कतै तपाईंले आश्चर्य भावलाई सेलाउन त दिनुभएको छैन?
परमेश्वरका कार्य अनि गुणहरूलाई बुझ्दा बाइबल लेखकहरूले बारम्बार आश्चर्य भाव जगाएको के तपाईंले याद गर्नुभएको छ? भजन रचयिताले यस्तो घोषणा गरे, “म . . . आश्चर्य रीतिले बनिएको छु।” (भजन १३९:१४) अगमवक्ता यशैयाले यस्तो लेखे: “हे परमप्रभु, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंको प्रशंसा गर्छु। म तपाईंको नाउँको स्तुति गर्छु, किनकि तपाईंले आश्चर्यका कामहरू गर्नुभयो। (यशैया २५:१) अथवा प्रेरित पावलका यी शब्दहरूमा अभिव्यक्त गरिएको आश्चर्य र श्रद्धालाई विचार गर्नुहोस्: “अहा! परमेश्वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहीरो छ!”—रोमी ११:३३.
दी अक्सफोर्ड इन्साइक्लोपिडिया इंग्लिस डिक्सनरी-ले “आश्चर्य” शब्दलाई “आशै नगरेको, अपरिचित अथवा बुझ्न कठिन कुनै वस्तु वा दृश्य देख्दा मनमा उठ्ने भाव, विशेष गरी श्रद्धा अथवा कौतूहलतासित मिसिएको विस्मय” भनी व्याख्या गर्छ।
साना केटाकेटीहरूले कुनै नयाँ कुरा देख्दा, छुँदा वा सुन्दा आँखा तन्काएर व्यक्त गर्ने आश्चर्य भाव देख्दा के मनमा उमङ्ग छाउँदैन र? दुःखको कुरा, कौतूहलता अथवा कुनै नौलो कुरा देखेर उब्जने यस्तो आश्चर्य भाव अक्सर उमेरसँगसँगै सेलाउँदै जान्छ।
तथापि, भर्खरै उल्लिखित बाइबल लेखकहरूको मनबाट श्रद्धा भाव कहिल्यै सेलाएन। स्थायी रूपमा रहिरह्यो। किन? तिनीहरूले मूल्यांकनले ओतप्रोत हुँदै परमेश्वरका कार्यहरूलाई मनन गरेर आफ्नो आश्चर्य भावलाई सेलाउन दिएनन्। भजन रचयिताले यस्तो प्रार्थना गरे: “म उहिले उहिलेका दिनहरू सम्झन्छु। म तपाईंका सारा कार्यहरूमा ध्यान लगाउँछु। म तपाईंका हातको काममा विचार गर्छु।”—भजन १४३:५.
वर्तमान समयमा परमेश्वरका उपासकहरूमाझ यस्तो आश्चर्य भाव पाउनु कत्ति प्रशंसनीय कुरा हो! के तपाईंसित पनि छ? कतै तपाईंले यसलाई सेलाउन त दिनुभएको छैन?