“‘गरिदियौं!’ भनेर हामी भन्न चाहन्छौं”
हालै नाइजेरियास्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयले एउटा पत्र प्राप्त गऱ्यो र त्यस पत्रको केही अंश यस्तो छ:
“चौध वर्षको उमेरमा हाम्रो छोरा, एन्डरसनको मृत्यु भयो। आफ्नो मृत्यु हुनुभन्दा अघि उसले दुईवटा कुखुरा पालिरहेको थियो। ऊ ती भालेहरू बेचेर त्यसबाट आएको पैसा विश्वव्यापी प्रचारकार्यको लागि अनुदान स्वरूप शाखा कार्यालयलाई पठाउन चाहन्थ्यो। तर ती बेच्न नपाउँदै उसको मृत्यु भयो।
“उसको इच्छालाई ध्यानमा राख्दै, हामी उसका आमाबाबुले कुखुराहरूलाई ठूलो बनाएर बेच्यौं। हामी यो पैसा एन्डरसनको तर्फबाट अनुदान स्वरूप तपाईंहरूलाई पठाउँदैछौं। यहोवाको प्रतिज्ञाको कारण चाँडै—एकदम चाँडै एन्डरसनलाई फेरि भेट्न पाउनेछौं भन्ने कुरामा हामी विश्वस्त छौं। हामीले उसको मनोकामना पूरा गरिदियौं कि दिएनौं भनेर उसले सोद्धा ‘गरिदियौं!’ भनेर हामी भन्न चाहन्छौं। साँच्चै, एन्डरसनलाई मात्र नभई पुनरुत्थान हुने ‘गवाहीको ठूलो मेघलाई’ भेट्न हामी बडो उत्सुक छौं।”—हिब्रू १२:१; यूहन्ना ५:२८, २९.
उपरोक्त पत्रमा स्पष्टसित प्रतिबिम्बित भएझैं, पुनरुत्थानमाथिको विश्वास एउटा यस्तो आशा हो जसले साँचो मसीहीहरूलाई सँभाल्छ। मानिसजातिको शत्रु मृत्युको कारण गुमाउनुपरेका आफ्ना प्रियजनहरूलाई पुनः स्वागत गर्न पाउँदा एन्डरसनको परिवारजस्ता लाखौं परिवारहरूले ठूलो आनन्द अनुभव गर्नेछन्!—१ कोरिन्थी १५:२४-२६.
परमेश्वरको राज्यअन्तर्गत धार्मिक नयाँ संसारमा पूरा हुने थुप्रै अद्भुत कुराहरूमध्ये परमेश्वरको वचनले पुनरुत्थानको यो सान्त्वनादायी आशा दिन्छ। (२ पत्रुस ३:१३) त्यतिखेर मानिसहरूका लागि परमेश्वरले गर्नुहुने कुराहरूको सन्दर्भमा बाइबल यसो भन्छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:४.