एड्रीयानाको चाहना
अमेरिकाको ओक्लाहोमा राज्यको तुल्सा भन्ने ठाउँमा बस्ने छ वर्षीया बालिका एड्रीयानाको एउटा ठूलो चाहना थियो। उनको चाहनालाई भजनहार दाऊदको चाहनासँग दाँज्न सकिन्छ जसले यसप्रकार गाए: “एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु, कि परमप्रभुको शोभा हेर्न, र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहनपाऊँ।”—भजन २७:४.
एड्रीयाना छ महिनाको मात्र हुँदा उनलाई निउरोब्लास्टोमा भन्ने स्नायु प्रणालीमा हुने एक घातक प्रकारको ट्युमर भएको पत्ता लाग्यो। यो ज्यानमारा रोगले गर्दा उनको दुवै खुट्टा नचल्ने भयो। डाक्टरहरूले उनको अवस्था सुधार्न थुप्रै शल्यक्रियाका साथै एक वर्षसम्म केमोथेरापी गरे।
बेग्लै धर्म मान्ने एड्रीयानाको बुबाले चाहिं छोरीलाई संसारकै प्रसिद्ध रमाइलो मेलामा घुमाउन लान एउटा संस्थासँग सम्पर्क राखे। तर त्यसको लागि उक्त संस्थाले पहिला एड्रीयानाको अन्तरवार्ता लियो। आफूप्रति त्यस्तो गहिरो चासो देखाइएकोमा एड्रीयानाले आभार व्यक्त गरिन्। तर उनले आफूलाई यहोवाका साक्षीहरूको न्यु योर्कस्थित मुख्यालय हेर्न जाने चाहना भएको कुरा बताइन्। बुबाको आग्रहबारे थाह पाएपछि एड्रीयानाले बेथेल घुम्न जान पाऊँ भनी यहोवालाई प्रार्थना गरिन्। एड्रीयानालाई मेलामा लैजान प्रबन्ध मिलाइदिने संस्थालाई सुरुमा त बेथेल बच्चाहरूका लागि त्यति रमाइलो ठाउँ नहोला भन्ने लागेको थियो। तर एड्रीयानाको चाहनामा आफ्नो कुनै आपत्ति नभएको कुरा उनको बुबाले बताएपछि एड्रीयानाको चाहना त्यस संस्थाले पूरा गरिदियो।
आमा, दिदी र एउटी साथीसँगै न्यु योर्कस्थित बेथेल पहिलो पटक घुम्न एड्रीयाना निस्किन्। एड्रीयानाले यसो भनिन्: “यहोवाले मेरो पुकारा सुन्नुभयो। उहाँले हामीलाई बेथेलमा स्वागत गर्नुहुन्छ भनेर मलाई थाह थियो। किताब, पत्रिका र बाइबल कसरी बनाइँदो रहेछ भनेर मैले देखें। रमाइलो मेलाभन्दा बेथेल घुम्न गएको कता हो कता रमाइलो भयो।”
एड्रीयानाले ‘यहोवाको शोभा’ हेरिन् र उहाँका जनहरूको मुख्यालयमा हुने गतिविधि देखेर कृतज्ञताले ओतप्रोत भइन्। तपाईंको लागि पनि बेथेलको ढोका खुला छ। न्यु योर्कमा रहेको यहोवाका साक्षीहरूको मुख्यालय बाहेक संसारका विभिन्न ठाउँमा शाखा कार्यालयहरू पनि छन्। (w07 4/15)