“के परमेश्वरले मानिसलाई नरकको आगोमा पोलेर सास्ती दिनुहुन्छ?”
“के तपाईंहरू धर्मविज्ञानका विद्यार्थी हुनुहुन्छ?”
जोएल र कार्ल यो प्रश्न सोधिंदा छक्क परे। यहोवाका साक्षीहरूको ब्रूकलिन, न्यु योर्कस्थित मुख्यालयमा स्वयम्सेवा गरिरहेका यी दुई नौजवानहरू नजिकैको किताब पसलमा किताब हेरिरहेका थिए। जोएलले बाइबल अनुक्रमणिका हेरिरहेको बेला कार्लले तिनलाई सेवकाईमा आफूले बटुलेको अनुभव बताइरहेका थिए। यी दुई भाइबीच भइरहेको कुराकानी सुनेर नजिकै उभिरहेका एक पुरुष तिनीहरूसित कुरा गर्न उत्सुक भए।
तथापि, यस पुरुषले ती दुई नौजवान धर्मविज्ञानका विद्यार्थीहरू हुन् कि होइनन् भनेर जान्न मात्र खोजिरहेका थिएनन्। तिनी आफ्नो मनमा लागेको खुलदुली पनि हटाउन चाहन्थे। तिनले यसो भने: “म यहूदी हुँ र मेरा केही ख्रिस्टियान साथीहरूले भनेअनुसार यहूदीहरूले ख्रीष्टलाई इन्कार गरेको कारण मलाई नरकको आगोमा हालिनेछ भनेका छन्। यो कुरा सुनेदेखि म एकदमै व्याकुल भएको छु। मायालु परमेश्वरले यस्तो दण्ड दिनु जायज छ जस्तो देखिंदैन। के परमेश्वरले मानिसलाई नरकको आगोमा पोलेर सास्ती दिनुहुन्छ?”
जोएल र कार्लले यस निष्कपट पुरुषलाई आफूहरू बाइबलका जोसिला विद्यार्थी भएको बताए। तिनीहरूले धर्मशास्त्रबाट मृतकहरू अचेत हुन्छन् र मृत्युको निद्रामा पुनरुत्थान हुने समय पर्खिरहेका छन् भनेर देखाए। मरिसकेकाहरूले नरकमा कुनै किसिमको सास्ती वा दुःखकष्ट भोग्नु पर्दैन भनेर पनि बुझाए। (भजन १४६:३, ४; उपदेशक ९:५, १०; दानियल १२:१३; यूहन्ना ११:११-१४; २३-३६) पैंतालीस मिनेट लामो कुराकानी गरेपछि यस पुरुषले जोएल र कार्ललाई आफ्नो ठेगाना दिए अनि यस विषयमा थप जानकारीको निम्ति आग्रह गरे।
नरक दनदनी आगो बलिरहेको सताइने ठाउँ हुँदो हो त, के यस्तो ठाउँमा पठाइदिनोस् भनेर कसैले आग्रह गर्थ्यो होला र? यद्यपि, कुलपिता अय्यूबले आफूले भोगिरहेको दुर्दशाबाट उम्कने इच्छा गर्दै यस्तो बिन्ती गरे: “तपाईंले मलाई नरकमा सुरक्षा दिनुभएको र तपाईंको क्रोध नहटेसम्म मलाई लुकाउनुभएको भए कत्ति बेस हुन्थ्यो।” (अय्यूब १४:१३, डुवे भर्सन) स्पष्ट छ, अय्यूबले नरक सताउने ठाउँ हो भनेर विश्वास गरेका थिएनन्। बरु तिनले त नरकमा सुरक्षा पो खोजे। मृत्यु अस्तित्वविहीन अवस्था हो र बाइबलले नरकलाई मानिसजातिको साधारण चिहान हो भन्छ।
मरेपछि हामीलाई के हुन्छ र त्यसपछि मरेकाहरूका लागि कस्तो आशा छ, त्यसबारे यदि तपाईं थप जानकारी चाहनुहुन्छ भने, हामी तपाईंलाई तल दिइएको प्रस्ताव स्वीकार्नुहोस् भन्ने हार्दिक निम्तो दिन चाहन्छौं।