असल साथीहरू रोज्ने डोऱ्याइ
कस्तो लुगा लगाउने अनि कस्तो संगीत सुन्ने भनेर जवानहरूले आमाबाबुको डोऱ्याइ नभई साथीहरूको राय लिन्छन् भनी रिडर्स डाइजेस्ट-को एउटा रिपोर्ट बताउँछ। तसर्थ, आफ्ना छोराछोरीले कोसँग संगत गर्छन् र कस्तो ठाउँमा जमघट गर्छन् भनी आमाबाबुहरूले थाह पाउनु अति महत्त्वपूर्ण छ।
दक्षिण अफ्रिकी विश्वविद्यालयको मनोविज्ञान विभागकी वरिष्ठ प्राध्यापक एज्मी रेन्सबर्ग यसो भन्छिन्, “छोराछोरीले कहाँ कस्ता साथीहरूसँग संगत गर्दैछन् भनी खोज खबर गर्ने काम तपाईंको हो।” तिनी अझ यसो भन्छिन्: “छोराछोरी तपाईंसित चिढिनसक्छन् तर तिनीहरूको रिस सेलाउनेछ।” त्यसपछि तिनी आमाबाबुलाई निम्न सुझाउहरू दिन्छिन्। नियमहरू तार्किक हुनुपर्छ अनि स्पष्ट सिद्धान्तहरू तोक्नुपर्छ; छोराछोरीको कुरा सुन्नुहोस्; एकैचोटि जंगिनुको सट्टा शान्त हुनुहोस् र छोराछोरीलाई भन्ने कुरा, पक्का गर्नुहोस्। तपाईंका छोराछोरीले खराब साथीसँग मित्रता गाँसिसकेको छ भने तिनीहरूसँग संगत गर्दै नगर्नु मात्र भन्नुको सट्टा तिनीहरूको मित्रताले गर्दा देखा परेको नराम्रो आचरणप्रति ध्यान केन्द्रित गर्नुहोस्।
आमाबाबुहरूका लागि धेरै समयअघि नै परमेश्वरको वचन बाइबलमा राम्रो सल्लाह दिइएको छ। उदाहरणका लागि, बाइबल यसो भन्छ: “सुन्नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा होस्।” (याकूब १:१९) धर्मशास्त्रले साथीहरू रोज्ने विषयमा पनि यस्तो उत्तम सल्लाह दिन्छ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) बाइबलका कुराहरूलाई मूल्यांकन गर्दै पढ्ने अनि त्यसमा भएका कुराहरू दैनिक जीवनमा लागू गर्नेहरूले बुद्धी प्राप्त गर्नसक्छन् भनेर यी उदाहरणहरूले देखाउँछन्।