात्र होइन। चर्च जाने प्रायः सबैलाई बाइबल परमेश्वरको वचन हो भनेर सिकाइएको छ। वर्षौंदेखि चर्चले सिकाउँदै आएका कतिपय शिक्षाहरू बाइबलमा छैनन् भनेर थाह पाउँदा के तिनीहरू छक्क नपर्लान् त? यस्ता शिक्षाहरूमध्ये एउटाबारे अर्को लेखमा छलफल गरिनेछ।