धार्मिक एकता नजिकै?
लुथरन वर्ल्ड फेडरेशनका अध्यक्ष क्रिश्चियन क्राउसले यसो भने, “हामी हाम्रा चर्चहरूको इतिहासको सबैभन्दा उल्लेखनीय दिन देख्दैछौं।” त्यस्तै गरी, पोप जोन पल द्वितीयले पनि “मसीहीहरू माझ पूर्ण एकता पुनःस्थापित गर्ने कठिन मार्गमा आएको एउटा उल्लेखनीय मोडबारे” कुरा गरे।
जर्मनीको ओजबर्गमा अक्टोबर ३१, १९९९ का दिन डक्ट्रिन अफ जस्टिफिकेशनको संयुक्त घोषणाको पुष्टि दिंदै आधिकारिक दस्ताबेजमा हस्ताक्षर गरेको लगत्तैपछि यी जोडदार टिप्पणीहरू गरिएका थिए। यस अवसरको लागि समय र स्थान राम्ररी छानिएको थियो। भनिन्छ, अक्टोबर ३१, १५१७ मा मार्टिन लुथरले आफ्ना ९५ सुत्रीय मागहरू विट्टेनबर्ग चर्चको ढोकामा टाँगेर प्रोटेस्टेन्ट सुधारवादी आन्दोलन प्रारम्भ गरेका थिए। हो, यो त्यही ओजबर्ग हो जहाँ लुथरनहरूले १५३० मा आफ्ना आधारभूत सिद्धान्तहरू प्रस्तुत गरेका थिए। क्याथोलिक चर्चले त्यसलाई अस्वीकार गऱ्यो। फलतः प्रोटेस्टेन्ट र क्याथोलिकहरू विभाजित हुन पुगे।
के यो संयुक्त घोषणा, दाबी गरिएजस्तै चर्चको विभाजन हटाउने निर्णायक कदम हुनसक्ला त? सबै दल आशावादी छैनन्। क्याथोलिक धर्मले एकाधिकार जमाउन सक्ने चेताउनी दिंदै झन्डै २५० जनाभन्दा बढी प्रोटेस्टेन्ट धर्मका विद्वान्हरूले विरोध पत्रमा सही गरे। क्याथोलिक चर्चले सन् २००० लाई विशेष पापहरूको क्षमा वर्ष घोषणा गरेको देखेर पनि प्रोटेस्टेन्टहरू रिसाएका छन्। यस्तै कदमले गर्दा ५०० वर्षअघि विभाजन चर्केको थियो। अनि ट्रेन्ट निकायद्वारा गरिएको ओजबर्ग स्वीकारोक्ती तथा क्याथोलिक खण्डन आ-आफ्नो ठाउँमा अझै यथावतै भएको हुँदा एकता सोचेभन्दा अझै टाढा छ।
मसीहीजगत्भित्रको बेमेल कुनै संयुक्त घोषणा पत्रमा सही गर्ने बित्तिकै टुंगिने खालको होइन। यसबाहेक, धार्मिक एकता पूर्णतया परमेश्वरको वचन बाइबलमा आधारित विश्वासद्वारा मात्र सम्भव छ। (एफिसी ४:३-६) साँचो एकता कुनै सम्झौताबाट नभई परमेश्वरले हामीबाट चाहनुहुने कुरा सिकेर अनि त्यसैअनुरूप चलेर मात्र हासिल गर्न सकिन्छ। “सबै जातिका मानिसहरू चाहिं ता आफ्नो आफ्नो देवताको नाउँमा हिंडछन्” भन्ने घोषणा गर्दै अगमवक्ता मीकाले यसो भने, “तर हामी चाहिं सदा सर्वदै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा हिंड़नेछौं।”—मीका ४:५.
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
© Ralph Orlowski/REUTERS/Archive Photos