हामी सबैलाई प्रशंसा चाहिन्छ
सानी बच्चीको लागि त्यो राम्रो दिन थियो। अरू बेला तिनलाई सुधार्नु आवश्यक परे तापनि आज भने तिनले विशेष गरी राम्रो आचरण देखाएकी थिइन्। तथापि, त्यो रात तिनलाई ओछ्यानमा सुताइसकेपछि तिनकी आमाले तिनी रोइरहेकी आवाज सुनिन्। तिमी किन रोएको भनी सोद्धा झन् धुरुधुरु रुँदै तिनले यसो भनिन्: “के म आज ज्ञानी भइनँ?”
त्यो प्रश्नले आमालाई चक्कूले घोपेझैं भयो। तिनले सधैं आफ्नी छोरीलाई तुरुन्तै सुधार्ने गर्थिन्। तर उक्त दिन भने, छोरीले ज्ञानी हुने कोसिस गरेको देख्दा-देख्दै पनि आमाले प्रशंसाको एक शब्द पनि मुखबाट निकालिनन्।
प्रशंसा र आश्वासन चाहिने व्यक्तिहरू स-साना बच्चीहरू मात्र होइनन्। हामीलाई सल्लाह र सुधारको जति खाँचो पर्छ त्यति नै हामी सबैलाई प्रशंसा अनि आश्वासन पनि चाहिन्छ।
कसैले हाम्रो हार्दिक प्रशंसा गर्दा हामीलाई कस्तो लाग्छ? के यसले हाम्रो हृदय प्रफुल्लित बनाउनुका साथै हाम्रो दिन नै रमाइलो बनाउँदैन र? सम्भवतः हामी कसैले हामीलाई याद गरेको वा हाम्रो ख्याल राखेको महसुस गर्छौं। यसले हामीले जे-जति प्रयास गऱ्यौं त्यो बेकार गएनछ भनेर हामीलाई आश्वास्त गराउँछ भने, यसले हामीलाई भविष्यमा पनि यसै गरी प्रयास गर्न उत्प्रेरित गर्छ। निष्कपट प्रशंसाले हामीलाई केही प्रोत्साहनदायी कुरा गर्न समय निकाल्ने मानिसतर्फ आकर्षित गर्नु कुनै अचम्मलाग्दो कुरा होइन।—हितोपदेश १५:२३.
येशू ख्रीष्टले प्रशंसा गर्नुको महत्त्व बुझ्नुभएको थियो। तोडाको उखानमा मालिकले (जसले स्वयम् येशूलाई संकेत गर्थ्यो) दुवै विश्वासी नोकरहरूलाई यसो भन्नुभएर न्यानो प्रशंसा गर्नुभयो: “श्याबास असल र इमान्दार नोकर!” कत्ति हृदयस्पर्शी! तिनीहरूको क्षमता तथा उपलब्धिहरू फरक-फरक भए तापनि तिनीहरूले समान प्रशंसा पाउँछन्।—मत्ती २५:१९-२३.
त्यसैकारण हामी उक्त सानी बच्चीकी आमालाई नबिर्सौं। अरूको आँखामा आँसु देख्नुभन्दा पहिले नै हामीले उनीहरूको प्रशंसा गर्नुपर्छ। बरु, हामी अरूको प्रशंसा गर्ने मौकाहरू खोज्न सक्छौं। साँच्चै भन्ने हो भने, हरेक अवसरमा अरूको निष्कपट प्रशंसा गर्ने हामीसित ठोस कारण छ।