प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १/१५ p. ३०
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १/१५ p. ३०

पाठकहरूका प्रश्‍नहरू

उत्पत्ति ३८:१५, १६ मा उल्लेख गरेअनुसार कस्तो परिस्थितिले गर्दा आफूले वेश्‍या ठानेकी स्त्रीसित यहूदाले यौन सम्पर्क राखे?

यहूदाले वेश्‍या ठानेकी स्त्रीसित यौन सम्पर्क राखे तापनि वास्तवमा उक्‍त स्त्री वेश्‍या थिइनन्‌। उत्पत्ति अध्याय ३८ मा बताएअनुसार यथार्थ घटना तल दिइएको छ।

यहूदाको जेठो छोराले आफ्नी पत्नी तामारबाट कुनै छोरा जन्माउन नपाउँदै उनको प्राण लिइयो किनकि उनी “परमप्रभुको दृष्टिमा दुष्ट” थिए। (उत्पत्ति ३८:७) त्यसबेला पतिको मृत्यु भएपछि विधवालाई तिनको देवर अथवा जेठाजुले विवाह गर्ने प्रचलन थियो। कुनै उत्तराधिकारी नजन्माईकन कुनै पुरुषको मृत्यु भएको खण्डमा उत्तराधिकारी जन्माउनको निम्ति मृत्यु हुने पुरुषको दाइ अथवा भाइले विधवालाई विवाह गर्नुपर्थ्यो। तर यहूदाको दोस्रो छोरा ओनानले आफ्नो दायित्व पूरा गर्न इन्कार गरे। तसर्थ, परमेश्‍वरको न्यायबमोजिम उनको मृत्यु भयो। त्यसपछि आफ्नो तेस्रो छोरा शेलाको विवाह गर्ने उमेर नपुगुन्जेल यहूदाले आफ्नी बुहारी तामारलाई माइत पठाइदिए। समय बित्दै गयो तर तामारसित शेलाको विवाह गराइदिन यहूदा असफल भए। त्यसैले जब यहूदाकी पत्नीको मृत्यु भयो, तामारले आफ्नो ससुरा यहूदाबाट उत्तराधिकारी जन्माउने योजना बनाउँछिन्‌। आफूलाई मन्दिरकी वेश्‍याको भेषमा प्रस्तुत गरेर अनि यहूदा हिंड्‌ने बाटो थाह भएकोले त्यही बाटोमा बसेर तिनले आफ्नो योजना पूरा गर्छिन्‌।

तामारलाई नचिनेकोले गर्दा यहूदाले तिनीसित यौन सम्पर्क राखे। आफूले यहूदालाई यौन सम्पर्क राख्न दिएबापत तिनले चलाखीपूर्वक बन्धकीको रूपमा उनका केही सामानहरू राखिन्‌ र यिनै सामानहरूद्वारा पछि तिनले आफू यहूदाबाट गर्भवती भएको कुरा प्रमाणित गरिन्‌। सत्य प्रकट हुँदा यहूदाले तिनलाई दोष लगाएनन्‌ बरु नम्रतापूर्वक यसो भने: “त्यो ता मभन्दा पनि बरू ठीक रहिछ, किनभने मैले मेरो छोरा शेला त्यससँग विवाह गर्न दिइनँ।” सकारात्मक पक्ष के थियो भने, “यसपछि उनले तिनीसँग फेरि सहवास गरेनन्‌।”—उत्पत्ति ३८:२६.

आफूले प्रतिज्ञा गरेअनुसार आफ्नो छोरा शेलालाई नदिएर यहूदाले गल्ती गरे। आफूले मन्दिरकी वेश्‍या ठानेकी स्त्रीसित पनि उनले यौन सम्पर्क राखे। यो परमेश्‍वरको उद्देश्‍य विपरीत थियो किनकि एक जना पुरुषले वैवाहिक प्रबन्धभित्र मात्र यौन सम्पर्क राख्नुपर्ने थियो। (उत्पत्ति २:२४) यद्यपि, वास्तवमा भन्‍नुपर्दा, यहूदाले वेश्‍यासित यौन सम्पर्क राखेका थिएनन्‌। बरु, उनले अन्जानमै आफ्नो छोरा शेलाले गर्नुपर्ने कामलाई पूरा गरिदिए जसले भाउजूसित विवाह गर्नुपर्ने थियो र यसरी यहूदा वैध सन्तानको पिता बने।

तामारको सन्दर्भमा भन्‍ने हो भने यहूदासितको तिनको सम्बन्ध अनैतिक थिएन। तिनले जन्माएका जुम्ल्याह छोराहरू व्यभिचारबाट जन्मेका छोराहरूका रूपमा गनिएनन्‌। विधवासित देवर अथवा जेठाजुले पूरा गर्नुपर्ने दायित्व निभाउने क्रममा जब बोअजले मोआबी रूथसित विवाह गरे, बेथेलहेमका बुढाप्रधानहरूले बोअजलाई यसो भन्दै तामारको छोरा पेरेसबारे राम्रो कुरा गरे: “परमप्रभुले तपाईंलाई यस युवतीबाट दिने सन्तानको घराना तामारले यहूदाबाट जन्माएका छोरा पेरेसको घरानाजस्तै होस्‌।” (रूथ ४:१२) येशू ख्रीष्टको पुर्खाहरूको सूचिमा पेरेसलाई पनि राखिएको छ।—मत्ती १:१-३; लूका ३:२३-३३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने