सोचाइ नै परिवर्तन गराउने भेट
यहोवाका दुई जवान साक्षी बहिनीसित भेटेपछि एक जना मानिसले यस्तो लेखे: “मैले भेटेका ती दुई जना ‘स्वर्गदूतबारे’ मेरा छोराछोरीलाई कहिले पो भनूँ भनेर म छटपटाइरहेको थिएँ।” ती बहिनीहरूले त्यस मानिसलाई भेट्नुभन्दा केही हप्ता अघि मात्रै ४५ वर्षकी तिनकी श्रीमतीको मृत्यु भएको थियो। तिनी एकदमै विचलित थिए। छोराछोरीले तिनलाई सान्त्वना दिए तर उनीहरू टाढा बस्थे। छिमेकी, साथीहरू कसैले पनि तिनलाई कस्तो छ भनेर एक शब्द पनि सोधेनन्।
ती बहिनीहरू भेट्न आउँदा त्यस मानिसले यसो भनेका थिए: “परमेश्वरसँग त मेरो बोलचालै छैन। प्रार्थना गर्ने बानी नभएकोले परमेश्वरसँग नजिक महसुस नै गर्न सकेको छैनँ।” तैपनि ती बहिनीहरूले त्यस मानिसलाई सहानुभूति देखाए अनि के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति? भन्ने बाइबलआधारित पर्चा दिए। त्यस मानिसले त्यही साँझ त्यो पर्चा पढिसिध्याए र निकै सान्त्वना पाएको महसुस गरे।
केही समयपछि ती दुई साक्षी त्यस मानिसलाई फेरि भेट्न गए। बहिनीहरूले भने, ‘अस्ती भेट्दा तपाईं निकै विचलित हुनुहुन्थ्यो। अहिले तपाईंको हालखबर कस्तो छ भनेर बुझ्न आएको नि!’ त्यस मानिसले चिठीमा यस्तो लेखे: “म त छक्कै परें! चिन्दै नचिनेका ती दुई बहिनी आएर मलाई सान्त्वना दिए, मेरो सन्चो-बिसन्चो सोधे।” साक्षी बहिनीहरूले बाइबलबाट बताएका कुराले त्यस मानिसलाई एकदमै प्रभाव परेछ। बहिनीहरूले हामी फेरि आउँछौं भनेका थिए। एकदमै खुसी हुँदै त्यस मानिसले माथिका कुरा चिठीमा लेखेर यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा पठाए।
ती मानिस त्यस ठाँउबाट बसाइँ सरेर छोरासँगै बस्न जान लागेका थिए। जानुभन्दा अघि तिनी यहोवाका साक्षीहरूको सभामा गए। तिनलाई भेट्ने एउटी बहिनीले तिनलाई खाना खान घरमा बोलाइन्। तिनले चिठीमा लेखे: “म त यो ठाउँ छोडेर बसाइँ सर्दैछु। तर ती दुई बहिनी र तपाईंको मण्डलीलाई म कहिल्यै बिर्सन सक्दिनँ। सबैको लागि म प्रार्थना पनि गर्नेछु—हो, अब त म धेरै प्रार्थना गर्छु। मेरो सोचाइ नै परिवर्तन भएको छ। ती जवान बहिनीहरूले मलाई धेरै मदत गरेका छन्। उनीहरूको यो गुन म कहिल्यै बिर्सन्नँ!” (w 06 7/1)