प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १/१ pp. १०-११
  • “मैले बल्ल साँचो स्वतन्त्रता पाएँ!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मैले बल्ल साँचो स्वतन्त्रता पाएँ!”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • “म अहिले हिंसाको दास होइनँ”
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • “आफूले चाहेको सबै कुरा मसित छ जस्तो लाग्थ्यो”
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १/१ pp. १०-११

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“मैले बल्ल साँचो स्वतन्त्रता पाएँ!”

ब्रायन ह्‍युइटको वृत्तान्तमा आधारित

  • जन्म मिति: १९८१

  • जन्म स्थान: अमेरिका

  • विगतमा: उडन्ते छोरा

मेरो विगत:

मेरो जन्म अमेरिकाको पश्‍चिम भर्जिनियाको ओहायो नदीसँगैको शान्त सहर माउन्जभिलमा भयो। म माहिलो छोरा हुँ। चार-चार जना छोराछोरी भएकोले हल्लाखल्ला, रमाइलो नहुने त दिनै हुँदैनथ्यो। आमाबुबा एकदमै मेहनती अनि इमानदार हुनुहुन्थ्यो। सबैलाई माया गर्नुहुन्थ्यो। हामी धनी थिएनौं तर आवश्‍यक कुराको अभाव पनि कहिल्यै भएन। आमाबुबा यहोवाको साक्षी भएकोले उहाँहरूले हामीलाई सानैदेखि बाइबलका कुराहरू सिकाउन सक्दो गर्नुभयो।

किशोर अवस्थामा पुगुन्जेलसम्म मेरो मन अर्कै कुराहरूमा बरालिन थालिसकेको थियो। बाइबल सिद्धान्तअनुसार चल्दा सुख र सन्तुष्टि पाइँदैन जस्तो लाग्न थाल्यो। आफूलाई जे मन लाग्छ, त्यही गर्न पायो भने मात्र सुखी हुन सकिन्छ जस्तो लाग्यो। पछि ख्रीष्टियन सभाहरू पनि जान छोडें। मेरो दाइ अनि कान्छी बहिनी पनि मजस्तै बरालिए। आमाबुबाले हामीलाई सुधार्न धेरै कोसिस गर्नुभयो तर हामी अटेरी भयौं।

आफूले खोजेको स्वतन्त्रताले गर्दा दुर्व्यसनमा फस्छु भनेर मैले सोचेकै थिइनँ। एक दिनको कुरा हो, स्कूलबाट फर्कंदै गर्दा साथीले मलाई चुरोट दियो। मैले खाएँ। त्यस दिनदेखि साथीहरूको लहलहैमा लागेर थुप्रै नराम्रो कुरा गर्न थालें। पछि रक्सी अनि लागूपदार्थको दुर्व्यसनी भएँ, छाडा जीवन बिताउन थालें। वर्षहरू बित्दै जाँदा झन्‌-झन्‌ कडा लागूपदार्थ लिन थालें अनि तीविना बाँच्नै नसक्ने भएँ। पछि त लागूपदार्थ बेचबिखनसमेत गर्न थालें।

आफूलाई जत्ति नै झुक्याउन खोजे पनि गलत गर्दै छु भनेर मलाई थाह थियो। आफू खत्तमै भइसकेको हुँदा अब उँभो लाग्न सक्दिनँ जस्तो लाग्यो। पार्टी अनि कन्सर्टहरूमा मान्छेको हुलमुल भए तापनि अक्सर निराश अनि एक्लो महसुस गर्थें। आमाबुबा असल अनि शिष्ट हुनुहुन्छ तर मचाहिं किन यसरी बिग्रेको होला जस्तो लाग्थ्यो।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो:

मैले त हार खाइसकेको थिएँ तर अरूले भने आस मारेका रहेनछन्‌। सन्‌ २००० मा आमाबुबाले मलाई जिल्ला अधिवेशनमा आउन निम्तो दिनुभयो। मन नलागी-नलागी गएँ। अचम्मको कुरा, मजस्तै बरालिएका दाइ र बहिनी पनि आए।

लगभग एक वर्षअघि म त्यही ठाउँमा रक कन्सर्टको लागि गएको थिएँ। त्यो ठाउँ चुरोटको धुवैं-धुवाँले भरिएको थियो, जताततै फोहोरै-फोहोर, हुल्याहाहरू मात्र थिए। त्यसमाथि गीत पनि उराठलाग्दो। तर अधिवेशनमा आएका मानिसहरू भने हँसिला थिए। उनीहरूले मलाई वर्षौंपछि देखे तापनि न्यानो स्वागत गरे। अधिवेशन स्थल सफा थियो। सुन्दर भविष्यबारे मैले धेरै कुरा सुनें। कस्तो भिन्‍नता! मेरो मनमा अमेट छाप पऱ्‍यो। बाइबलमा पाइने यस्ता राम्रा कुराहरू बुझेपछि सच्चाइ छोडेकोमा पछुतो लाग्यो।—यशैया ४८:१७, १८.

“बाइबलको शिक्षाले मलाई लागूपदार्थको प्रयोग र बेचबिखन गर्न छोडेर असल नागरिक बन्‍ने हौसला दियो”

अधिवेशन सकेलगत्तै मैले सभाहरू जाने निर्णय गरें। दाइ अनि बहिनीको पनि मन बदलियो। हामी तीनै जनाले बाइबल अध्ययनको प्रस्ताव स्वीकाऱ्‍यौं।

विशेषगरि मेरो मन छोएको बाइबल पद याकूब ४:८ हो, जहाँ यसो भनिएको छ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” परमेश्‍वरसित नजिक हुन नराम्रो बानी त्याग्नुपर्छ भनेर मैले बुझें। मैले चुरोट, लागूपदार्थ अनि रक्सी खान छोडें।—२ कोरिन्थी ७:१.

मैले पुराना साथीहरूसित सङ्‌गत गर्न छोडें र यहोवाको उपासना गर्नेहरूलाई साथी बनाएँ। मलाई बाइबल अध्ययन गराउने एल्डरले धेरै मदत गर्नुभयो। उहाँ मलाई फोन गरिराख्नुहुन्थ्यो। बेला-बेलामा एकछिन भए पनि के छ, कसो छ भनेर भेट्‌न आउनुहुन्थ्यो। आजसम्म पनि उहाँ मेरो सबैभन्दा मिल्ने साथी हुनुहुन्छ।

सन्‌ २००१ को सम्मेलनमा म, दाइ अनि बहिनी तीनै जनाले बप्तिस्मा गरेर आफ्नो जीवन यहोवालाई समर्पण गऱ्‍यौं। परिवारका सबै जना यहोवाको उपासनामा फेरि एकताबद्ध हुँदा आमाबुबा अनि कान्छो भाइ कति खुसी भए होलान्‌, तपाईं कल्पना गर्न सक्नुहुन्छ।

मैले कसरी लाभ उठाएको छु:

पहिला मलाई बाइबल सिद्धान्तहरू ज्यादै बन्देजपूर्ण लाग्थ्यो तर ती हाम्रै सुरक्षाका लागि हुन्‌ भनेर बुझें। बाइबलको शिक्षाले मलाई लागूपदार्थको प्रयोग र बेचबिखन गर्न छोडेर असल नागरिक बन्‍ने हौसला दियो।

अहिले यहोवाका उपासकहरूको विश्‍वव्यापी समाजको सदस्य हुने सम्मान पाएको छु। यसका सदस्यहरूबीच साँचो माया छ र सबै जना एकताबद्ध भएर परमेश्‍वरको सेवा गर्दै छन्‌। (यूहन्‍ना १३:३४, ३५) यही समाजबाट मैले ठूलो आशिष्‌ पाएको छु—मेरी श्रीमती एड्रिएन। म उनलाई धेरै माया र कदर गर्छु। हामी दुवै मिलेर सृष्टिकर्ता यहोवाको सेवा गर्न पाउँदा निकै खुसी छौं।

आफ्नो स्वार्थी इच्छाको पछि लाग्नुको साटो पूर्ण-समय सेवकको रूपमा अरूलाई परमेश्‍वरको वचनबाट पाइने लाभबारे सिकाउँदै छु। यस कामले जति आनन्द अरू कुनै कामले दिन सक्दैन। म पूर्ण विश्‍वस्तताका साथ भन्‍न सक्छु, बाइबलले मेरो जीवनमा नयाँ मोड ल्यायो। मैले बल्ल साँचो स्वतन्त्रता पाएँ! (w13-E 01/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने