एउटा विशेष उत्सव—के तपाईं पनि त्यहाँ उपस्थित हुनुहुनेछ?
लगभग ३,५०० वर्षअघि अविस्मरणीय दिनमा मिश्रको दासत्वमा परेका इस्राएलीहरूको हरेक घरानालाई एउटा भेडा वा बाख्रा मारेर आ-आफ्ना घरको खामा अथवा संघारमा त्यसको रगत छर्कनु भनी यहोवा परमेश्वरले आज्ञा दिनुभएको थियो। त्यसै रात स्वर्गदूत आएर मिश्रमा भएका सबै जेठा छोराहरूलाई मारे तर त्यसरी चिह्न लगाएका घरहरूमा केही पनि गरेनन्। त्यसपछि इस्राएलीहरूलाई मुक्त गरियो। त्यस घटनाको वार्षिकोत्सवमा यहूदीहरूले निस्तार चाँड मनाउने गर्छन्।
येशू ख्रीष्टले आफ्ना प्रेरितहरूसित अन्तिम निस्तार चाँड मनाइसक्नुभएपछि आफ्नो बलिदानरूपी मृत्युको स्मरणमा एउटा भोजको स्थापना गर्नुभयो। उहाँले आफ्ना प्रेरितहरूलाई अखमिरी रोटी दिंदै यसो भन्नुभयो: “लेओ, खाओ, यो मेरो शरीर हो।” त्यसपछि दाखरसको कचौरा दिंदै यसो भन्नुभयो: “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्चितको लागि, बहाइन्छ।” येशूले यसो पनि भन्नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (मत्ती २६:२६-२८; लूका २२:१९, २०) यसकारण येशूले आफ्ना अनुयायीहरूलाई आफ्नो मृत्युको यो स्मरणार्थ उत्सव मनाउने आज्ञा दिनुभयो।
यस वर्ष येशूको मृत्युको स्मरणार्थ उत्सव अप्रिल १९, बुधबारको दिन सूर्यास्तपछि मनाइनेछ। येशूले भन्नुभएबमोजिम स्मरणार्थ उत्सव मनाउन त्यस विशेष साँझ यहोवाका साक्षीहरू विश्वभरि भेला हुनेछन्। तपाईं पनि उपस्थित हुनुहोस् भनी हामी हार्दिक स्वागत गर्दछौं। भेला हुने समय र ठाउँबारे जानकारी लिन यहोवाका स्थानीय साक्षीहरूसित सम्पर्क गर्नुहोस्।