काम र फुर्सतको समयबीच सन्तुलन
“फुर्सतको समय एउटा राम्रो वस्त्र हो तर यो हरबखत लगाउन मिल्दैन।” यसरी एक बेनाम लेखकले फुर्सतको समयको महत्त्वबारे सुहाउँदो वर्णन गरे। फुर्सतको समयलाई फलदायी गतिविधिसित सन्तुलित गर्नुपर्छ भनी तिनले स्पष्ट पारे।
यस विषयमा बाइबलका प्रेरित लेखक सुलेमानले पनि लेखेका छन्। बुद्धिमान् राजाले अचाक्ली गर्न नहुने दुई प्रकारको अवस्थालाई स्पष्ट पारे। पहिलोबारे तिनले यसो भने: “मूर्ख मानिस हात बाँधेर बस्छ र भोकै नासिंदैजान्छ।” (उपदेशक ४:५) हो, अल्छिपनले मानिसलाई गरिब बनाउनसक्छ। फलस्वरूप यसले अल्छी मानिसको स्वास्थ्य र ज्यानसमेत खतरामा पार्नसक्छ। अर्कोतर्फ, आफ्नो ज्यानको पर्वाहै नगरी परिश्रम गर्ने मानिसहरू पनि छन्। त्यस्तो प्रकारको घोटाइ सुलेमानले “व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो” भने।—उपदेशक ४:४.
यसकारण, सुलेमानले सन्तुलित हुने सल्लाह दिनु एकदमै उपयुक्त छ: “दुवै मुठी भएर व्यर्थको परिश्रम गरेको भन्दा एक मुठी भरिएको औ मनमा शान्ति भएको असल हो।” (उपदेशक ४:६) मानिसले “आफ्नो परिश्रमको सट्टामा खानु, पिउनु र मोज-मजा” अर्थात् आफूले कमाएको पैसाबाट समय समयमा रमाइलो पनि गर्नुपर्छ। (उपदेशक २:२४) अनि जीवनमा जागिर नै सर्वमहत्त्वपूर्ण कुरा हुनु हुँदैन। आफ्नो परिवारलाई पनि समय दिनुपर्छ। हाम्रो प्रमुख दायित्व आफ्नो जागिर नभई परमेश्वरलाई सेवा गर्नुपर्छ भनी सुलेमानले जोड दिए। (उपदेशक १२:१३) के तपाईं पनि कामप्रति सन्तुलित विचार राख्नेहरूमध्ये हुनुहुन्छ?