खाना खाने समय पेट भर्ने समय मात्र होइन!
सबैले नै स्वादिष्ट खानाको आनन्द उठाउँछन्। तपाईंले माया गर्ने व्यक्तिहरूसित खाना खाने समयमा राम्रो कुराकानी र न्यानो संगति गर्ने हो भने यो समय हाम्रो भोक मेटाउने अवसर मात्र नभई अझ रमाइलो अवसर बन्छ। थुप्रै परिवारहरूले दिनमा कम्तीमा एक पटक भने पनि सँगै बसेर खाना खाने बानी बसाल्छन्। खाना खाने समयमा परिवारले दिनभरिका घटना वा योजनाहरूबारे छलफल गर्ने मौका पाउँछन्। आफ्ना छोराछोरीहरूको भनाइ र उनीहरूको मनको कुरा सुन्ने आमाबाबुहरूले आफ्ना बच्चाहरूको सोचाइ र भावना कस्तो छ भन्ने कुराको छनक पाउँछन्। खाना खाने समयमा गरिएको रमाइलो संगतिले समय बित्दै जाँदा परिवारमा सुरक्षा, भरोसा र प्रेमको भाव विकास गर्छ र यसले परिवारलाई अझ स्थायी बनाउँछ।
आज थुप्रै परिवारका सदस्यहरू व्यस्त भएकोले र जतिखेर पनि दौडधूप गरिरहनुपर्ने भएकोले खाना खाने समयमा एकै ठाउँमा जम्मा हुन तिनीहरूलाई गाह्रो हुन्छ। संसारको कुनै-कुनै भागको स्थानीय संस्कृतिमा परिवारका सबै जना सँगै बसेर खानु वा खाने बेलामा कुराकानी गर्नुलाई नराम्रो मानिन्छ। अरू परिवारमा भने खाना खाने बेला टिभी खोल्ने बानी हुन्छ, जसले गर्दा तिनीहरूले अर्थपूर्ण कुराकानी गर्ने मौका पाउँदैनन्।
तथापि, मसीही आमाबाबुहरू भने आफ्नो घरपरिवारको उन्नति गराउने मौकाप्रति सधैं सजग छन्। (हितोपदेश २४:२७) आफ्ना छोराछोरीहरूलाई परमेश्वरको वचनबारे बताउने सर्वोत्तम मौकाहरूमध्ये एउटा “घरमा बस्ता” हो भनी आमाबाबुहरूलाई धेरै अघि बताइएको थियो। (व्यवस्था ६:७) नियमित तवरमा सँगै बसेर खाना खाँदा आमाबाबुले आफ्ना छोराछोरीहरूको मनमा यहोवा र उहाँका धार्मिक सिद्धान्तहरूप्रति गहिरो प्रेम बसाल्ने अत्युत्तम मौका पाउँछन्। रमाइलो र तनावमुक्त वातावरण विकास गरेर खाने समयलाई तपाईं पनि आफ्नो परिवारको लागि आनन्ददायी र उत्थानदायी अवसर बनाउन सक्नुहुन्छ। हो, खाना खाने समयलाई पेट भर्ने समय मात्र नबनाउनुहोस्!